• २६ वैशाख २०८१, बुधबार

कर्णाली कोरिडोरको हुम्ला सडकखण्ड विस्तार सुरु

blog

रोकिएको सडक विस्तारको थालनी हुँदै। तस्बिर : राजन रावत, हुम्ला

राजन रावत

हुम्ला वैशाख ९ गते। कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रमा रोकिएको सात वर्षपछि सडक विस्तारको काम सुरु भएको छ। गाउँपालिका, हिल्सा सिमकोट सडक आयोजना र निर्माण कम्पनीको समन्वयमा सडक मिचेर निर्माण गरिएका घर तथा टहरा धनीबिच समझदारी भएपछि सडक विस्तारको काम सुरु भएको हो। 

सर्केगार्ड गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शान्ति लामाले विगत सात वर्षदेखि रोकिएको सडक विस्तारको कार्य सहमति भएपछि सुरु भएको बताउनुभयो। 

यसअघि सडकको चारदेखि पाँच मिटर चौडा सडकको ट्रयाक खोल्ने कार्य भएर हाल यातायातका साधन सञ्चालन हुँदै आएका छन्। अहिले घर तथा टहरा धनीबिच बजार क्षेत्रमा आठ मिटर सडक चौडा बनाउने सहमति भएको पछि काम अगाडि बढेको उहाँले बताउनुभयो। 

निर्माण कम्पनी सपना धुलिखेल जेभीका प्रतिनिधि लंकबहादुर शाहीले आफ्नो निर्माण कम्पनी सलीसल्लादेखि छारेसम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा परेकोमा अन्य क्षेत्रको सडक स्तरोन्नति गर्ने कार्य पुरा भएको र अब सर्केगार्ड बजार क्षेत्रको पाँच सय मिटर सडकको यसअघि सडक चौडा गर्ने कार्य रोकिएको अहिले स्थानीय बासिन्दालाई सहमतिमा ल्याउने कार्य भएपछि सो सडकको चौढा गर्ने कार्य सुरु भएको बताउनुभयो। 

आर्थिक वर्ष ०७३।०७४ मा सडकको विस्तार गर्ने कामको जिम्मा सो कम्पनीलाई परेको थियो। अहिले सडकमा घर तथा टहरा लगाएको धनीसँग सडक चौडा गर्ने सहमति भएपछि कामलाई तीव्रता दिइएकोले चाँडै सो कार्य सम्पन्न गर्ने उहाँले बताउनुभयो। 

आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सडक विस्तार गर्ने क्रममा पाँच वटा पक्की घर र ३५ वटा टहरा भत्किने बताउनुभयो। यसका लागि आयोजनाले भ्याटसहित २२ करोड ११ लाख ७७ हजार २० रुपियाँ लागत लाग्ने सम्झौता गरेको थियो।