• १९ वैशाख २०८१, बुधबार

प्रमुख प्रशासकबिनाका पाँच पालिका

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख ६ गते । जाजरकोटका पाँच वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । भेरी नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कुसे गाउँपालिका र जुनीचाँदे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।

स्थानीय तहले काम गर्न थालेको दुई कार्यकालमा एउटा पालिकाले १४ जना प्रमुख प्रशासकीय अधिकृत फेरेका छन् । गाउँ तथा नगरपालिकाका प्रमुखले नातागोता र आस्थाका आधारमा काम गर्दै आएपछि नेपाल सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतले आफू अनुकूल काम गर्न पाइँदैन भन्ने सोचले प्रमुख ल्याउन नमानेपछि निमित्तले काम चलाइरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाए पनि स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधिको मनोमानीका कारण समस्या भएको छ । जनप्रतिनिधि र निमित्त प्रमुख प्रशासकीय अधिकृत आफू अनुकूल भएका पालिकाले जनताको भावना अनुसार काम नगर्दा मर्कामा परेका छन् । 

गाउँबस्तीको सिंहदरबारले विकास, सुशासन कायम गर्न सरकारले प्रयास गरे पनि स्थानीय तहका जनप्रतिनिधिले मनोमानी गरेका कारण जनतालाई सेवा लिन असहज भएको छ । आस्थाका आधारमा विकास योजना र कार्यक्रम पाउने गरेपछि सर्वसाधारण निराश हुँदै गएका छन् । विकास निर्माण र सुशासन, शिक्षा, स्वास्थ्य, कृषि व्यवसायमा परिवर्तन ल्याउने नीति कार्यक्रम तयार गरे पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा सुधार हुन सकेको छैन । सात वटा पालिका रहेको जाजरकोटमा छेडागाड, भेरी नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, कुसे गाउँपालिकामा करिब १० देखि १४ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । आफू अनुकूल काम गर्न सकिँदैन भन्दै सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने भए पनि एक महिना नपुग्दै फिर्ता पठाउने गरेका छन् । नेपाल सरकारका कर्मचारी पर्याप्त भए पनि नातागोता र आस्थाका आधारमा धमाधम कर्मचारी भर्ना, नियमविपरीत बजेट खर्च गरेको बताइन्छ । विभिन्न बहानामा खर्च असुल्दै आएका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत आएपछि आफू अनुकूल काम गर्न पाइँदैन भन्दै सहज रूपमा कामकाज गर्न नदिई बहानाबाजी गरी फिर्ता पठाउने गरेको पाइएको छ ।