• २० वैशाख २०८१, बिहिबार

सार्वजनिक बिदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह

blog

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, वैशाख ५ गते । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सार्वजनिक बिदाका दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले आज परेको रामनवमीसहित सरकारले सार्वजनिक बिदा दिएका १८ दिनमा पनि कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ । 

२०८१ सालमा पर्ने सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह हुने कार्यालयले सूचना प्रकाशन गरेर जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह हुनेछ । 

२०८० माघ २९ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम सार्वजनिक सेवा प्रवाहमा विशेष व्यवस्था भए अनुसार नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानीका सेवाहरू सार्वजनिक बिदाका दिनमा समेत प्रवाह गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जनाउनुभयो ।  

प्रशासन कार्यालयका अनुसार सार्वजनिक बिदा रहेका १८ दिनमा कार्यालयले सेवा दिनेछ छ । वैशाख ५ गतेको राम नवमी, जेठ १० गतेको उभौली पर्व, जेठ १५ गतेको गणतन्त्र दिवस, भदौ ३ गते पर्ने रक्षा बन्धन, भदौ १० गतेको श्रीकृष्ण जन्माष्टमी, असोज १७ गतेको घटस्थापना, मङ्सिर ३० गते पर्ने उँधौली पर्व तथा योमरी पुन्हि, पुस १० गतेको क्रिसमस डे र पुस १५ गतेको तमु ल्होसार पर्वका दिन कार्यालयबाट सेवा प्रवाह हुने छ । 

त्यसै गरी पुस २७ गतेको पृथ्वी जयन्ती, माघ १ गतेको माघी पर्व, माघ १८ गतेको सहिद दिवस, माघ १७ गतेको सोनाम ल्होसार, फागुन १७ गतेको प्रजातन्त्र दिवस, फागुन १४ गतेको महाशिवरात्रि, फागुन १६ गते पर्ने ग्याल्पो ल्होसार, फागुन २४ गते पर्ने अन्तर्राष्ट्रिय महिला दिवस र नेपाल सरकारले निर्णय गरी सार्वजनिक बिदा दिइएको ईद पर्व (इद उल फित्र) को दिनमा पनि जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने भएको छ । 

दसैँ, तिहारको बिदामा भने सबै सेवा बन्द रहने छन् । सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह हुने भएपछि सेवाग्राहीलाई सहज हुने भएको छ ।