• १३ असोज २०८१, आइतबार

अन्वेषण उपकरण दैलेख पुर्‍याउनै सकस

blog

पेट्रोलियम पदार्थ उत्खनन् स्थल दैलेखको भैरवी गाउँपालिका-१ जलजले । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, चैत २९ गते । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ’ मेसिन बोकेको ८४ वटा ट्रक दैलेख पुगेको छ । चीनबाट ल्याइएका उपकरण रूपैडिया नाका हुँदै ७४ वटा साना ट्रक र दश वटा ठुला ट्रक दैलेख पुगेका हुन् ।

दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेका लागि धमाधम मेसिन ल्याउने काम भइरहेको छ । अहिलेसम्म सानाठूला गरी ८४ वटा ट्रक मेसिन दैलेखमा पुगेको आयोजना प्रमुख दिनेश नापितले जानकारी दिनुभयो । साना ट्रक सुर्खेत हुँदै र ठुला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा ल्याएको उहाँले बताउनुभयो । ‘१२ चक्के ठुला ट्रक कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्ग हुँदै ल्याइएको छ भने साना ट्रक सुर्खेत–दैलेख सडक खण्ड हुँदै आइरहेका छन्,’ नापितले भन्नुभयो ।

पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणका लागि १५० वटा ट्रक जलजलेमा पुग्नेछन् । हालसम्म सानाठूला गरी ८४ वटा ट्रक जलजलेमा पुगेको र ६६ ट्रक अबको एक÷दुई हप्तामा आइपुग्ने जनाइएको छ । अन्वेषणका लागि उपकरण ल्याउन कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेखको साँगेतडासम्म र चामुण्डाविन्दासैनी नगरपालिकादेखि मध्यपहाडी राजमार्गको जलजलेसम्मको रुट प्रयोग गरिएको छ । अहिले अघिअघि मेसिन र पछिपछि ठुला ट्रक गरेर सामान ल्याउने गरिएको छ । थप सात वटा १२ चक्के ठुला ट्रक मंगलबार नेपालगन्जबाट हिँडिसकेका छन् ।

पूर्वाधार निर्माणको काम सकियो

मेसिन राख्नका लागि पूर्वाधार निर्माणको काम सकिएको छ । क्याम्प निर्माण, कार्यालय भवन निर्माण, घेरवार, सुरक्षा निकायका लागि बस्ने भवन निर्माण लगायतका काम सकिएको छ । सबै मेसिनको सामान दैलेख पुगे मात्र ‘ड्रिलिङ’ को काम सुरु हुने आयोजना प्रमुख नापितले जानकारी दिनुभयो । अहिले आयोजना स्थलसम्म पुग्नेगरी विद्युत विस्तारको काम भइरहेको छ । अबको एक-दुई दिनमा विद्युत विस्तार गरेर कामदारलाई क्याम्पमै बस्नेगरी व्यवस्थापन भइरहेको जनाइएको छ । वैशाखको दोस्रो हप्ताबाट अन्वेषणको काम सुरु गरिने आयोजनाले जनाएको छ ।

‘साँघुरा सडक’ बाधक

सडक साँघुरो हुँदा ठुला ट्रकहरू अन्वेषणस्थल जलजले पुग्न समस्या हुने गरेको छ । अहिलेसम्म दश वटा ठुला ट्रक जलजलेमा पुगेका छन् । ठुला ३० वटा ट्रक जलजले पुग्नेछन् । तीमध्ये सातवटा ट्रक बाटोमा छन् । अन्वेषण आयोजनाका प्रमुख नापितले सडक साँघुरा हुँदा उपकरण ढुवानीमा समस्या भइरहेको बताउनुभयो । उहाँले रत्न राजमार्ग हुँदै भित्रिएका ट्रक कर्णाली र मध्यपहाडी राजमार्गको रुट प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । जबकि यो सुर्खेत–दैलेख सडक खण्डभन्दा दोब्बर बढी लामो दुरी हो । 

"दैलेख–सुर्खेत (६७ किमी) सडक अति साँघुरो हुँदा आयोजनाले सुर्खेतबाट कर्णाली राजमार्गको सांगेतडासम्म र त्यहाँबाट मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

सुर्खेतबाट आयोजनास्थल जलजले करिब ७५ किमी छ । तर कर्णाली राजमार्ग र मध्यपहाडीको बाटो प्रयोग गर्दा ट्रकलाई ९० किमी पार गर्नुपर्छ । यसले गर्दा समय बढी लाग्नुका साथै सडक सुरक्षाको जोखिम देखिएको छ । नेपालगन्जबाट हिडेको चार-पाँच दिनमा मात्र ठुला ट्रक निर्माणस्थलमा पुग्ने गरेका छन्," आयोजना प्रमुख नापितले भन्नुभयो, "अघि–अघि सडक फराकिलो बनाउने मेसिन, पछिपछि ट्रक गरेर सामान ल्याउने गरिएको छ ।"

अन्तिम चरणको अन्वेषण

यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि गरिएको थियो । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइनेछ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाइ गरिने अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निर्क्योल गरी ड्रिलिङका लागि स्थान तय गरिएको हो । सोहीबमोजिम जलजलेमा काम भइरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन् सम्भावनाको टुङ्गो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन् योजना अघि बढ्ने जनाइएको छ ।