• १३ असोज २०८१, आइतबार

बन्नेभयो काँक्रेविहार पर्खाल

blog

लामो समयसम्म निर्माण कार्य रोकिएको काँक्रेविहार पर्खाल । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, चैत २७ गते । लामो समयसम्म रोकिएको काँक्रेविहार पर्खाल निर्माण कार्य अघि बढ्ने भएको छ । प्रदेश सरकारले काँक्रेविहार संरक्षणका लागि पर्खाल लगाउने कार्यलाई निरन्तरता दिन लागेको हो । २०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माणको काम अघि नबढाउन भनेको थियो ।

डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई पाँच/सात मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गर्नुभएको थियो । त्यसयता पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन । अहिले वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेशसमेत दिइसकेको छ । २०७९ मङ्सिर २८ गते संरक्षित क्षेत्रको सबै वन क्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेको थियो । अदालतले गरेको फैसला अनुरूप काम अघि बढाउन लागिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । काम अघि बढाउन चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको छ ।

२०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ ‘कम्पाउन्ड वाल’ निर्माण कार्य अघि बढाइएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले महावीर, खिन्ती, हिराचन्द केएसके जोइन एड्भेन्जर सुर्खेतसँग कामको ठेक्का सम्झौता गरेको थियो । ११ करोड ८५ लाख ४२ हजारमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो । काँक्रेविहार संरक्षित वन क्षेत्रको सात किलोमिटर क्षेत्रमा ‘कम्पाउन्ड वाल’ निर्माण गरिने छ । २०७९ कात्तिक १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ तर बिचमै अदालतले काम रोकेपछि निर्माणको काम अघि बढेको थिएन । अहिलेसम्म निर्माण कम्पनीले एक करोड ३३ लाख मात्र भुक्तानी लिएको छ । डिपिआर अनुसार पर्खाल निर्माणका लागि २१ करोड लागत अनुमान छ । चालु आवमा प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । अदालतको आदेश आए पनि निर्माण कम्पनीको म्याद सकिएकाले काम हुन नसकेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले म्याद थपका लागि निर्माण कम्पनीले निवेदन पेस गरेको बताउनुभयो । उहाँका अनुसार म्याद थपका लागि निर्माण कम्पनीले पटक पटक निवेदन पेस गरिरहेको छ । पछिल्लो पटक २०८० चैत ९ गते निवेदन पेस गरेको हो । कार्यालय प्रमुख श्रेष्ठले सार्वजनिक खरिद ऐन २०६३ को १३ औँ संशोधनको प्रावधान अनुसार म्याद थप गरिने जानकारी दिनुभयो । 

काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ । कार्यालय प्रमुख श्रेष्ठले २१ करोड लागत अनुमानमा डिपिआर निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्ने छ । पूर्वमा आपत्कालीन द्वार बन्ने भएको छ । अबको केही दिनमा काम अघि बढाइने कार्यालयले जनाएको छ । चालु आवमा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चासोका रूपमा पर्खाल निर्माण कार्यलाई लिइएको छ तर अहिलेसम्म पनि काम सुरु गरिएको छैन । मन्त्रालयका निमित्त सचिव राजेन्द्रकुमार बासुकलाले पर्खाल निर्माणका लागि बाटो खुला भएको बताउनुभयो । सार्वजनिक खरिद ऐनको नयाँ प्रावधान अनुसार पुरानै ठेक्काको म्याद थप गरेर काम अघि बढाउन सकिन्छ । सरकारले बजेट पनि विनियोजन गरिसकेको छ । काम अघि बढाउन डिभिजन वन कार्यालय सुर्खेतलाई भनिरहेको भन्दै उहाँले सबै प्रक्रिया पूरा भएकाले केही समयमा नै काम अघि बढ्ने जानकारी दिनुभयो ।