• २ असार २०८१, आइतबार

बिमाको पहुँचमा नब्बे हजार

blog

जुम्लामा स्वास्थ्य बिमाको वार्षिकोत्सव । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, चैत २७ गते । जुम्ला जिल्लाका ९० हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । जनगणना २०७८ मा जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ मध्ये ९० हजार नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका हुन् । 

स्वास्थ्य बिमा सम्पर्क कार्यालय प्रमुख प्रेमबहादुर भण्डारीका अनुसार करिब जनसङ्ख्याको ८० प्रतिशत अर्थात् ११ हजार ४८ घरधुरी स्वास्थ्य बिमाको पहुँचमा भई सेवा पाइरहेका छन् । आइतबार स्वास्थ्य बिमा बोर्डको वार्षिकोत्सवको क्रममा जिल्लामा गरिएको अन्तर्क्रियामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या बढ्दै गएको जनाइएको छ । 

कार्यालयका अनुसार जुम्ला जिल्लामा ६० वटा वडामा दर्ता सहयोगी छन् । सहयोगीबाट बिमा दर्ता तथा नवीकरण गर्ने काम भइरहेको छ । कार्यालय प्रमुख भण्डारीले स्थानीय सरकारले समेत आफ्ना नागरिकको स्वास्थ्य बिमा गराउने उद्देश्यले बिमा कार्यालयसँग सहकार्य गरेर अघि बढाउँदै आएको बताउनुभयो । 

कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा तीन हजार २७० घरपरिवारका २० हजार ९४१ जना, पातारासी गाउँपालिकामा दुई हजार ४६६ घरपरिवारका १६ हजार ३५० जना, तातोपानी गाउँपालिकामा ११ हजार ९५९, हिमा गाउँपालिकाको एक हजार ५२६ घरधुरीको ११ हजार ८५० नागरिकको स्वास्थ्य बिमा गरिएको छ । तिला गाउँपालिकाको ८२८ घरधुरीको नौ हजार ३०२ जना, गुठीचौर गाउँपालिकाको ९१० घरधुरीको सात हजार ४१० जना, कनकासुन्दरी गाउँपालिकाको ६२७ घरधुरीको छ हजार ७६३ जना र सिँजा गाउँपालिकाको ४१६ घरधुरीको पाँच हजार ८३६ जना नागरिक स्वास्थ्य बिमामा बिमित भएका छन् । 

कार्यालय संयोजक प्रेमबहादुर भण्डारीका अनुसार जिल्लाको हिमा गाउँपालिकाको सबै नागरिकको गाउँपालिकाले स्वास्थ्य बिमा गरिदिएको छ । पातारासी गाउँपालिकाको २०८० का आफैले बिमा नवीकरण गर्नुपर्ने र त्यसपछिका सबै नागरिकको स्वास्थ्य बिमा गाउँपालिकाबाट गरिएको छ । चन्दननाथ नगरपालिका–५ ले सबै नागरिकको स्वास्थ्य बिमा गरेको छ । वडाध्यक्ष बिर्खबहादुर कार्कीले कोही पनि नागरिक स्वास्थ्यको पहुँच बाहिर नहोस् भन्ने उद्देश्यले चन्दननाथ–५ का सबै नागरिकको स्वास्थ्य बिमा गरिएको जानकारी दिनुभयो । स्वास्थ्य बिमाबाट बिरामीलाई राहत भएको पाइन्छ । चन्दननाथ नगरपालिका–२ निवासी नन्दबहादुर भण्डारीको हात भाच्चिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया भएको छ । जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले स्वास्थ्य बिमाले बिरामीलाई सहज बनाएको बताउँदै छिटो दर्ता र सेवा प्रवाह सजिलो हुनुपर्ने सुझाव दिनुभयो । जुम्लामा २०७४ असार १ गते दर्ता प्रक्रिया सुरु भई २०७४ भदौबाट बिमा लागु भएको थियो ।