• १३ असोज २०८१, आइतबार

पञ्चवर्षीय योजनामा मागको चाङ

blog

दोस्रो पञ्चवर्षीय योजनाको तर्जुमाका लागि आयोजना गरिएको परामर्श गोष्ठी । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, चैत २५ गते । कर्णाली प्रदेश योजना आयोगले निर्माण गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाका लागि हुम्लावासीले मागको चाङ राखेका छन् । सो आयोगले कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माण गरिरहेको सन्दर्भमा आयोजना गरेको परामर्श गोष्ठीमा माग बढी आएको हो । 

योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले कर्णालीका १० जिल्लामा दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि परामर्श गोष्ठी सम्पन्न भएको बताउनुभयो । उहाँको नेतृत्वमा चार सदस्यीय टोली जिल्लामा पुगेर परामर्श गोष्ठी सञ्चालन गरेको छ । उहाँले जिल्लागत रूपमा माग आउनु राम्रो भएको बताउँदै अधिकांश मागलाई पञ्चवर्षीय योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जिल्लामा क्षेत्रगत रूपमा परामर्श गोष्ठीमा उपस्थित सहभागीलाई सात वटा उपक्षेत्रमा विभाजन गरी माग सङ्कलन गर्ने कार्य गरिएको छ । जसमा आर्थिक क्षेत्र, वित्तीय तथा लगानी क्षेत्र, भौतिक पूर्वाधार क्षेत्र, सामाजिक विकास क्षेत्र, शासकीय सुधार तथा सुशासन क्षेत्र, अन्तरसम्बन्धित क्षेत्र र अनुगमन तथा समन्वय क्षेत्रमा विभाजन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले एउटा उपक्षेत्रबाट २५ देखि ३० वटा जिल्लाका मागलाई समेटिएको बताउनुभयो । उक्त मागहरू नीतिगतदेखि भौतिक पूर्वाधार निर्माणसम्मका रहेका छन् । सबै उपक्षेत्र गरी डेढ सयभन्दा बढी माग हुम्लावासीका तर्फबाट आयोगको टिमलाई राखिएको र आयोगले पनि मागहरू जस्ताको तस्तै लिएको जनाएको छ ।