• १३ असोज २०८१, आइतबार

विकट गाउँमा बिजुली

blog

मुगु समाचारदाता

मुगु, चैत २५ गते । छायानाथ रारा नगरपालिका–१४ स्थित विकट मानिएको बाम, फैपाटा र दर्खेलवाडा गाउँमा विद्युत् सेवा नियमित भएको छ । स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र मुगुले विद्युतीकरणमार्फत उक्त बस्तीमा बिजुली पु¥याएको हो ।

बस्ती बसेदेखि दियालो र टुकीका भरमा रात काट्दै आएका स्थानीयवासी बिजुली बल्न थालेदेखि खुसी मनाइरहेको छायानाथ रारा नगरपालिका–१४ का वडाध्यक्ष जुनबहादुर खड्काले बताउनुभयो । 

“बिजुलीका लागि विगतका वर्षदेखि विद्युत् प्राधिकरणको कार्यालय मुगुमा गुहार्दै आएका थियौँ,” स्थानीयवासी रत्नबहादुर बडुवालले भन्नुभयो, “तर दुर्गममा बस्ती छ, त्यहाँ विद्युतीकरण गर्न समस्या छ भन्दै सम्बन्धित निकाय पन्छिँदै आएको थियो ।”

बामगाउँमा बिजुलीको सुविधा नहुँदा वर्षौंदेखि स्थानीयवासी दियालो र टुकी बालेर रात बिताउँदै आएको बामगाउँका स्थानीय ज्येष्ठ नागरिक रगसिल बुढाले बताउनुभयो । ढिलै भए पनि गाउँमा बिजुली पुगेको भन्दै उहाँले गाउँ झिलिमिली बलेपछि धेरै राहत मिलेको बताउनुभयो । 

गाउँमा विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न थालेका छन् । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुका साथै मोेबाइल चार्ज गर्न, रेडियो जस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा स्थानीयवासी दङ्ग भएको गमगाट वितरण केन्द्रका कार्यालय प्रमुख साजन ऐडीले बताउनुभयो ।

सदरमुकामबाट दुर्गमका उक्त बस्तीका तीन सय घरघुरीमा बिजुली पु¥याउन लामो प्रयासपछि सफल भएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयको लक्ष्य अनुसार यो आर्थिक वर्षभित्रमा जिल्लाको सोरु गाउँपालिकाको कच्चिया र छायानाथ रारा नगरपालिकाको लुम्स बस्तीसम्म विद्युत् विस्तार गर्ने योजना रहेको छ ।”