लक्ष्मण पौडेल
भैरहवा, चैत २४ गते । रुपन्देहीमा पुलको किनारामा ठड्याइएको बाँसको सिँढी भाँचिएको छ । उक्त सिँढीबाट उक्लिन र ओर्लिन कठिनाइ हुने गरेको छ । रुपन्देहीको कोटहीमाई–२, स्थित तिनाउ खोलामा निर्माण गरिएको झोलुङ्गे पुलबाट ओहोरदोहोर गर्न बाँसको सिँढीबाट उक्लिन–ओर्लिन पर्ने बाध्यता हटेको छैन ।
कोटहीमाई–२ र ५ नम्बर वडा जोड्ने पुल निर्माण थालिएको तीन वर्ष भए पनि पूरा भएको छैन । पुलको दुवै किनारामा ओहोरदोहोरका लागि पक्की र्याम्प (सिँढी) निर्माण गरिएको छैन । जसले गर्दा स्थानीयले बाँसको सिँढी राखेर पुलबाट यात्रा गर्दै आएका छन् ।
अहिले कोटहीमाई–५ तर्फ राखिएको बाँसको सिडी भाँचिएको छ । दुई नम्बर वडातर्फ राखिएको सिँढीको अवस्था उस्तै छ । अहिले पानी कम भएकाले सर्वसाधारणले खोलाबाटै यात्रा गर्छन् । पुलमा उक्लिँदा र ओर्लिँदा लड्ने भयले उनीहरू पानीमा हेलिने गरेको बत्ताउँछन् ।
कोटहीमाई–२, का रामजीत मौर्यले गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा भोट माग्ने बेला घरदैलोमा आएका दलका नेताले छिट्टै पुल निर्माण गर्ने आश्वासन दिएको बताउनुभयो । तर चुनाव जितिसकेपछि हालखबर सोध्न समेत नआएको उहाँको गुनासो छ । मौर्यले पुलसम्म पुग्ने सडक र सिँढी निर्माण नभएपछि जोखिम उठाएर यात्रा गर्नु परेको बताउनुभयो ।
गाउँपालिकास्थित प्राविधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले पुलको र्याम्प निर्माणका लागि चालु आर्थिक वर्षमा १० लाख रुपियाँ विनियोजन गरिएको बताउनुभयो । भण्डारीका अनुसार पहिलोपटक पुल निर्माणका लागि उपभोक्ता समिति गठन गरेर २०७७ माघ २७ गते तीन महिनामा काम पूरा गर्नेगरी कार्यादेश दिइएको थियो । उक्त अवधिमा काम पूरा नभएपछि २०७८ वैशाख २३ गते ६ महिनाका लागि म्याद थप गरिएको थियो । थप गरिएको समयमा पनि काम हुन सकेन । त्यसपछि २०७८ कात्तिक २६ गते पुनः ६ महिनाका लागि म्याद थप गरिएको थियो ।
त्यसपछि गाउँ सभाको निर्णयबाट २०७९ कात्तिक ३० गते अन्तिम पटक आठ महिनाका लागि म्याद थप गरिएको थियो । उक्त अवधिमा पुल निर्माण पूरा भए पनि आर्थिक अभाव र निर्माण सामग्री महँगो बताउँदै बेनिनगर झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले दुबैतर्फ र्याम्प तयार गरेन । जसले गर्दा पुल लामो समय अधुरै छ ।
गाउँपालिकाका अनुसार अहिलेसम्म पुल निर्माणका लागि ८० लाख ८१ हजार ६७८ रुपियाँ खर्च भइसकेको छ । गाउँपालिकाले लेवर र पाइलिङका लागि ४२ लाख १२ हजार ४६८ रुपियाँ छुट्याएको थियो । इन्जिनियर भण्डारीका अनुसार त्यसमध्ये ३६ लाख नौ हजार ५९७ रुपियाँ भुक्तानी भइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीयको गुनासोपछि तत्काल पुल निर्माणको बाँकी काम पूरा गर्न निर्देशन दिइसकेको बताउनुभयो । ‘समस्याबारे स्थलगत बुझ्छु,’ उहाँले भन्नुभयो, ‘वास्तविकता बुझेपछि निर्माणका लागि समन्वय गर्छु ।’