• १३ असोज २०८१, आइतबार

सडकखण्डमा डबल कटिङको काम सकिँदै

blog

निर्माण भइरहेको सुर्खेतको बड्डीचौर–खम्बगाडे सडकखण्ड । तस्बिर : नवीन सुवेदी

छिन्चु समाचारदाता

सुर्खेत, चैत २४ गते । सुर्खेतको बड्डीचौर–खम्बगाडे सडकखण्डमा ‘डबल कटिङ’ को काम अन्तिम चरणमा पुगेको छ । कुल १३ किलोमिटर सडकमध्य ब्युरेनी क्षेत्र छाडेर दुवैतर्फ करिब नौ किलोमिटर सडकको डबल कटिङको काम सकिएको हो ।  वर्षौंदेखि कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका पश्चिम सुर्खेतका नागरिकलाई सहज यात्राका लागि प्रदेशको पूर्वाधार विकास निर्देशनालयले यो सडक निर्माणको काम गरिरहेको छ तर रुख कटानको अनुमति नहुँदा हाल यो सडकको दुई हजार आठ सय मिटर सडकको कटिङ हुन बाँकी नै छ । 

रुख नभएको क्षेत्रमा लगभग कटिङको काम सकिएको छ । कटिङ सकिएको क्षेत्रमा अहिले नाला निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर हरिप्रसाद धितालले जानकारी दिनुभयो । अहिलेसम्म तीन हजार आठ सय मिटर नाला निर्माणको काम सकिएको छ । बाँकी खण्डको काम पनि भइरहेको र सात वटा कलभर्ट निर्माणको काम सकिएको उहाँले बताउनुभयो । 

ब्युरेनी क्षेत्रमा सडक किनारामै रुख धेरै रहेकाले सडक डबल कटिङको काम सक्न कठिनाइ भइरहेको छ । रुख कटानको अनुमतिका लागि निर्देशनालयले ताकिता गरिरहेको हुनाले केही दिनमा अनुमति आएमा सहज हुने र कामको गति बढ्ने निर्देशनालयले जनाएको छ । सडक ट्र्याक खोलिएको करिब ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनीघाट सडक कालोपत्रे गर्न तीन खण्डमा काम भइरहेको छ । मदन भण्डारी राजमार्ग नामकरण गरिएको यो सडकको पहिलो खण्ड अन्तर्गत बड्डीचौरदेखि कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ । 

यो सडक २०८१ साल असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नु पर्ने छ तर रुख कटानमा ढिलाइ हुँदा यो आर्थिक वर्षमा सडक कालोपत्रे हुने सम्भावना छैन तर असारसम्म कटिङ गरिएको क्षेत्रमा ग्राभेल गर्ने लक्ष्य लिएको निर्देशनालयले जनाएको छ ।