• १३ असोज २०८१, आइतबार

अख्तियार कार्यालयले प्रभावकारी काम गर्न नसकेको गुनासो

blog

हरिकृष्ण ऐडी
मुगु, चैत २१ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सदरमुकाममा  सार्वजनिक निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । आयोगले मङ्गलबार जिल्ला समन्वयको हलमा सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा जिल्लाको छायाँनाथ रारा नगरपालिका र जिल्लाका सार्वजनिक निकायहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।

आयोगको अन्तरक्रिया छलफलमा पत्रकार महासङ्घ मुगुका अध्यक्ष निपेन्द्रबहादुर मल्लले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘मलाई यो कार्यालय अधिवक्ताका लागि स्थापित भएको महसुस भयो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्दा दर्ता भएपछि उक्त मुद्दा पीडिततर्फको सहजीकरण गर्ने अधिवक्तालाई ठूलो धनराशी खर्चिनुपरेको बताइन्छ, यस्ता अख्तियारका मुद्दा सम्बन्धित निकायले नै कार्यान्वयन गर्नुपर्छ ।’’

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका कर्मचारी विष्णुप्रसाद न्यौपानेले कार्यक्रमको प्रस्तुति गर्नुभएको थियो । छायाँनाथ रारा नगरपालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी त्यसैगरी कार्यालय प्रमुख र सार्वजनिक संस्थानका प्रमुखहरूको कार्यक्रममा उपस्थिति थियो ।

आयोगले कार्यान्वयनबाट भएका उपलब्धिहरु र सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासहरूका बारेमा छलफल भएको थियो ।