• १३ असोज २०८१, आइतबार

निर्माण सामग्री किन्न एउटै पसल

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, चैत २१ गते । भेरी नगरपालिकाका १३ वटै वडामा रोजगारी सिर्जनाका लागि सञ्चालित योजनामा आवश्यक निर्माण सामग्री खरिद गर्न एउटै पसल तोकिएको छ । नेपाल सहरी शासकीयस्वरूप परियोजना अन्तर्गत भेरी नगरपालिकाबाट अहिले धमाधम योजना सम्झौता भई निर्माण कार्य भइरहेको छ । भेरी नगरपालिकालाई प्राप्त तीन करोड ८० लाख रुपियाँ बजेटबाट निर्माणका विभिन्न कार्य भइरहेको छ ।

निर्माण कार्यमा आवश्यक सामग्री खरिदका लागि तोकिएकै हार्डवेयर पसलमा कारोबार गर्न नगरपालिकाले योजना कार्यान्वयन उपभोक्ता समितिलाई निर्देशन दिइएको जनाइएको छ । योजनाको लागत स्टिमेटमा ६० प्रतिशत रकम निर्माण सामग्री खरिद गर्नुपर्ने कार्यविधिमा उल्लेख भएकाले नगरपालिकाले तोकेको हार्डवेयर पसलबाट मात्र खरिद गर्न निर्देशन दिइएको जनाइएको छ । बेरोजगारलाई रोजगारी दिन सञ्चालित कार्यक्रममा स्थानीय तहले तोकेको पसलबाट मात्रै लिने भनी सिन्डिकेट लगाएकोमा उपभोक्ता समितिका पदाधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् । 

भेरी नगरपालिकाले आयोजना सञ्चालनका लागि स्थानीय हार्डवेयर तथा सप्लायर्ससँग बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमार्फत सिद्धार्थ हार्डवेयर छनोट भएको बताइन्छ । सिद्धार्थ हार्डवेयरबाट सामग्री नलिई अन्य पसलबाट निर्माण सामग्री खरिद गरेमा भुक्तानी नगर्ने नगरपालिकाको उर्दीपछि उपभोक्ता समिति मर्कामा परेका छन् । भेरी नगरपालिकाले नेपाल सहरी शासकीय स्वरूप अन्तर्गत सञ्चालन भएका योजनामा चाहिने निर्माण सामग्री पालिकाले तोकेको पसलबाट खरिद गरी योजना निर्माण सम्पन्न भएपछि पुनः फिर्ता गर्नुपर्ने बताएको छ । बजारमा सात सय रुपियाँ मूल्य पर्ने सिमेन्टलाई ८५० रुपियाँ, दस हजार पाँच सय रुपियाँ पर्ने छडलाई ११ हजार मूल्यमा भेरी नगरपालिकाले तोकेको पसलबाट खरिद गर्न सिन्डिकेट लगाएपछि उपभोक्ता समितिले असन्तुष्टि व्यक्त गरेका छन् । 

भेरी नगरपालिका–४ का राजेन्द्र शर्माका अनुसार योजना निर्माणको जिम्मा लिएका समितिलाई सामग्री खरिदको जिम्मा नदिई स्वयं स्थानीय सरकारले तोकेको पसलबाट खरिद गर्ने प्रावधान गर्दा कमिसनको चक्कर रहेको आरोप स्थानीयको छ । उपभोक्ता समितिले आफू अनुकूल सामग्री खरिद गर्न पाउने छैनन् । भेरी नगरपालिका–१३ का यमप्रकाश बुढाथोकीले बजार मूल्यभन्दा बढी मूल्यमा नगरपालिकाले तोकेको पसलले असुलेको भन्दै नगरपालिका कमिसन खेलमा लागेको टिप्पणी गर्नुभयो । 

यता भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीका अनुसार योजना सम्पन्न गर्दा आवश्यक सामग्री नगरपालिकाले खरिद गर्ने कार्यविधिमा उल्लेख भएपछि स्थानीय व्यापारीबाट बोलपत्र माग गरेको थियो । भेरी नगरपालिकामा पेस गरिएका बोलपत्रका आधारमा नगरपालिकाले तोकेका पसलबाट लिने व्यवस्था गरिएको बताइन्छ ।  

कमिसन रोक्नुको सट्टा बजार मूल्यभन्दा बढीमा नगरपालिकाले तोकेको पसलबाट सामग्री खरिद गरेको निर्णयप्रति स्थानीय व्यापारीले आपत्ति जनाएका छन् ।