• १३ असोज २०८१, आइतबार

मदन भण्डारी राजमार्ग : ट्र्याक परिवर्तन नगर्न खबरदारी

blog

मदन भण्डारी राजमार्गको ट्र्याक परिवर्तन नगर्न स्थानीयद्वारा सरकारलाई ध्यानाकर्षण । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, चैत २१ गते । मदन भण्डारी राजमार्गको ट्र्याक परिवर्तन गर्न खोजिएको भन्दै पश्चिम सुर्खेतका नागरिकले विरोध जनाएका छन् । राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतमा नापजाँचसहित डिपिआरसमेत भइसकेको सडकको रुट परिवर्तन गर्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत सरकारलाई ध्यानाकर्षणपत्रसमेत बुझाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय, सुर्खेतलाई समेत लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराइएको छ ।

चौकुने गाउँपालिका–१ को लगामबाट धनरास–धामिसैन–बेनीघाट खण्डलाई नै सुनिश्चित गर्न माग गरिएको छ । कार्यान्वयनका लागि अघि बढिसकेको आयोजनाको रुट परिवर्तन गर्न खोज्नु अन्यायपूर्ण हुने उनीहरूको भनाइ छ । चौकुने गाउँपालिका–१ का कमल कठायतले राजमार्गको डिपिआरसहित नापजाँच भइसक्दा रुट परिवर्तन गर्न खोजिएको बताउनुभयो । उहाँका अनुसार पश्चिमका नागरिकको भविष्य र भाग्यरेखा कोरिएको राजमार्गको स्थान परिवर्तन गर्न खोजिएपछि सरकारको ध्यानाकर्षण गराएको हो ।

चौकुने गाउँपालिका–५ का हरिप्रसाद अधिकारीले यसअघि नै रुट सुनिश्चित गरिएको सडक अन्यत्र लैजाने कोसिस गरिएकाले सरकारको ध्यानाकर्षण गर्नुपरेको बताउनुभयो । उहाँले राजमार्गले बस्तीलाई छोएको तथा आन्तरिक सडक सञ्चालनमा आइसकेको अवस्थामा स्थान परिवर्तन गर्न खोजिएको आरोप लगाउनुभयो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पश्चिम सुर्खेतका बासिन्दाले राखेको मागको सम्बोधनका लागि पहल गर्ने बताउनुभयो । पहिले सर्वे भइसकेको ट्र्याक परिवर्तन गर्न नमिल्ने भएकाले पूर्ववत रूपमा काम हुने वातावरण मिलाउने आचार्यको भनाइ छ । प्रतिनिधि सभा सदस्य हृदयराम थानीलाई भेटेर सरोकारवालाले ध्यानाकर्षणपत्र बुझाएका छन् । सांसद थानीले कुनै पनि हालतमा राजमार्गको ट्र्याक परिवर्तन नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । केही दिनअघि मात्र आफूले स्थलगत अनुगमन गरेर यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । 

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले ट्र्याक परिवर्तन नगर्न मदन भण्डारी राजमार्ग आयोजनाको कार्यालयलाई समेत अवगत गराइएको जानकारी दिनुभयो । निर्देशनालयको कार्यालयमा पुगेर मौखिक ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ । मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले भने राजमार्गको ट्र्याक परिवर्तनबारे कुनै जानकारी नभएको जनाएको छ । 

कार्यालयका सूचना अधिकारी रामसागर हरिजनले छलफलका रूपमा ट्र्याक परिवर्तनको विषय चर्चामा आएको बताउनुभयो । राजमार्ग अन्तर्गत हाल पूर्वी सुर्खेतको बोटेचौरदेखि धुलियाबिट खण्डमा तीव्र रूपमा काम भइरहेको छ । उक्त खण्डमा ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । पश्चिम सुर्खेतको बड्डिचौर खम्बागाडे, विद्यापुर बल्दे खण्डमा पनि काम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले जनाएको छ ।