• १३ असोज २०८१, आइतबार

हेलेसे भिरमा 'आरसिसी'

blog

लालुको हेलेसे भिरमा सडक आरसिसी हुँदै । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत १९ गते । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ८ को हेलेसे भिर सडक खण्डमा 'आरसिसी' सुरु गरिएको छ । कर्णाली कोरिडोरको खुलालुदेखि लालु रानीखेत सम्मको सडक खण्डको सबैभन्दा जोखिम खण्डमा सडक आरसिसी गर्न सुरु गरिएको हो । 

प्रदेश सरकार पूर्वाधार विकास कार्यालयको २५ लाख लागतमा सबैभन्दा जोखिम खण्डको ८० मिटर सडक आरसिसी हुने बताइएको छ । नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदीप बाेहोराले जोखिम सडकमा दुर्घटनाको खतरा रहेकाले तत्काल आरसिसी गर्न थालिएको बताउनुभयो । प्रवक्ता बाेहोराले प्रदेश सरकारसँग समन्वयमा पूर्वाधार विकास कार्यालयले ठेक्का खोलेपछि जोखिम सडक बन्न सुरु भएको सुनाउनुभयो । 

सडकको आरसिसी रिजन निमार्ण सेवाले गरिरहेको छ । उकालो सडक त्यसैमा अति भिरालो भएका कारणले तत्काल आरसिसी गरेर वर्षातको समयमा पनि सडक सुचारु गराउन खोजेको बाेहोराको भनाइ छ । सडक आरसिसीपछि वर्षातको समयमा पनि साबिकको लालु गाउँ विकास समिति हालको वडा नं ८ र ९ मा नियमित सडक सुचारु गर्न सहज हुनेछ । सडक आरसिसी भइरहेकाले २१ दिन अर्थात् तीन हप्ता सम्म यातायात समेत बन्द गरिएको छ । 

दोहोरो सडक नभएकाले आरसिसी गर्दा यातायात सञ्चालनमा रोक लगाउनु परेको हो । करिडोरको खुलालुदेखि गाउँ सम्मकै सडक जोखिम भएपनि अहिले सबैभन्दा अति जोखिम सडक खण्डको स्तरवृद्धि गर्न थालिएको हो । क्रमशः बजेटको व्यवस्थापन गरेर यो सडक खण्डलाई सुरक्षित गराइने नरहरीनाथ गाउँपालिकाले जनाएको छ । 

नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले आगामी वर्षको वजेटले यो सडक खण्डलाई प्राथमिकता दिने बताउनुभयो ।