• १३ असोज २०८१, आइतबार

हिल्सा सिमकोट सडक निर्माण प्रभावित

blog

राजन रावत

हुम्ला, चैत १९ गते  । हिल्सा सिमकोट सडक आयोजनाको निर्माण कार्य प्रभावित हुने अवस्थामा पुगेको छ । आयोजनालाई कवाडीदेखि हिल्सासम्म काम गर्ने योजना बढी तर मन्त्रालयबाट आएको बजेट कम बिनियोजित भएपछि निर्माण कार्य प्रभावित भएका हुन । 

आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले चालु आर्थिक वर्षमा हालसम्म विनियोजित भएर आएको बजेट अधिकांश सकिएको र थप बजेट हालसम्म नआएको कारण निर्माण कार्य प्रभावित भएको बताउनुभयो । आयोजनाले हुम्ला जिल्ला भित्र पर्ने कर्णाली कोरिडोरको कवाडीदेखि चीनसँगको सिमाना हिल्सासम्म सडक निर्माणको काम गर्दै आएको छ । सो क्षेत्रमा एउटा नयाँ सडक निर्माण, छ वटा स्तरोन्नति गरी सात वटा सडकका योजना रहेका छन् । पाँच वटा पक्की पुल निर्माण कार्य भई रहेको छ । त्यसैगरि सलीसल्लादेखि हिल्साको १२५ दशमलव नौ किलो मिटर सडक खण्डमा पाँच वटा कल्भर्टहरू पनि निर्माणाधीन अवस्थामा रहेका छन् । एउटा योजनाको बजेट तीस करोडसम्म रहेको छ । अधिकांश योजनाहरूको निर्माण कार्य धमाधम भई रहेको अवस्थामा आयोजनामा बजेट अभावको जानकारी पाएपछि केही निर्माण कम्पनीले काम बन्द गरेका छन् भने केहीले सुस्त काम गर्न थालेका छन्  । काम सुचारु गर्नका लागि निर्माण कम्पनीलाई आग्रह गर्दा बजेट नभएपछि कसरी काम अगाडी बढाउने भन्ने जवाफ निर्माण कम्पनीबाट आउने गरेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा ती सडक, पुल र कल्भर्ट निर्माणका लागि तीस करोड पाँच हजार बजेट मात्र विनियोजित भएर  आयोजनामा आएको थियो । जब कि आयोजनालाई असी करोड बजेट बाषिक आवश्यक पर्छ । आयोजनाको लेखा प्रमुख विजय रोकायाले विनियोजित बजेट मध्य चौबीस करोड भुक्तानी दिई सकिएको छ भने अझै आठ करोडको बिल उठेको बताउनुभयो ।  काम गर्ने समय अझै बाँकी भएको कारण हालको बजेट अपुग हुने निश्चित देखिएको उहाँले बताउनुभयो । बिल उठे अनुसार अब तीन करोड तिर्नै बाँकी देखिन्छ । आयोजनाका निर्माणाधीन योजनाहरू बहु वर्षीय रहेका छन् । बजेट अपुग हुने देखिएपछि आयोजनाले २१ करोड बजेट थप माग गरेको तीन महिना भन्दा बढी समय भएको भए पनि हालसम्म बजेट आएको छैन ।  उहाँले पुन बजेट मागको पत्राचार गरिएको बताउनुभयो । 


हिल्सा सिमकोट सडक आयोजनाको याल्वाङमा सडक स्तरोन्नति कार्य गरिँदै । तस्बिर ः राजन रावत