• १५ वैशाख २०८१, शनिबार

भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता

blog

जाजरकोट समाचारदाता

जाजरकोट, चैत १६ गते । जाजरकोट भूकम्पको पाँच महिना बित्दासमेत भूकम्पपीडितले अस्थायी आवासको दोस्रो किस्ता पाउन सकेका छैनन् । जिल्लामा ४२ हजार ५२४ लाभग्राही कायम रहेकोमा हालसम्म नौ हजार १४९ जनाको मात्र दोस्रो किस्ताका लागि विपत् पोर्टलमा नाम प्रविष्ट भएको छ । 

जिल्ला प्रशासन कार्यालय जाजरकोटको तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा बढी भेरी नगरपालिकामा चार हजार ९४० जनाको नाम प्रविष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार हालसम्म नलगाड नगरपालिकामा १३३, छेडागाडमा एक हजार ८७८, बारेकोटमा ९६, कुशेमा ४५, जुनीचाँदेमा ३४५ र शिवालयमा हालसम्म एक हजार ७१२ जनाको नाम प्रविष्ट गरिएको छ । विपत् पोर्टलमा नाम समावेश गरेपछि मात्रै लाभग्राहीको खातामा दोस्रो किस्ता प्राप्त हुने छ । स्थानीय तहको ढिलासुस्तीका कारण लाभग्राहीले कहिले दोस्रो किस्ता पाउने भन्ने विषयमा अन्योल छाएको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी आवास निर्माण कार्यविधि २०८० मा दोस्रो किस्ता निकासा दिनुभन्दा पहिले स्थानीय तहलाई विपत् पोर्टलमा लाभग्राहीको भत्काएको घर र अस्थायी आवासको फोटोसहितको विवरण अपलोड गरी ‘सबमिट’ गर्नुपर्ने प्रावधान राखेको छ ।