जाजरकोट समाचारदाता
जाजरकोट, चैत १६ गते । बारेकोट गाउँपालिकाका सामुदायिक जङ्गलका लोपोन्मुख वन्यजन्तुको अवैध रूपमा चोरीसिकारी बढेको छ । बारेकोट गाउँपालिका–४ का मोहन सिंहका अनुसार लोपोन्मुख वन्यजन्तु कस्तुरी, मृग, रेडपान्डा, भालु, बाघ, चिरकालिज, बँदेल, रतुवा, झारल जस्ता वन्यजन्तुको चोरीसिकारी भइरहेको छ । बारेकोटमा विश्वमै लोपोन्मुख वन्यजन्तु पाइन्छ । चोरीसिकारी रोक्न सरकारी पक्षको कुनै पहल भएको छैन ।
बारेकोटका सामुदायिक वनमा वन्यजन्तुका लागि फलामे पासो, पासा, नाइलनको पासो, प्लास्ट्रिक पासो अवैध रूपमा प्रयोग भइरहेको छ । बारेकोट गाउँपालिका मात्र होइन जिल्लाका सात वटै स्थानीय तहमा वन्यजन्तुको चोरीसिकार भइरहेको जनगुनासो छ । कुशे गाउँपालिकामा अत्यधिक मात्रामा अवैध चोरीसिकारी भइरहेको स्थानीय रेशम पौडेलले जानकारी दिनुभयो ।
पशुपन्छी संरक्षक गोविन्दबहादुर सिंहले वन्यजन्तुको चोरीसिकारी भए पनि नियन्त्रणका लागि कसैले पहल नगरेको बताउनुभयो । उहाँका अनुसार विश्वमै लोपोन्मुख वन्यजन्तु यहाँ पाइन्छ तर संरक्षणमा चासो कसैले लिएको छैन । स्थानीय सरकार र डिभिजन वन कार्यालय मूकदर्शक बनेको संरक्षक सिंहको भनाइ छ ।
उहाँका अनुसार अवैध रूपमा जङ्गलमा राखिएका छ सयभन्दा बढी पासो सङ्कलन गरी डिभिजन वन कार्यालयमा बुझाइएको छ । बच्चाबच्चीले प्रयोग गर्दै आएका सयौँको सङ्ख्यामा गुलेली बरामद गरी नष्ट गरिएको छ । जिल्लामा भइरहेको चोरीसिकारी रोक्न सरकारी पक्षको पहल निकै कम भएको स्थानीयको बुझाइ छ ।
डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दासले वन्यजन्तुको चोरीसिकारीसम्बन्धी कुनै उजुरी नआएको भन्दै जिम्मेवारीबाट पन्छिनु हुन्छ । उहाँका अनुसार अहिलेसम्म हामीलाई त्यस्तो उजुरी आएको छैन । उजुरी आएमा कारबाहीकोे प्रक्रिया अघि बढाइने छ । उहाँले प्रहरीसँग साझेदारी गरेर अवैध चोरीसिकारी रोक्न पहल गर्ने बताउनुभयो ।