• १६ वैशाख २०८१, आइतबार

प्राधिकरणले निकाल्यो सडकबत्ती

blog

विद्युत् प्राधिकरणले वीरेन्द्रनगर नगरपालिका–४, हटलाइन सडकको बत्ती निकालेपछिको अवस्था । तस्बिर : ललित बसेल

सुर्खेत समाचारदाता

सुर्खेत, चैत १५ गते । नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रले सडकबत्तीको बक्यौता रकम नदिएको भन्दै वीरेन्द्रनगर नगरपालिकाको सडकबत्तीको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले विद्युत्का कर्मचारी प्रत्येक वडा वडामा खटाएर मङ्गलबारबाट सडकबत्तीको लाइन काट्न सुरु गरेको हो । 

वीरेन्द्रनगर नगरपालिका–४, ८ लगायतका मुख्य सडकका विद्युत् खम्बामा राखिएका चिम (बल्ब) निकालिएको छ । प्राधिकरणले विद्युतीय लाइन काटेपछि रातको समयमा उज्यालो हुने सडक अँध्यारो हुन थालेको छ । अँध्यारोले सहरको सुरक्षामा चुनौती थपेको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष शेरबहादुर केसीका अनुसार प्राधिकरणले सडकबत्ती हटाएपछि सहरको सुरक्षामा चुनौती थपिएको छ । चार/पाँच जना कर्मचारी खटाएर प्राधिकरणले सडकबत्ती निकालेको थियो । सडकबत्ती राख्न वडाले बजेट विनियोजन गरेको थियो । 

विद्युत् प्राधिकरणले बक्यौता तिर्न पटक पटक ताकिता गर्दा पनि नगरपालिकाले कुनै वास्ता नगरेपछि बाध्य भएर सडकबत्तीको लाइन काट्नु परेको जनाएको छ । सुर्खेत प्राधिकरण प्रमुख अशोक लोहनीले २०७३ सालयताको सडकबत्तीको बक्यौता तिर्न बारम्बार आग्रह गर्दा पनि नतिरेपछि लाइन काट्नु परेको बताउनुभयो । उहाँका अनुसार सडक बत्ती बालेबापत नगरपालिकाले पाँच करोड ३० लाख रुपियाँ बक्यौता तिर्न बाँकी छ । दुई दुई पटक पत्राचार गर्दा पनि केही सुनुवाइ नभएपछि मङ्गलबारबाट सडकबत्तीको लाइन काट्न सुरु गरिएको हो । नगरपालिकाले बक्यौता रकम नतिरेसम्म नगरका सबै सडकबत्तीको लाइन काटिने उहाँको भनाइ छ । 

सडकबत्ती मात्रै नभएर बक्यौता रकम नबुझाउने १७ सय ग्राहकको पनि लाइन काटिएको छ । ती ग्राहकसँग पाँच करोडभन्दा बढी रकम बक्यौता छ । 

यता वीरेन्द्रनगर नगरपालिका बक्यौता रकम दिने दायित्व नगरपालिकाको नभएको भन्दै पन्छिएको छ । नगरपालिकाले सडक विद्युत्को बक्यौताका बारेमा नगर सभाबाट निर्णय गरेर अघि बढ्ने जनाएको छ । नगर उपप्रमुख नीलकण्ठ खनालले प्राधिकरणको बक्यौता नगर सभाबाट निर्णय गरिने बताउनुभयो । उहाँले विद्युत् प्राधिकरणले नगरमा गाडेको विद्युत् पोलको भाडा नगरपालिकालाई दिनुपर्ने बताउनुभयो ।