• १३ असोज २०८१, आइतबार

पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान

blog

पूर्व जनमुक्ति सेनालाई सम्मान गर्नुहुँदै नगर प्रमुख पुष्प बादी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, चैत १२ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान गरेको छ । नगरपालिकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालीन जनमुक्ति सेनाले गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो । 

चौरजहारी नगरपालिका भित्र करिब १२० जना पूर्व जनमुक्ति सेनाहरू रहेको र उपलब्ध भएकालाई दोसल्ला, प्रमाणपत्र, अबिर लगाएर सम्मान गरिएको नगर प्रमुख पुष्प बादीले जानकारी दिनुभयो । 

चौरजहारी नगरपालिकामा सिएमसी नेपालको सहयोगमा सञ्चालित मनोसामाजिक परामर्श सेवा कार्यक्रम अन्तर्गत पूर्व जनमुक्ति सेनाको सामाजिक पुनर्स्थापनालाई मध्यनजर गर्दै सम्मान गरिएको छ । 

तत्कालीन द्वन्द्वरत पक्षबिचको बैमनश्यता र मनमुटाब कम गर्ने, विगतका तिक्तता मेटाउने गरी सहभोज कार्यक्रम आयोजना गरिएको छ । त्यस अवसरमा द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरूलाई सम्मान गरिएको नगर प्रमुख बादीले बताउनुभयो ।

कार्यक्रममा पूर्व जनमुक्ति सेनाका तर्फबाट गङ्गाराम पोखरेल (जीवन) ले तत्कालीन जनमुक्ति सेनाको दिगो व्यवस्थापनले मात्र शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने बताउनुभयो । 

राज्यले पूर्व जनमुक्ति सेनाको योगदानलाई भुल्न नहुने उल्लेख गर्नुहुँदै उहाँले जनमुक्ति सेनाहरू रोजगारीको अभावमा भौँतारिनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने जनाउनुभयो । पूर्व जनमुक्ति सेनालाई स्वरोजगार र आयआर्जनको काममा लगाउन आवश्यक रहेको समेत पोखरेलले बताउनुभयो । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नगरपालिकाले तत्कालीन द्वन्द्वरत पक्षबिच सामाजिक सद्भाव, एकता र मेलमिलाप गर्ने विभिन्नखालका कार्यक्रम गर्दैआएको बताउनुभयो ।