• १३ असोज २०८१, आइतबार

खाल्डाखुल्डीले यातायात सञ्चालनमा सास्ती

blog

सर्केगार्ड गाउँपालिकाको थाहाको सडकमा परेका खाल्डोमा फसेको मालबाहक ट्रक । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला चैत १२ गते  । 
कर्णाली कोरिडोरको हुम्ला खण्डमा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ताँजाकोट गाउँपालिकाको कवाडीदेखि सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्मको कच्ची सडकमा खाल्डाखुल्डी  भएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।

सुर्खेतबाट मालबहाक सवारी साधन चलाउँदै आउनु भएका साजन पनेरुले हुम्ला खण्डमा पछिल्लो समय खाल्डाखुल्डी बढी भएका कारण सवारी चलाउन समस्या भइरहेको बताउनुभयो । यसले गर्दा सवारी चलाउन समय लाग्नुका साथै जान समेत हुने गरेको उहाँको भनाइ छ ।

चालक पनेरुले कवाडीदेखि ल्याप्चेसम्मको ६५ किलोमिटर दूरीको सडकमा खाल्डाखुल्डी बढी भएका कारण दैनिक चारदेखि पाँच वटा ट्रक फस्ने गरेको बताउनुभयो । उक्त सडकखण्डमा तीन सयभन्दा बढी खाल्डाखुल्डी रहका  छन् ।

उहाँले तीन दिन अगाडि सर्केगार्ड गाउँपालिका–४ को बालुकुनाको खाल्डा भएको सडकमा ट्रक फस्दा सडक अवरुद्ध भएको बताउनुहुँदै यी समस्या भोग्नु सामान्य भइसकेको बताउनुभयो ।

अर्का ट्याक्टर चालक कुलबहादुर मगरले ठुला ट्रकहरू सञ्चालनमा आएपछि सडकमा बढी खाल्डाखुल्डी पर्ने गरेको बताउनुभयो । उहाँले ठुला मालबहाक सवारी साधनले सडक बिगार्ने तर साना साधन मर्कामा पर्ने गरेको जानकारी दिनुभयो ।

यो खण्डमा हाल दैनिक १५ वटाभन्दा बढी मालबहाक ट्रक, २० वटा ट्याक्टर, १० वटा जिप र ५० भन्दा बढी मोटरसाइकल सञ्चालन हुँदै आएका छन् । सडकमा धुलो बढी हुनुका साथै खाल्डै खाल्डका कारण सवारी साधनले समस्या भोगी रहेको ट्राफिक प्रहरी सर्केगार्डले जनाएको छ ।