• २६ वैशाख २०८१, बुधबार

पर्वतबाट दुई हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

blog

फाइल तस्बिर ।

गणेश पौडेल

पर्वत, चैत १२ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्वत जिल्लाबाट दुई हजार २८ जना विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको परीक्षा आगामी चैत १५ गतेदेखि सुरु भई २७ गतेसमम सञ्चालन हुँदैछ । 

परीक्षाका लागि सम्पूर्ण तयारी भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभरबाट १७ वटा परीक्षा केन्द्रमार्फत दुई हजार २८ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । जसमध्ये साधारणतर्फ एक हजार नौ सय ४० जना, आंशिकतर्फका ४८ जना र प्राविधिकतर्फका ४० जना रहेका एकाइ  प्रमुख उद्धीमराज पौडेलले जानकारी दिनुभयो । 

परीक्षाका लागि जलजला गाउँपालिकामा दुई, कुश्मा नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा एक, फलेवास नगरपालिकामा तीन, महाशिला गाउँपालिकामा दुई, पैयुँ गाउँपालिकामा दुई र बिहादी गाउँपालिकामा दुई वटा परीक्षा केन्द्रहरू तोकिएका छन् ।

शिक्षा विकास समन्वय एकाइ पर्वतका अनुसार जिल्लाको जलजला गाउँपालिकाबाट १ सय ६१ जना, कुश्मा नगरपालिकाबाट ७ सय १९ जनाले परीक्षा दिँदै छन् । यस्तै मोदी गाउँपालिकाबाट २ दुई सय ७९ जना, फलेवास नगरपालिकाबाट ३ सय ४ जना परिक्षामा सहभागी हुने बताइएको छ । महाशिला गाउँपालिकाबाट १ सय ३९ जना, पैयुँ गाउँपालिकाबाट २ सय ३२ जना र बिहादी गाउँपालिकाबाट २ सय १४ जना सहभागी हुने एकाइ  प्रमुख पौडेलले बताउनुभयो । 

प्राविधिकतर्फ बिहादीको बर्राचौरमा रहेको आम्बारी मा.वि.बाट ४० जना, फलेवासको माटेदेवल जनसहयोगी व्यावसायिक मा.वि.बाट २१ जना, मोदी गाउँपालिकाको तिलाहारमा रहेको नवजागृत मा.वि.बाट १३ जना र कुश्मा नगरपालिकाको पकुवामा रहेको विश्वज्योति मा.वि.बाट ६ जना परीक्षामा सहभागी हुन लागेका छन् ।