• १३ असोज २०८१, आइतबार

बालविवाह विरुद्ध आमा समूह

blog

बालविवाह रोकथामका लागि आमा समूह र सरकारी पदाधिकारी वडा नं ५ मा संयुक्त छलफल गदै । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट चैत १२ गते । कालीकोट जिल्लाका ग्रामीण क्षेत्रका महिलाहरू बालविवाह विरुद्धको अभियानमा लागेका छन् । खाँडाचक्र नगरपालिका, नरहरीनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा सङ्गठित आमा समूहहरू आफै बालविवाह विरुद्धको अभियानमा जुटेका हुन । 

बालविवाहका कारणले घरेलु हिंसा बढ्न थालेपछि आमा समूहमा सङ्गठित भएर महिलाहरू स्वयम अभियानमा जुटेका हुन । उनीहरूले गाउँमा मासिक बैठक बस्ने बालविवाहका कारणले किशोरीमा आउने शारीरिक, मानसिक, आर्थिक र सामाजिक समस्याका बारेमा छलफल गर्ने गरेका छन् । खाडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले आई.एन.एफ नेपालको सहयोगमा नगरपालिकाले बालविवाह न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो । 

सरकारले अगुवाइ गर्नु पर्ने सामाजिक कुरीति विरुद्धका कार्यक्रममा महिला स्वयम आफै सक्रिय भएको प्रति खुसी व्यक्त गदै आवश्यक सहयोग नगरपालिकाले गरिरहेको बताउनुभयो । आमा समूहले गरेका कामका बारेमा जानकारी लिन शनिवार नगरका विभिन्न वडामा पुगेर जानकारी लिँदै नगर प्रमुख शाहीले आमा समूहका सदस्यले गरेको माग प्रति नगरपालिका पुरा गर्न तयार रहेको बताउनुभयो । आमा समूहले गाउँका विभिन्न समस्याका बारेमा छलफल गर्दा कार्यक्रम गर्दा समूहमा खाजा खाने सम्मको व्यवस्था नभएको भन्दै नगर सरकार समक्ष माग गरेका थिए । 

बालविवाह न्यूनीकरण, सुरक्षित मातृत्व, स्वास्थ्य स्याहारका क्षेत्रमा काम गदै आएको आई.एन.एफ नेपाल कालीकोटका कार्यक्रममा सह योजक दलबहादुर बुढाले विद्यालयमा अध्ययनरत एक हजार आठ सय विद्यार्थीलाई यौन शिक्षा, पोषण र बालविवाहका असरका बारेमा सचेतना मूलक कार्यक्रम प्रदान गरेको भन्दै आगामी वर्षमा पनि निरन्तरता दिने बताउनुभयो । खाँडाचक्र नगरपालिका वडा नं ७ का वडा अध्यक्ष दीपकराज कार्कीले गैरसरकारी संस्थाको सहयोगले आफूहरूलाई स्वास्थ्य क्षेत्रमा काम गर्न सहज भएको बताउनुभयो । 

अध्यक्ष कार्कीले गैरसरकारी संस्थाले गाउँमा सामाजिक कुरीति विरुद्धको अभियानमा एकजुट हुन नागरिकलाई केन्द्रित गरेको बताउनुभयो । अहिले सहज छ । हामीले मात्र गर्ने भए जनशक्तिको अभावमा सकिने अवस्था थिएन । तर गैससले सहयोग गर्दा अभियान चलाउन सहज भएको बताउनुभयो । खाँडाचक्रमा पहिलो तथ्याङ्कमा ६६ प्रतिशत बालविवाह थियो । अहिले क्रमशः घट्ने क्रममा रहेको र आगामी असार सम्म ४० प्रतिसतमा झार्ने सरकारी लक्ष्य छ । स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बालविवाहको कार्यक्रमलाई व्यापक बनाउँदा समग्र स्वास्थ्यमा सुधार देखिने हुँदा विशेष जोड दिएको सुनाउनुभयो ।