• १३ असोज २०८१, आइतबार

नयाँ सहरका एक दर्जन योजना अधुरा

blog

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा अलपत्र अवस्थामा रहेको बसपार्क ।

राजु लामिछाने

रुकुमपश्चिम, चैत ९ गते । रुकुमपश्चिमको चौरजहारीमा रहेको नयाँ सहर आयोजना कार्यालयका एक दर्जनभन्दा बढी योजना बजेट अभावमा अधुरा रहेका छन् । निर्माण सुरु गरिएका कतिपय योजना चालु वर्षमा छुट भएका छन् भने अधिकांशमा बजेट अभाव छ । 

आयोजना प्रमुख इन्जिनियर कमलकुमार दर्लामी मगरका अनुसार चालु आर्थिक वर्षमा १०.७७ प्रतिशत मात्र बजेट खर्च भएको छ । सुरुवात गरिएका विभिन्न योजनाको स्रोत सुनिश्चित नहुँदा वित्तीय प्रगति हुन सकिरहेको छैन । उहाँले चालु वर्षमा विभिन्न योजना पूरा गर्न नौ करोड ३३ लाख रुपियाँको अभाव रहेको बताउनुभयो । 

उहाँका अनुसार अघिल्ला वर्षदेखि नै निर्माण सुरु भएका पाँच वटा सामुदायिक भवनको काम अन्तिम चरणमा रहे पनि यो वर्ष भने योजना र बजेटमा समावेश छैनन् । करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको यस कार्यका लागि ९९ लाख ९२ हजार ३१७ रुपियाँ चाहिने कार्यालयले जनाएको छ । चौरजहारीको मुख्य बजार केन्द्रमा रहेको बसपार्कसमेत बन्दाबन्दै रोकिएको छ । बसपार्कको काम पूरा गर्न ४१ लाख ८२ हजार ३९५ रुपियाँ चाहिने भए पनि यस वर्ष योजनामै छैन । 

त्यसै गरी घारीगाउँ–मनकोट–अमलाटाकुरा र विजयश्वरीदेखि मनकोट सडक कालोपत्रे गर्ने कार्ययोजना तथा बजेटमै छैन । यो काम पूरा गर्नलाई एक करोड २७ लाख ४७ हजार ९०३ रुपियाँ आवश्यक छ । योजनामा समावेश भए पनि बजेट अपुग भएकाले चौरजहारीका मुख्य सडक कालोपत्रे गर्ने कार्यव्रmम प्रभावित बनेको छ । यसका लागि तीन करोड १४ लाख नौ हजार ९४६ रुपियाँ नपुग भएको कार्यालयले जनाएको छ । जग्गा एकीकरण आयोजना क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण गर्ने काममा बजेटकै अभाव छ । यो योजना पूरा गर्न दुई करोड २४ लाख ५३ रुपियाँ चाहिने भएको छ । 

त्यसै गरी खोलागाउँसम्मको सडक कालोपत्रे, सडक स्तरोन्नति कार्य, ढल निकासलगायतका कार्य पूरा गर्न नौ लाख ८३ हजार ४७१ रुपियाँ अभाव रहेको छ । चौरजहारी नगरपालिकाको वडा नं १, २ र ३ को मुख्य तथा भित्री सडक कालोपत्रे कार्य यस वर्षको योजनामा छुट रहेको छ भने ३० लाख ८८ हजार २३ रुपियाँ चाहिने भएको छ । 

आयोजना अन्तर्गत सुरु गरिएको विजयश्वरी सडक स्तरोन्नति र एकीकृत सेवा केन्द्र पूर्वाधार निर्माणका काम सम्पन्न भए पनि भुक्तानी रकमको अभावले ठेक्का सकिएको छैन । अघिल्लो वर्ष यो योजना सम्पन्न भएर चौरजहारी नगरपालिकाले उक्त भवनबाट प्रशासनिक सेवा सुरु गरिसकेको छ । आयोजना प्रमुख मगरका अनुसार दुई करोड ८९ लाख ६७ हजार ५९३ रुपियाँमा सम्झौता भएको उक्त योजनाका लागि हालसम्म दुई करोड ६३ लाख तीन हजार ८४२ रुपियाँ भुक्तानी भइसकेको छ । उक्त योजनामा २७ लाख ७० हजार ३०१ रुपियाँ भुक्तानी गर्न बाँकी छ । यो योजना र बजेट पनि यस वर्ष छुटमै रहेको छ । चालु आवमा योजना छुट भएका र बजेट अभाव रहेका योजनाको विवरण नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँमा लेखी पठाइसकिएको कार्यालयले जनाएको छ ।