• १३ असोज २०८१, आइतबार

तुइन मुक्त कालिकोट

blog

तिला र कर्णाली नदीमा तुइन हटाएर वनेका झोलुङ्गे पुल । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालिकोट, चैत ९ गते । कालीकोटलाई तुइन मुक्त जिल्ला बनाइएको छ । यहाँका नदीहरूमा बनाएका तुइन हटाएर  झोलुङ्गे पुल निर्माण भएपछि कालिकोट तुइन मुक्त भएको छ । 

दश बर्षे द्वन्द्वका क्रममा भएका पुल समेत काटेका कारणले कालीकोटका धेरै ठाउँमा तुइन त्यो पनि बाबियाको डोरीको सहयोगमा बनेका थिए । २०५७ मङ्सिर १३ गते राती इलाका प्रहरी कार्यालय कोटवाडा आक्रमण गर्ने क्रममा सदरमुकाम मान्मबाट थप सेना र प्रहरी गाउँ आउन नसकोस् भनेर माओवादीले रसायन प्रयोग गरेर रेगिंल, लालीघाट, भात्तडीसहितका कर्णाली नदीमाथिका झोलुङ्गे पुल काटेका थिए । पुल काटिएपछि स्थानीयले माओवादीको अनुमतिमा बाबियाको डोरीको तुइन बनाएर नदी वारपारको जोहो गरे । तुइन तर्ने क्रममा स्थानीय प्रभजित रोकाया सहित पाँच जना कर्णाली नदीमा बेपत्ता भएका थिए । 


माओवादीले सदरमुकाम मान्मबाट गस्तीमा आउने सेनाले दुःख दिएको जनाउँदै तिला नदीमाथिका राराघाट, सेरिघाट र लासीको पुल पनि काटेका थिए । पुल काटिएपछि सशस्त्र द्वन्द्वको बेला कर्णाली र तिला नदी वारपार गर्ने तुइन एक मात्र साधन बने । नदी तर्न बाबियाको डोरीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भए पनि शान्ति प्रक्रिया सुरु भएपछि केही ठाउँमा सुधारिएको तुइन निर्माण भए भने केही ठाउँमा उस्तै जोखिम थियो ।

बाबियाको डोरी चुँडिँदा कर्णाली नदीको भात्तडी, रेगिंल, लालीघाट, तिलानदीको कालापहारामा बनाइएका तुइनबाट खसेर १२ जनाले ज्यान गुमाएका थिए । कर्णाली नदीको खुलालु सुधारिएको तुइनबाट खसेर पनि एक जना बेपत्ता भएका थिए । खुलालुका स्थानीय वसन्त विश्वकर्माले जिल्लाभर बनाइएका फलामे सुधारिएका तुइनको लट्ठाले काटेर जिल्ला भरका ३ सय ५७ जनाका हातका औँला काटिएको सुनाउनुभयो । उहाँका अनुसार अधिकांश बालबालिकाका औँला च्यापिएर काटिएका थिए ।  

कर्णाली नदीको खुलालु तुइनमा झुन्डिएर तर्ने क्रममा १५ वर्षअघि नदीमा खसेर बेपत्ता भएका माल्कोट ७ का ३० वर्षीय मन्जन बोहोराका काका रतने बोहोरा नदीमा पुल बनेपछि खुसी हुनुहुन्छ । पहिले त नदी तर्नै मुस्किल हुन्थ्यो । ७३ वर्षीय रतनेले भन्नुभयो तुइनमा झुन्डिँदा काउदो (कता) खसिन्छ भन्ने डरले सातो जान्थ्यो । उहाँले भन्नुभयो, तुइनपछि झोलुङ्गे पुल, अचेल त खुलालुमा गाडी चल्ने पक्की पुल बनिसक्यो ।

०६३ देखि ०६७ सम्म जिल्लाका विभिन्न १२ ठाउँमा बाबियाको लट्ठाबाट बनाइएका तुइनको सट्टा फलामे लट्ठा र डिब्बा जडित सुधारिएको तुइनबाट पनि मानवीय क्षति भएको थियो । हाल जिल्लाका सबै तुइन विस्थापित भएर झोलुङ्गे पुल निर्माण भएकाले खतरा पनि कम हुँदै गएको छ । सशस्त्र द्वन्द्वको अन्त्यसँगै पुल बनाउन थालिए पनि उपभोक्ता र ठेकेदारको ढिलासुस्तीले झन्डै डेढ दशक कालिकोटवासीले तुइन युग झेल्नु पर्यो ।  कालीकोटमा शान्ति प्रक्रिया सुरु भएपछि मात्र ६८ वटा पुल बनेको छ । कालीकोटमा हालसम्म ७८ वटा पुल निर्माण भइसकेका छन् भने १८ वटा पुल निर्माणाधीन अवस्थामा छन् । आगामी वर्षका लागि १२ वटा पुल प्रस्तावित छन् ।

आचार्यका अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा सन् १९९० देखि २००८ सम्म १ सय वटा मात्र झोलुङ्गे पुल बनेकोमा सन् २००६ को शान्ति प्रक्रियापछि ७ सय ५९ वटा झोलुङ्गे पुल बनेको तथ्याङ्क छ । यस वर्ष मात्र कर्णालीभर १ सय ८२ वटा पुल बन्दै छन् । कर्णालीको भूगोल, दुरी, पुलको लम्बाई अनुसार झोलुङ्गे पुल बनाउन २० लाख देखि १ करोड सम्म लागत लाग्ने गरेको छ । डोल्पामा ढुवानी महँगो पर्ने भएकाले प्रति पुल १ करोडमा सम्पन्न भए पनि कालीकोटमा ४० लाखदेखि ७५ लाख रुपैयाँमा झोलुङ्गे पुल निर्माणको लागत हुने गरेको छ ।

खाडाचक्र नगरपालिकाका जुनियर इन्जिनियर कम्मर बहादुर बमले ओली नेतृत्वको सरकारको पालामा देशभरका तुइन विस्थापन गर्ने कार्य योजना सहित काम सुरु गरिएपछि कालीकोटमा धेरै पुल निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो अब कालिकोट तुइन मुक्त भयो । जिल्ला प्रविधिक कार्यालय मान्ममा ६ वर्ष काम गर्नु भएका बमले नदी र ठूला खोलामा कतै तुइन नभएको सुनाउनुभयो । कालीकोटका नदी र खोलामा पुल बनाउन ०६४ यता मात्र ४० करोड भन्दा बढी रकम खर्च भएको बमको अनुमान छ । डाडाकाडा धेरै भएको कालीकोटमा बग्ने तिला र कर्णाली ठुला नदीसहित १३ वटा गाड ठुला खोला र ५० भन्दा बढी खोला छन् ।