• १३ असोज २०८१, आइतबार

मनोरञ्जन क्षेत्रका महिला बढी पीडित

blog

सुर्खेत समाचारदाता

सुर्खेत, चैत ९ गते । वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ बसाइँ सर्ने क्रम बढिरहेको छ । राम्रो शिक्षा, रोजगारीको अवसरलगायतका कारण सुर्खेत वीरेन्द्रनगरमा पछिल्लो समय मनोरञ्जनको क्षेत्र पनि विस्तार हुँदै गएको छ । 

यहाँ दोहोरी साँझ, मसाज पार्लर, ब्युटी पार्लर खुल्ने क्रमसँगै विभिन्न साङ्गीतिक इभेन्ट पनि बढेको छ तर यस्ता मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला श्रमिकको ज्याला भने ज्यादै न्यून हुने गरेको पाइएको छ । श्रमिक महिला रक्षा सङ्घले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिला श्रमिकले पारिश्रमिक थोरै पाउने गरेको, असुरक्षित महसुस गर्ने गरेको जस्ता गुनासो राखेका छन् । 

हुड्के नृत्यकार कुसुम खनालले जुनसुकै काम गर्दा पनि कामको सम्मान हुनुपर्ने भए पनि त्यसो हुन नसकेको, पारिश्रमिक न्यून हुने गरेको, नियुक्तिपत्र नपाउने गरेको गुनासो पोख्नुभयो ।

कार्यक्रममा सहभागी तर नाम नबताउने सहभागीले महिलालाई कार्यस्थलमा काम गर्न असुरक्षा महसुस हुने गरेकाले सुरक्षित वातावरण हुनुपर्ने माग राखेका छन् । उनीहरूले अहिलेसम्म मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकका पक्षमा आवाज कसैले पनि नउठाएको भन्दै अब आवाज उठाएर सहयोग गरिदिन माग गरेका छन् । न्यून पारिश्रमिकबाट पनि परिवार चलाउनुपर्ने बाध्यता, बेरोजगारले अन्य कुलतमा फस्नुपर्ने वा नराम्रो काम गर्नुपर्ने अवस्था रहेकाले त्यसबाट छुट्कारा पाउन आयआर्जनलगायतका स्वरोजगारमूलक कार्यक्रम सञ्चालन हुनुपर्ने माग उनीहरूको छ । 

सुर्खेतमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिला श्रमिकको अवस्थाबारे पहिलो पटक जानकारी भएको जनाएको छ । आवाजका वरिष्ठ मनोपरामर्शकर्ता निशा पौडेलले पहिलो पटक उनीहरूको अवस्थाबारे जान्ने र बुझ्ने मौका मिलेको बताउनुभयो । उहाँले उनीहरूको कुरा सुन्दा जोखिममा परेको, अति कम पारिश्रमिक पाउने गरेको, त्यसैबाट परिवार चलाउनुपर्ने अवस्था आएको र नराम्रो काममा फस्ने सम्भावना पनि रहेको कुरा सार्वजनिक भएको बताउनुभयो । 

श्रमिक महिला रक्षक सङ्घका अध्यक्ष सबिना लिम्बूले कर्णालीमा पहिलो पटक मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिला श्रमिकले खुलेर बोलेकाले आगामी दिनमा यो क्षेत्रमा वकालत आवश्यक रहेको बताउनुभयो । देशभर करिब दुई लाख महिला मनोरञ्जनको क्षेत्रमा संलग्न रहेको अनुमान गर्दै उहाँले करिब पाँच हजार तीन सय जना जति सङ्घमा आबद्ध रहेका बताउनुभयो ।