• २३ वैशाख २०८१, आइतबार

‘दसौँ राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्व’

blog

काँक्रेविहार समाचारदाता

सुर्खेत, चैत ८ गते । मुख्यमन्त्री शर्माले १० औँ राष्ट्रिय खेलकुद कर्णालीको अस्तित्वका रूपमा विकास हुने अपेक्षा गरिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले खेलाडीले आफ्नो भविष्य खेल क्षेत्रमै छ भन्ने विश्वासका साथ अभ्यास गर्न र कर्णाली चिनाउन आग्रह गर्नुभयो । उहाँले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा क्रिकेट रङ्गशाला र देउडा पार्क निर्माणको बुधबार शिलान्यास गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । 

वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण भागमा रहेको स्थानमा पार्क निर्माण हुन लागेको हो । सो क्षेत्रमा प्रत्येक महिना १ र १५ गते देउडा मेला लाग्ने गर्छ । सो स्थानमा प्रस्तावित योजनालाई इन्डोर र आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्क भनिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परियोजनामार्फत कार्यान्वयनमा ल्याइने सो आयोजना निर्माको जिम्मा अभियान कन्स्ट्रक्सन काठमाडौँले लिएको छ । यो क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको छ ।

परिषद्का सदस्यसचिव विश्वामित्र सन्ज्यालका अनुसार चार करोड ५९ लाख रुपियाँको लागतमा निर्माण हुने उक्त आयोजना अन्तर्गत रमणीय स्थलका रूपमा विकास गरी इन्डोर क्रिकेट हल निर्माण गरिने छ । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी क्रिकेट मैदान बनाउन लागिएको हो । क्रिकेटका लागि कालिञ्चोक क्रिकेट मैदान तयार भइरहे पनि दुई वटा खेलकुद मैदान आवश्यक हुने भन्दै यस क्षेत्रमा पनि क्रिकेट मैदान बनाउन लागिएको हो ।