• १३ साउन २०८१, आइतबार

सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र

blog

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ७ गते । दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभयो । 

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले विगतका वर्षभन्दा पछिल्लो ६ महिनामा डिडिसी नाफामा गएको बताउनुभयो । उहाँले पछिल्लो समय दुग्धजन्य वस्तुहरू बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने बताउनुभयो । 

उहाँले डिडिसीले धेरै जनघनत्व भएका क्षेत्रमा बिक्री केन्द्रलाई अभियानकै रूपमा अगाडि बढाउन आग्रह गर्नुभयो । सिंहदरबारमा २ हजार ५ सयभन्दा बढी कर्मचारी भएकाले उनीहरूको सहजताका लागि बिक्री केन्द्र स्थापना गरिएको बताउनुभयो । सचिव पौडेलले डिडिसीको मुख्य उद्देश्य भनेको डिडिसीको उत्पादनलाई उपभोक्तामाझ पुगाउनु रहेको बताउनुभयो ।

मुख्य सचिव डा. वैकुण्ठ अर्यालले डिडिसीको बिक्री केन्द्र बढ्दैजाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउनुभयो । उहाँले सिंहदरबारभित्र डिडिसीको बिक्री केन्द्र हुँदा डिडिसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

डिडिसीले काठमाडौँको सिंहदरबारभित्र बिक्री केन्द्र खोलेरभन्दा पनि मुलुकभर बिक्री बिस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । डिडिसी रिङरोडभन्दा बाहिर गएपछि हराउने गरेकाले बिक्री केन्द्र नपुगेको ठाउँमा पुग्न उहाँले आग्रह गर्नुभयो । डिडिसीले आफ्नो उत्पादनलाई मुलुकभर पुगाउने आवश्यकता रहेको बताउनुभयो ।