• १३ साउन २०८१, आइतबार

सीमावासीको गुनासो सुन्न सशस्त्र प्रहरीको पैदल यात्रा

blog

सीमावासीको गुनासो सुन्ने उद्देश्यले झापाको मेचीनगर–७ सतिघट्टास्थित ९१÷१ सीमा स्तम्भबाट सशस्त्र प्रहरी बलको ‘संयुक्त सीमा पैदल यात्रा’ सुरु गर्दै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला लगायत सुरक्षा निकाय र स्थानीय पालिकाका प्रतिनिधि । तस्बिरः चन्द्रक

झापा,  चैत ७ गते । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।

आज बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१/१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र प्रहरी बल २ नं गणका गणपति कवीन्द्र राई, नेपाल प्रहरीका प्रहरी उपरीक्षक मिलन केसीलगायत स्थानीय वडाका जनप्रतिनिधि र सीमावासी सहभागी हुनुहुन्छ ।

झापामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म एक सय ४४ किलोमिटर लामो सीमा क्षेत्र छ । हरेक किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर सीमाको निगरानी गरिरहेको छ । झापासँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रलाई चार भागमा विभाजन गरी चैत महिनाभरि संयुक्त सीमा पैदल यात्रा सञ्चालन गरिने जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले सीमामा बासिन्दा वास्तविक सीमा रक्षक भएको हुँदा उनीहरूका गुनासाको सम्बोधन गर्न राज्य सकारात्मक रहेको बताउनुभयो । उहाँले सीमामा तैनाथ सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ खट्न निर्देशनसमेत दिनुभयो ।

सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बलले सीमाका बासिन्दासँग सहकार्य अघि बढाउने उद्देश्यले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियान घोषणा गरेको थियो । अभियानका क्रममा सीमावासीलाई आर्थिक, सामाजिक र शैक्षिक सहयोग पुर्‍याइने सशस्त्र प्रहरी बल २ नं। गणका गणपति राईले जानकारी दिनुभयो ।

उक्त सहयोग सशस्त्र प्रहरी बलको कल्याणकारी कोषबाट उपलब्ध गराइने बताइएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने आदिवासी, अल्पसङ्ख्यक, जनजाति, दलित र विपन्न समुदायलाई सहयोगमा प्राथमिकता दिइने उहाँले बताउनुभयो । 

सोअन्तर्गत सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १५ विद्यार्थीलाई वार्षिक रु १२ हजारका दरले शैक्षिक छात्रवृत्ति र दुई जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने जानकारी दिइएको छ । सीमा लक्षित बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सीमामा परिचालित सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई वार्षिक चार प्रतिशत ब्याजदरमा रु पाँच लाखदेखि रु १० लाखसम्म सहुलियतपूर्ण आवास कर्जा उपलब्ध गराउने कार्यक्रम रहेको जनाइएको छ ।

झापाका सीमा जोडिएका २१ वडामा सीमा सहजीकरण समिति गठन गरिएको छ । भौगोलिक सीमारेखाको सुरक्षाका साथै अन्तर्देशीय अपराध र अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बलले वास्तविक सीमा रक्षकको भूमिकामा रहेका सीमाका बासिन्दासँग हार्दिक सहकार्य गर्ने नीति लिएको गणपति राईले बताउनुभयो । रासस