• १५ वैशाख २०८१, शनिबार

कास्की एमाले अधिवेशनको प्रतिनिधि छनोट बुधबारदेखि

blog

सन्तोष सुवेदी
कास्की, चैत ६ गते । 
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको अधिवेशनका लागि प्रतिनिधि छनोट बुधबार हुने भएको छ । यही चैत १० र ११ गते एमाले जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनका हुन लागेको हो ।

प्रतिनिधि छनोट विवादका कारण रोकिएपनि अब सुरु गरिने एमाले कास्कीका अध्यक्ष मन गुरुङले जानकारी दिनुभयो । यसअघि चैत ३ गते प्रतिनिधि छनोटको मिति तय गरिएको थियो । तर दुई पक्षबिच विवाद हुँदा एमाले केन्द्रीय सङ्गठन विभागले तत्काल प्रतिनिधि छनोट नगर्न निर्देशन दिएपछि प्रतिनिधि छनोट रोकिएको थियो ।

अध्यक्ष गुरुङको सर्कुलरमा ४० भन्दा बढी सदस्य भएको हकमा प्रत्येक २१ जना पार्टी सदस्य बराबर थप एक जना प्रतिनिधि चयन गर्नुपर्नेछ भन्ने उल्लेख थियो । तर जिल्ला इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापा पक्षले पनि प्रत्येक ४० जना पार्टी सदस्य बराबर थप एक जना प्रतिनिधि चयन गर्नुपर्ने धारणा राखेपछि विवाद चुलिएको थियो ।

जिल्ला कमिटीको सोमबार बसेको बैठकले ३० जना बराबर थप एक जना प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेसँगै चुनाव प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।