• २१ असार २०८१, शुक्रबार

रूसको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरू

blog

भ्लाडिभोस्तोक (रूस), चैत २ गते । रूसमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लागि मतदान जारी छ ।  रूसको सुदूरपूर्वी क्षेत्र मानिने कामचटका, चुकोटलगायतका क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेदेखि मतदान सुरू भएको हो  ।

शीर्ष पदका लागि चार उम्मेदवारहरू लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लुत्स्की, रूसी कम्युनिष्ट पार्टीका निकोलाई खारितोनोभ, न्यू पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र वर्तमान राष्ट्रपति र स्वतन्त्र उम्मेदवार भ्लादिमिर पुटिन प्रतिस्पर्धा गर्नेछन् ।

रूसले मार्च १५ देखि १७ सम्म स्थानीय समयअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मतदान गर्ने व्यवस्थासहित ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरेको छ । रूसको विशाल क्षेत्रमध्ये, सुदूर पूर्वी क्षेत्रमा अवस्थित कामचटका र चुकोटका मतदान सुरु गर्ने पहिलो क्षेत्रहरू हुन् । रुसको पश्चिमी छेउमा अवस्थित कालिनिनग्रादमा मतदान केन्द्रहरू मतदानका लागि अन्तिम हुने स्रोतले बताएको छ ।

रूसी केन्द्रीय निर्वाचन आयोगले जारी गरेको तथ्याङ्क अनुसार विदेशमा बसोबास गर्ने १८ लाखभन्दा बढी नागरिकसहित करिब ११ करोड रूसी नागरिक मतदानका लागि योग्य छन् ।

रूसी संविधान अनुसार राष्ट्रपतीय निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुनेछ । दुईभन्दा बढी उम्मेदवार भएकाले पहिलो चरणको निर्वाचनबाट कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्ने सम्भावना न्यून छ ।

केन्द्रीय निर्वाचन आयोगले शीर्ष दुई दावेदारका लागि दोस्रो चरणको मतदानको घोषणा गर्नेछ । दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।

रूसी केन्द्रीय निर्वाचन आयोगले मार्च २८ तारिखसम्ममा निर्वाचन परिणामको पुष्टि गर्नेछ र नतिजा पुष्टि भएको तीन दिनभित्र मत परिणामको औपचारिक घोषणा गर्नेछ । रासस/सिन्ह्वा