• १३ साउन २०८१, आइतबार

चैत अन्तिममा एमाले कालीकोटको अधिवेशन

blog

पत्रकार सम्मेलनमा अधिवेशनका बारेमा जानकारी दिँदै नेकपा (एमाले) अध्यक्ष जसिप्रसाद पाण्डे लगायत पदाधिकारी। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत १ गते। नेकपा (एमाले) कालीकोटको जिल्ला अधिवेशन चैत २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। पार्टीको ११ औँ जिल्ला अधिवेशन सदरमुकाम मान्ममा गर्ने र चैत १० गते स्थानीय कमिटीमा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको एमाले कालीकोटले जनाएको छ। 

जिल्ला अधिवेशनका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा (एमाले) कालीकोटले भातृ सङ्गठनलाई अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ। 

जिल्लाका क्रियाशील भातृ सङ्गठनबाट तीन जनाका दरले ६५ जना प्रतिनिधि आउन पाउने निर्णय गरेको हो। आयोजक कमिटीका १०९ जना स्थानीय तहबाट आउने १८५ जना र प्रतिनिधि सङ्ख्याको पाँच प्रतिशतका दरले मनोनीत गरेर ३८० जना प्रतिनिधि छनोट हुने भएका छन्। 

जिल्ला अध्यक्ष जसिप्रसाद पाण्डेले आर्थिक लगायतका सबै हिसाबले खुला प्रतिनिधिका लागि ३५ जना बराबर १ जना र दलित महिलाको हकमा २५ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट गर्ने निर्णय गरेको बताउनुभयो। अधिवेशनका लागि सात वटा उपसमिति समेत गठन गरिएको छ। 

एमाले कालीकोटका उपाध्यक्ष दयाराम सिम्खडाले सकेसम्म ११ औँ अधिवेशनको नयाँ नेतृत्व सहमतिका आधारमा छनोट गर्ने बताउनुभयो। उपाध्यक्ष सिम्खडाले पहिलो सहमति मै जोड दिने भएकाले निर्वाचनको सोच कसैले पनि बनाउनु नहुने बताउनुभयो।