• १३ साउन २०८१, आइतबार

सूचनालाई गलत प्रयोग गर्ने गरेको आरोप

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत १ गते । गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरूले सूचनाको गलत प्रयोग गर्न नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्लास्थित कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी एवम् सरोकारवालाहरूसँग सूचनाको हकसम्बन्धी गरिएको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

“सूचना हाम्रो अधिकार सुशसन र विकासको आधार” भन्ने मुख्य नारासहित गरिएको सो अन्तरक्रियाका सहभागीहरूले कहीँ कतै गलत सूचनाको प्रयोग हुन सक्ने भन्दै गलत सूचना प्रयोग गर्न नहुने बताए । उनीहरूले सूचना जून प्रयोजनका लागि मागिन्छ, त्यही प्रयोजनमा प्रयोग गर्न हुने बताए ।

त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष टोपलाल अर्याल र सूचना हकको लागि राष्ट्रिय महासङ्घ गुल्मीका संयोजक रेसम कुँवरले सूचनाको गलत प्रयोग हुन नहुने भन्दै सूचना लिने र दिनेलाई सहज वातावरणको सिर्जना गर्न जरुरी रहेको बताउनुभयो । उहाँहरूले विकास निर्माणलाई पारदर्शी बनाउन सूचनाले ठुलो भूमिका खेल्ने भन्दै सत्य र तथ्य सूचना प्रवाह गर्न जरुरी रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले यस जिल्लामा सूचनाको व्यवस्थापन प्रणाली सुधार हुँदै गएको भन्दै नीति, विधि र प्रक्रियाद्वारा गरिएका कार्यहरूको सूचना दिन डराउन नपर्ने बताउनुभयो । सूचना माग्ने मात्र होइन भ्रष्टाचार, अपराध नियन्त्रण र सुशासनका लागि सूचना दिएर सहयोग पुर्‍याउनु पनि आम नागरिकहरूको कर्तव्य रहेको बताउनुभयो । गलत नियतबाट सूचना माग गरिने कार्यतर्फ सूचना अधिकारी आफै पनि सुसूचित हुनुपर्ने भन्दै गलत तरिकाले कुनै पनि काम गर्न नहुने बताउनुभयो ।

रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले सार्वजनिक क्षेत्र र निकायका सूचनाहरू आम नागरिकसम्म पुर्‍याउनु लोकतन्त्रको सुन्दर पक्ष र सुशासनको आधार स्तम्भ भएको बताउनुभयो । हरेक विकास निर्माणका जानकारीहरू प्रत्येक नागरिकसमक्ष पुर्‍याउनु स्थानीय तहको दायित्व रहेको भन्दै उहाँले जनताको सूचना पाउने हकलाई सरकारी निकायले कुण्ठित गर्न नहुने बताउनुभयो ।

त्यस्तै, राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओलीले सूचनाको हकले देश विकासका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउन महत्त्व राख्ने बताउनुभयो । सरकारलाई पारदर्शी बनाउन सहयोग पुर्‍याउने भन्दै सूचनालाई व्यापकता बनाउनुपर्ने बताउनुभयो । उहाँले पूर्वाग्रही भएर सूचना माग्न नहुने र सम्बन्धित निकायबाट दिनुपर्ने सूचनाहरू कुण्ठित गर्न नहुने बताउनुभयो ।

आयुक्त ओलीले सूचना उपलब्ध गराउन ढिलाइ भए पनि गलत सूचना भने दिन नहुने भन्दै सूचनाको दुरुपयोग गर्नेलाई राष्ट्रिय सूचना आयोगले कारबाही समेत गरिएको बताउनुभयो । स्थानीय तहबाट हुने विकास निर्माणसँग सम्बन्धित जानकारी र सूचनाहरू आम नागरिकले पाउनुपर्ने अधिकार समेत सूचनाको हकले सुरक्षित गरेकाले भरपर्दो सञ्चार माध्यमको प्रयोग गरी सबैको पहुँचमा सूचना पुर्‍याउनुपर्ने उहाँको भनाइ छ ।

सरकारी निकायबाट हुने कार्यसम्पादन तथा विकास निर्माणसँग सम्बन्धित जानकारीहरू उपलब्ध गराउन सूचना अधिकारी राख्ने व्यवस्था भएकाले सो अनुसार भएर नभएको पनि आयोगले अनुगमन गर्ने गरेको भन्दै सूचनाको क्षेत्रमा उत्कृष्ट काम गर्ने सूचना अधिकारीलाई आयोगले पुरस्कृत गरेको बताउनुभयो ।