• १३ साउन २०८१, आइतबार

कुरीतिविरुद्ध धार्मिक अगुवा

blog

बैतडी समाचारदाता

बैतडी, चैत १ गते । यस जिल्लाका धार्मिक अगुवा कुरीतिविरुद्ध बोल्न थालेका छन् । ज्योतिष पण्डित एवं धामी समूहका अगुवाले समाजमा विद्यमान जातीय विभेद, महिनावारी (छाउपडी) प्रथाका विरुद्ध बोल्न थालेका हुन् । 

गाईभैँसीको गोरस खाँदा पशु बिग्रिन्छन् भन्ने जस्ता गलत कुरीति र कुप्रथा तथा प्रचलन हटाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । सोमबार सिगास गाउँपालिका–१, बेसरामा आयोजित कुरीतिविरुद्ध धार्मिक व्यक्तिसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा सहभागीले सामाजिक कुरीति हटाउनुपर्नेमा जोड दिएका हुन् । 

विश्वनाथ ज्योर्तिलिङ्ग बनारसीधामका प्रवक्ता एवं ज्योतिष पण्डित गणेशप्रसाद पन्तले जातीय विभेद र छाउपडी प्रथा धर्मविरुद्धका कुरीति भएको प्रवचन दिनुभयो ।   

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वकेन्द्रीय सदस्य एवं ज्योतिष पण्डित पन्तले भन्नुभयो, “गाउँको स्थानीय बजारमा दुध पाइँदैन । मदिरा सजिलै पाइने रहेछ, यस्तो किन भइरहेको छ ? दुध बेच्दा देवता रिसाउने तर मदिरा बेच्दा किन यो ठाउँका देउता रिसाएनन् ? तपाईंहरू छाउ भएकी महिलालाई गोरस दिनुहोस् । बजारमा दुध बेच्नुहोस् । आम्दानी गर्नुहोस् । देवीदेवतासित म वार्ता गर्छु ।” 

कुरीतिविरुद्धको अन्तर्क्रियामा स्थानीय पुजारी, धामी झाँक्री, महिला समूहका सदस्य, शिक्षक र जनप्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा धार्मिक अगुवाले पशु बिग्रिन्छन् भनेर बजारमा दुध बिक्री नगर्ने, रोजगारी खोज्न भारत जान तयार हुने कुरा पनि कुरीति भएको बताएका छन् । 

सो कार्यक्रममा धामी समूह पाटनका सहसचिव भानदेव भट्टले महिनावारी भएका बेला गोरस खान र बजारमा दुध बिक्री गर्न मिल्ने बताउनुभयो । उहाँले धर्मशास्त्रमा महिनावारीलाई पवित्र मानिएको बताउनुभयो ।

महिनावारी नहुने महिलालाई ‘किन्नर’ मानेको उहाँले स्पष्ट पार्नुभयो । महिनावारी भएका महिलालाई पोसिलो खाना, गोरस, फलफूललगायत खान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सामाजिक विकास कार्यालय तथा स्थानीय सिर्जनशील सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा आयोजना गरिएको कुरीतिविरुद्धको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीले जातीय विभेद र छाउपडी प्रथा धार्मिक रूपमा कुरीति र कानुनी रूपमा दण्डनीय भएको बताउनुभयो । 

समाज सुधार गर्न प्रहरी एक्लैको प्रयासले समभव नभएको भन्दै प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “समाजका कुरीति, जातीय र लैङ्गिक विभेद, लागुऔषध दुव्र्यसन हटाउन धार्मिक अगुवा र समाजका बुद्धिजीवीले सहयोग गर्नु पर्छ ।” 

सुदूरपश्चिम प्रदेशमा प्रहरीले लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरे जस्तै धार्मिक अगुवाले समाजका कुरीतिविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने ज्योतिष पण्डित पन्तले थप्नुभयो । वेद, पुराण र धर्मग्रन्थमा महिला तथा दलितमाथि कहीँकतै पनि विभेद नभएको बताइएको छ ।