• १३ साउन २०८१, आइतबार

विदेशी मुद्रा र सिक्का सटहीमा समस्या

blog

पाथीभरामा सङ्कलन भएको विदेशी मुद्रा । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ३० गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा सङ्कलित विदेशी मुद्रा र सिक्का रकम सटहीमा समस्या भएको छ । 

भारतीय रुपियाँ (भारु) बाहेक विदेशी मुद्रा चलनचल्तीमा नभएको र बैङ्कहरूले पनि लिन नमान्ने भएका कारण सटहीमा समस्या आएको हो । पाथीभरा दर्शनमा आउने भक्तजनले विदेशी मुद्रा र सिक्का चढाउने तथा दान गर्ने गर्छन् । 

हालसम्म सङ्कलन भएको विदेशी मुद्रा र भारती तथा नेपाली सिक्का रकम सटही (कारोबार) मा समस्या रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले विदेशी मुद्रा साट्नलाई पहल गरिरहेको भए पनि हालसम्म सटही गर्न नसकिएको जानकारी दिनुभयो । 

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार मुद्रा साट्नका लागि विभिन्न बैङ्कहरूसँग समन्वय गर्दासमेत सम्भव भएको छैन । विदेशी मुद्रा र सिक्का सटही नभएपछि समितिले भण्डारण गरेर राखिराख्नु परेको उहाँले बताउनुभयो । भारतीय सिक्का हालसम्म सटही भएको छैन भने नेपाली सिक्का भने थोरै परिमाणमा कुनै व्यक्ति र डिपार्टमेन्ट स्टोर, भाटभाटेनीजस्ता व्यावसायिक निकायले साटेर लैजाने गरेका उहाँको भनाइ छ ।

समितिका अनुसार पाथीभरामा सङ्कलन भएको अमेरिकी डलरसहित विभिन्न ४६ देशको विदेशी मुद्रा रहेको छ । हालसम्म सङ्कलित विदेशी मुद्रामध्ये तीन हजार ९३३ अमेरिकी डलर रहेको छ । यस्तै, सबैभन्दा बढी दक्षिण कोरियाको आठ लाख ६० हजार मुद्रा रहेको छ । इन्डोनेसियाको १६ हजार, जापानको १४ हजार १२९, इरानको १० हजार, ओमनको नौ हजार ७४० मुद्रा रहेको छ ।

कतारको चार हजार ९२, साउदी अरबको एक हजार ७२५, भियतनामको दुई हजार ४०० मुद्रा रहेको छ । अन्य लिबिया, आइसल्याण्ड, जोर्डनलगायत देशका मुद्रा रहेको समितिले जनाएको छ । हालसम्म विदेशी मुद्रा सटहीका लागि गरिएको पहल सफल नभएपछि थन्क्याएर राख्नुपरेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशी मुद्रा र सिक्का सफा गरी समितिले भण्डारण गरी राखेको छ ।