• १२ वैशाख २०८२, शुक्रबार

मेरिङ्देन गाउँपालिकाद्वारा खेलकुदका विजेतालाई सम्मान

blog

मेरिङ्देन गाउँपालिकाले गरेको खेलाडी तथा व्यवस्थापकीय नेतृत्व सम्मानपछिको सामूहिक तस्बिर।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २९ गते। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले खेलकुद प्रतियोगितामा विजयी बनेका खेलाडीलाई सम्मान गरेको छ। गाउँपालिकाले मङ्गलबार विभिन्न खेलकुद गतिविधिमा सहभागी भई उपाधि जित्न साथै विजयी हुन सफल खेलाडी सहितको टोलीलाई सम्मान गरेको हो।

गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) का अनुसार फुङ्लिङ नगरपालिकाले आयोजना गरेको उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगितामा सहभागी भई उपाधि जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम अर्थात उपाधि जित्न सफल महिला खेलाडी, टोली व्यवस्थापक र प्रशिक्षकसमेतलाई सम्मान गरिएको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो।

जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्लास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेरिङ्देन गाउँपालिकाको तर्फबाट सहभागी भई विभिन्न पदक जित्न सफल खेलाडीलाई पनि गाउँपालिकाले सम्मान गरेको छ। विजयी खेलाडी र व्यवस्थापकीय टोलीका नेतृत्वलाई प्रशंसा  तथा कदरपत्रद्वारा सम्मान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहले जानकारी दिनुभयो। 

यता खेलाडी तथा व्यवस्थापकीय टोली नेतृत्वलाई सम्मान गर्दै गाउँपालिकाले आगामी दिनमा खेलकुद  जगतको विकासका लागि आवश्यक नीति निर्माण गरी थप पहलकदमी लिने पनि प्रतिवद्धता जनाएको छ। सम्मान कार्यक्रममा गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी लगायतको उपस्थिति रहेको थियो।