• १३ असोज २०८१, आइतबार

पन्चैबाजा संरक्षणमा धवलागिरिवासी

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, फागुन २७ गते । विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने मौलिक पहिचान बोकेको पन्चैबाजा लोप हुन थालेपछि खजुरा गाउँपालिका–३, धवलागिरिका बासिन्दा पन्चैबाजा संरक्षणमा जुटेका छन् । स्थानीयको संरक्षणका कारण विवाह, पूजापाठ र विभिन्न शुभकार्य उद्घाटन समारोहमा प्रायः खजुराको पन्चैबाजा समूहको टोली पुग्ने गरेको छ । 

पन्चैबाजाकै कारण खजुराको धवलागिरि गाउँ बाँके जिल्लामा मात्र होइन, छिमेकी जिल्ला बर्दिया, कैलाली, दाङ, सुर्खेतसम्म चिनिएको छ । यसरी छिमेकी जिल्लामा समेत धवलागिरि गाउँ भनेर चिनिनुको एउटै कारण हो, स्थानीय बासिन्दाले बजाउने गरेको पन्चैबाजा । विसं २०६३ मा गाउँले मिलेर समूह बनाएर सुरु गरिएको पन्चैबाजा संरक्षणको कामले सिङ्गो गाउँपालिकालाई सबैतिर चिनाएको छ ।

धवलागिरि पन्चैबाजा समूहका अध्यक्ष गङ्गाबहादुर थापाले बन्चैबाजाले धवलागिरि गाउँ मात्रै नभएर सिङ्गो गाउँपालिकालाई नै चिनाउन सफल भएको बताउनुभयो । पुरानो परम्परा र रीतिरिवाजसँग जोडिएको पन्चैबाजा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने संरक्षण समूहका उपाध्यक्ष बलबहादुर डगामीको भनाइ छ । उहाँले नयाँ पुस्ताले बिर्सिन थालेको पन्चैबाजा यो गाउँमा भने नयाँ पुस्ताले नै बजाउने गरेको उहाँले बताउनुभयो । पन्चैबाजा समूह विभिन्न कार्यक्रममा जाँदा न्यूनतम १८ हजारदेखि ५० हजार रुपियाँसम्म शुल्क लिने गरेको छ । यही शुल्कबाट बाजागाजाको मर्मत, नयाँ बाजा खरिद र सदस्यहरूको पारिश्रमिकमा खर्च गरिँदै आएको उपाध्यक्ष डमागीले बताउनुभयो । धवलागिरिमा ‘पन्चैबाजा सङ्ग्रहालय’ बनाउन सके खजुरा गाउँपालिकाको पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने स्थानीयको विश्वास छ ।