• ७ मंसिर २०८१, शुक्रबार

ती दिन फेरि आउला र ? [कथा]

blog

“खान्नँ के म कति भन्नु त्यहि एउटै कुरा पनि, छ्या” भन्दै रीया भित्र कोठाबाट झर्को मान्दै उत्तर फर्काउँछे । आफ्ना सन्तानको पेट भर्न अघि सरेकी ती आमा त्यही ढोकाबाहिर मन खिन्न बनाएर बस्न बाध्य हुन्छिन् । पाँचौँ पटकसम्म त्यही ढोकासँग बोलेसरह महसुस गरेकी मेरी आमालाई छैटौँ पटक भने झर्केको नै आवाज आउँदा पनि मनलाई केही राहत पक्कै मिल्यो होला । मन त पक्कै थियो होला उहाँलाई, “आऊ न छोरी, अलिकति रुचेको जति खाऊ” भन्ने तर दिनहुँको त्यही कोलाहल कै कारण जन्मदिने आमाले समेत हार खान थालिसकेकी थिइन् । सधैसरह उही खानाको सत्यानाश ! न त त्यति मिहिनेत गरेर जस्का निम्ति पकाइएको हो त्यसले खान्छ, न त मिहिनेत गर्ने मान्छेले नै । हुन पनि कुन आमालाई आफ्ना सन्तान खाली पेट सुत्दा, आफू भने पेट भरेर सुत्ने इच्छा नै जाग्छ र ?

      हाम्रो घर त अहिले मसानसरह हुन पुगेको छ । न कसैको मुहारमा मुस्कान नै छ, न त कसैप्रतिको सद्भाव । सधै बहिनी आफ्नो कोठामा मस्त, म होस्टेलमा व्यस्त र आमा अफिसमै । घरमा चहलपहल भएको भने रीयालाई फिटिक्कै मन पर्दैन । मन पर्दैन पनि कुन मुखले भनूँ, केही वर्ष अघिसम्म कोही पाहुना आए हुरुक्क हुँदै सर्वप्रथम ढोका खोल्ने ऊ नै हुन्थी । घरको फोनमा घण्टी बज्नासाथ ऊ त्यहाँ पुगेर फोन उठाइ कहिलेकाहिँ त को हो समेत नचिनी आफ्ना मिठा गफमा भुलेरै बस्थी । जो पनि नयाँ पाहुनापाछा आए जाने बेलामा कसैले पैसा, कसैले चकलेट दिदैँ कति रसिली छोरी पाउनुभएछ भन्दै बुबाआमाको नाक लामो पारिदिन्थे । घरमा एक्लै ती नयाँ नयाँ आधुनिक यन्त्रमा झुम्मिएर बस्नुभन्दा बरू कोही मान्छेसँग समय बिताउन ऊ बढी रुचाउँथी । जसकारण लखतरान परेर आउँदासमेत बुबाआमाले ऊसँग बसेर अनुहारमा मुस्कान ल्याइ बातचित नगरी उसलाई कहिल्यै चित्त बुझ्दैन थियो । 

   सानैदेखि घुम्न भनेपछि ऊ कहिल्यै पछि हटेको मैले थाहा पाएको छैन । जतिपल्ट पनि एउटै ठाउँ जाऊँभन्दा ऊ कहिल्यै नाइनास्ती गर्दैनथी । उसलाई निलो आकाशमा बादलका नयाँ नयाँ ढाँचाहरू नियाल्दै सितल बतासमा सुकेका पातसरह झुल्दै आफ्नो घडीको समय बिताउन निकै आनन्दित महसुस हुन्थ्यो । कहिले कोइलीको कुहुकुहुमा त कहिले भङ्गेराको चिरबिरमा मग्न हुने ऊ त्यही रमाउँदै नयाँ नयाँ मान्छेसँग पनि छिट्टै झुम्मिन्थी । त्यतिमात्र नभएर रातको समयमा घरका सबै सदस्य जम्मा हुनु अगावै ऊ धेरैजसो भने घरको कौशीमा ती चम्किला तारामै रम्न व्यस्त हुन्थी । जाडोयाममा कतिपटक त बुवाले चिसो लाग्छ भनी सम्झाउँदै तल झारे पनि भोलिपल्ट फेरि यसो मौका छोपी त्यही ताराहरूका माझ रम्न ऊ कहिल्यै पछि हट्दिनथी । साथी धेरै भएकै कारण पनि होला, उसमा स्कुल जाने भनेपछि बेग्लै स्फुर्ती देखापथ्र्यो । सधैँ पहिलो हुने भएका कारण पनि उसले शिक्षकहरूबाट बेग्लै माया, स्नेह पाउने गरेका कहानीहरू ऊ हामीलाई घर आएर सुनाइहाल्थी र हामीमाझ पनि स्याबासी पाउने आशा राख्थी । सबैकी प्यारी रीयालाई देखेर कतिपटक त मलाई आफ्नै बहिनी माथि पनि डाहा लाग्ने गथ्र्याे ।

     एक दिनको कुरा हो, बुवा अफिसबाट न्याउरो अनुहारसाथ घर फर्कनुभयो । सधैँ घरको चिन्ता घरमै र अफिसको चिन्ता अफिसमै भन्ने बुवाको अनुहार मलिन देख्दा मुटु एक्कासी ढुक्क फुलेर आयो । म हस्याङ्फस्याङ् गर्दै बुबाकोनजिक पुगे, “के भयो, बुवा ?” भनी प्रश्न गर्न खोज्दा म आफैँ प्रश्न गर्न असमर्थ रहें । किन मलाइ त्यो दिन त्यति सोध्नसमेत असहज लाग्यो, मैले अहिलेसम्म पनि त्यसको उत्तर फेला पारेकी छैन । हातमा पानी लिएर आउनुभएको आमाले पानी दिदैँ भन्नुभयो–“हजुरलाई सन्चो भएन को कसो?” र त्यो सुनसान माहोलमा सूर्य उदायसरह सन्नाटा फुटाइदिनु भयो । दिक्क मान्दै, “के भन्नु खोइ ! देशमा त्यो घातक कोरोना भन्ने रोग दिनहुँ दिन झन् बढ्दो छ रे । आफू फेरि आफैं अस्पतालमा काम गर्ने मान्छे परियो, त्रासै त्रासबाहेक केही छैन । कुन दिन हामी चारै जना एकै ठाउँमा पोको पर्नु पो पर्ने होकि ।” भन्दै बुबा पानी पिउन लाग्नुभयो । बुबाको त्यो अन्तिम वाक्यले त मेरो आँतै जिरिङ् पो बनाइदियो । तर आमा भने “यति सारो चिन्ता पनि नलिनुस् न हजुर । सरकार अब छिट्टै लकडाउन गर्ने कुरा गर्दैछ, हराउँछ क्या जाबा यस्ता रोगहरू ! केहि गर्न सक्दैन हामीजस्ता ढिडो खाएर हुर्केकालाई त्यस्ता तुच्छ विदेशी रोगले ।” इत्यादि भन्दै सान्त्वाना दिदै हुनुहुन्थ्यो । त्यो रात मलाई बुबाको चिन्तित अनुहार सम्झेर, त्यही त्रासकै कारण आँखै लागेन केवल मनमा अनगिन्ती कुराहरू खेल्न भने छाडेनन् ।

    आमाले भनेसरह नै सरकारले केही दिनमै आपत्कालिन लकडाउन घोषणा गरिदियो । जसकारण झन् झन् त्रसित नेपालीको सङ्ख्या बढ्दो थियो । त्रसित ती नेपाली जनता केवल बिहान मात्रै मुखमा मास्क, हातमा पन्जाका साथ देखिन थाले । अस्पतालमा बिरामीको घुइँचो झन् बढ्न थाल्यो । त्यति मात्र नभएर ती बिरामीलाई उपचार गर्ने डाक्टरहरू समेत त्यो रोगको सिकार बन्न बाध्य हुन थाले । मानिसहरू डाक्टर भनेपछि मनमा अब अछुतसरह भावना राखी उनीहरूबाट पन्छिन थाले । जसकारण बुबा पनि घरमा हामीबाट टाढा रहन थाल्नु भएको थियो । पक्कै पनि हामीबाट टाढा रहन उहाँलाई हाम्रै माया, स्नेहले नै बाध्य बनाएको थियो । रीया भने बुबासँग गएर यति धेरै कुरा भन्नु छ भनी सधैँ जान जिद्दी गरिरहन्थी । बिडम्बना त तब भयो, जब साच्चै बुबालाई पनि त्यो निर्दयी रोगले छाडेन । त्यसदिन पछि त झन घरमा सन्नटाका साथै त्रास पनि बढ्न थाल्यो । आमा भने हामीलाई कोठाबाहिर समेत आउन दिनुहुँदैन थियो तर आफू भने हरबखत सतर्कता अपनाएर बुबाको हेरचाह मै तल्लीन हुनुहुन्थ्यो ।

    एकरात बुवालाई त्यही निर्दयी रोगले साहै च्यापेछ । आमाले बुबालाई हतारिदै, आत्तिदै अस्पतालतर्फ दौडाउँदा दुई नजिक अस्पतालले ठाउँ नभएको भनी फर्काएछन । धन्न, एक अस्पतालमा हतार हतार पुयाउँदा बुवाको अवस्था निकै नाजुक भइसकेको थाहा पाएर उपचार सुरु गर्न लाग्दा ठिक त्यही समयमा बुवाले संसार छोड्न पुग्नु भएको रहेछ । हामीले आफ्नै बुबाको अनुहार केवल एक अन्तिम पटक भनेर कहिल्यै हेर्न पनि पाएनौ । बहिनी सानै भएकाले उसलाई यसको खबर दिइएन तर उसको बुबालाई हेर्न तड्पिएको आँखाको जिद्दीपन भने पछि हटेको थिएन । काजक्रिया गर्नका लागि हाम्रा जेठा काका सेतो धोती बेरेर चाहिने सर्दम मिलाउनैमा व्यस्त हुनुहुन्थ्यो । आमा सधैँ छोरोको कमी महसुस गर्नुको एक कारण आजैका दिनका लागि पनि होला । कस्तो परम्परा है हाम्रो, त्यही कोखबाट जन्मिएको छोरोले भने सबै काजव्रिmया गर्न हुने तर एउटै गर्भबाट जन्मिएकी छोरीले भने त्यो कामबाट सरासर पन्छिनु पर्ने । के गल्ती थियो र बिचरा त्यो शिशुको जसले आफ्नो आमाबुबाको अन्तिम कार्यसमेत गर्न नपाउने भएर जन्मनलाई?

      एक दुई दिन पो कुरा लुकाउन सकिन्छ त, त्यसपछि त साँचो कुरो कति दिन पेटमा रहोस् । बिस्तारै खेलाइ बुझाइ रीयालाई अब बुवा कहिल्यै फर्केर आउनु हुन्न भन्दा पत्याउन निकै गाह्रो भयो । हुन पनि अब उसका ती बुबालाई भन्छु भनेर डायरीमा टिपेर राखेका ती घटनाहरू अब कसलाई सुनाउने भनेर मनमा चिन्ता लाग्यो होला । अब कसले अफिसबाट आउँदा मायाले अँगालो हालेर ठुला ठुला चकलेट दिएर काखमा राखी मिठा मिठा गफ गर्छ भन्ने सोच पनि आयो होला । अब म र ऊबिच झगडा पर्दा कसले आएर मेरी प्यारी सानीको केही गल्ती छैन है भनेर कुरा मिलाइदिन्छ होला भन्ने कुराले पक्कै उसको मनमा चसक्क हान्यो होला । हामीले त्यति भनेपछि उसका आंशुका धारा त बर्खेमा पर्ने पानी जसरी दिनरात लगातार झरिरह्यो । उसलाई लाग्यो होला, मेरो बुबाले मलाई यसरी एक्लै छाडेर त कहिल्यै कतै जानुहुदैनथ्यो तर कहिल्यै नफर्कने गरेर एक्लै पो जानुभएछ । हरेक दिनरात ऊ बुबाको फोटो अँगालेर सुकसुक गरेर बसेको मेरो कोठासम्म सुनिन्छ । बुबा अफिसबाट आउने समयमा भन् बढी न्यास्रो लाग्नु पनि स्वभाविक नै हो ।

बुबाले हामीलाई छाडेर जानुभएको पनि लगभग दुई वर्ष पुग्यो र रीया राम्रोसँग नबोलेको पनि । ऊ स्कुल नगएको लगभग ८–९ महिना पनि पुग्न लाग्यो । कहिले कोठाबाट चिच्चाएको आवाज आउँछ त कहिले बुबा भन्दै रोएको । खाना खान निस्कदा पनि उसको झगडा सुरु भइहाल्छ । कहिले आमालाई भुताल्न पुग्छे त कहिले सराप्न । एक महिनाअघि त झन्, आमालाई, “तैले नै हो मलाई मेरो बुबाबाट टाढा बनाएको । आफू मात्रै बुबासँग जान्थिस्, मलाई मेरो बुबा फिर्ता दे !” भन्दै कोठाबाट बाहिर निस्कदा त हामी सबै अचम्ममा परेका थियौँ । उसले कहिले कसो बाहिर निस्केर खाना खाँदा पनि आमाको मुहार चम्किलो हुन्छ । उसलाई डाक्टरलाई नदेखाएको पनि होइन, पहिले पहिले आफैं डाक्टरकहाँ जान्थी तर अहिले डाक्टरलाई घरमै बोलाउँदा समेत ऊ ढोका खोल्न आनाकानी गर्छे । राति कहिल्यै उसलाई निद्रा नपर्नाले सधै त्यही सिल्पिङ पिल खाएर सुत्न ऊ बाध्य हुन्छे ।

 छँदा पनि केही रहेनछ, यो रोगको त उपाय पनि । उसले अझै पनि कतै केही बुवाको बारेमा देखी भने एक्कासी उसको शरीर आफैं काप्न थाल्छ, मुखबाट आएको थुकको फिँजले एक जग भरिन पुग्छ । कति सुखी परिवारबाट, कस्तो नरक भयो यो परिवार भन्दै आमा दिनहुँ आफूलाई नै धिक्कार्नु हुन्छ । यो निर्दयी कोरोनाले एक सदस्य त खोसी लग्यो अनि भर्खर फर्कन लागेकी मेरी कोपिलासरहकी बहिनीलाई झन् भयानक रोगको सिकार हुन बाध्य बनाइदियो । दिनरातको उसलाई केही पर्वाह छैन, केवल पर्वाह छ त बुबा फर्की आउने त्यो रातको । कहिलेकाहिँ यसो सोच्दा त मन भक्कानिएर आउँछ, बुबासँग हाँसीखुशी बस्न नपाएको त लगभग दुई वर्ष भयो । त्यसका साथै मेरी त्यति रसिली बहिनीसँग खुलेर नहाँसेको, सगैँ बसेर गफ नगरेको समेत झण्डै दुई वर्ष पो पुगिसकेछ । अब फेरि कहिले आउँला ती मेरी बहिनीसँग हाँस्दै, रमाउँदै बिताउने दिनहरू ।

Author

आर्या कोइराला