• १३ असोज २०८१, आइतबार

लेखनलाई अझ सशक्त बनाउन आग्रह

blog

काठमाडौँ, फागुन २५ गते । नेपाली साहित्यमा महिला लेखनले सामाजिक विसङ्गतिका विषय वस्तुलाई अझ सशक्तरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको छ । 

एक सय १४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा नेकपा (एमाले)को साहित्य, कला तथा संस्कृति विभागले आज आयोजना गरेको ‘नेपाली साहित्यमा लेखनको वर्तमान अवस्था : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताले सामाजिक र पारिवारिक चुनौतीबिच महिला लेखकहरूले साहित्यका विविध विधामा आफ्नो उपस्थितिलाई अघि बढाएको जनाउँदै उनीहरूका लागि समाज र परिवारले उचित वातावरण दिनुपर्ने बताउनुभयो ।

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधानले महिलाका हक अधिकारलाई स्थापित गर्ने सवालमा उल्लेखनीय स्थान दिए पनि व्यवहारतः त्यसको कार्यान्वयन गराउन लेखनीबाट पनि सहयोग हुनुपर्ने बताउनुभयो । नेत्री शाक्यले महिलाहरू परिवर्तन र रूपान्तरणका बाहक भएकाले उनीहरू एक भएर हिम्मत र आँटका साथ अघि बढेमा सामाजिक अन्यायलाई परास्त गर्न सक्षम हुने बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सह-प्राध्यापक डा.रजनी ढकाल र उप-प्राध्यापक डा.विन्दु शर्माले महिला लेखनले निकै उचाइ हासिल गरिसकेका दृष्टान्तहरू प्रस्तुत गर्दै महिला लेखनका माध्यमबाट परम्परागत र धार्मिक अन्धतामा आधारित मिथकहरूमा भएका असमानतालाई चिर्ने काम गरेको विवेचना गर्नुभयो । 

कार्यपत्रहरुमाथि लेखक डा.अर्चना थापा र उप-प्राध्यापक डा.कुमारी लामाले टिप्पणी गर्नुभएको थियो भने प्राध्यापक केशव सुवेदीले मातृशक्तिको महत्ता र सामर्थ्यबारे प्रकाश पार्दै बदलिँदो सामाजिक परिवेशमा महिलाहरूलाई लेखनमा स्वायत्तता सृजना हुँदै जानु सकारात्मक भएको बताउनुभयो । सो विभागका प्रमुख रघुजी पन्तले महिला लेखनका सन्दर्भमा विस्तृत बहस र अध्ययनको वातावरण निर्माण गर्न निरन्तर छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यपत्र प्रस्तोताहरूले प्राध्यापकीय समालोचनाका शैलीबाट फरक भएर बहुआयामिक पक्षमा विचार र विषयवस्तु पस्कन आग्रह गर्नुभयो । रासस