• १६ भदौ २०८१, आइतबार

प्रादेशिक ललितकला प्रदर्शनी हुने

blog

जयकृष्ण यादव 

इनरुवा, फागुन २५ गते । कोशी प्रदेशको सुनसरीको इटहरीमा फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिने भएको छ । ललितकला क्षेत्रका कलाकारहरूका लागि लक्षित प्रादेशिक ललितकला प्रदर्शनी हुने तयारी भएको मूल आयोजक समितिका संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सञ्जय बान्तवा राईले जानकारी दिनुभयो । 

इटहरी मेट्रिक्स परिसरमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा राईले दिनुभएको जानकारी अनुसार प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना, इटहरी उपमहानगरपालिकाको सहकार्य र इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा हुने भएको हो । प्राज्ञ राईले प्रादेशिक ललितकला प्रदर्शनीमा ललितकला अन्तर्गतका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विधा सम्बन्धित कलाकृतिहरूलाई समावेश गरिने बताउनुहुँदै अन्य सिर्जनात्मक कलातर्फ छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गीमा कला, कार्टुन, क्यारिकेचर, पोष्टर र डिजिटल कलासमेत प्रदर्शनीमा समावेश गरिने जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा समावेश भएका कलाकृतिहरू मध्येबाट प्रतिष्ठानको नियम र मापदण्डका आधारमा निश्चित कलाकृतिहरूलाई विज्ञहरूको टोलीबाट छनौट गरी राष्ट्रिय ललिलतकला प्रतियोगितामा पठाइने छ । 

राष्ट्रिय प्रदर्शनीमा समावेश कलाकृतिहरूमध्ये उत्कृष्ट ठहर भएका कलाकृतिहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार र उत्कृष्ट विद्यार्थी ललितकला पुरस्कार गरी तीन वर्गीकरणमा पुरस्कृत गरिने छ । स्थानीय व्यवस्थापनको जिम्मा पाएको इटहरी मेट्रिक्सका अध्यक्ष विक्रमश्रीले प्रादेशिक ललितकला प्रदर्शनीका लागि हालसम्म एक सय ४७ जनाले सहभागिता फारम भरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार ५८ जना चित्रकारका १२१ चित्रकला, ३६ जना मूर्तिकारका ४१ मूर्तिकला, २५ वटा लोककला, १५ वटा वास्तुकला, १२ वटा छविचित्र, २ वटा भिडियो आर्ट, २ वटा पर्फमिङ आर्ट र ५ वटा प्रतिस्थापन कला छन् । 

मूल आयोजक समितिका सहसंयोजक समेत रहनुभएका वरिष्ठ कलाकर्मी विक्रमश्रीले हाल प्रदर्शनीका लागि आफ्नै पहलमा आयोजना स्थलको सौन्दर्यीकरण गर्ने र कलाकृतिहरूको डिस्प्ले गर्ने स्थलको निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।

आयोजक समितिले प्रदर्शनीका लागि ३५ लाख रुपियाँ बजेट खर्च हुने जानकारी दिँदै ललितकलाको दृष्टिले बागमतीपछि देशको दोस्रो अग्रणी स्थानमा रहेको कोशी प्रदेशको प्रदर्शनीमा कलाकृतिहरू र कलाकारहरूको सहभागिता उत्साहजनक देखिएको जनाएको छ । प्रादेशिक ललितकला प्रदर्शनीले कोशी प्रदेशलाई देशको कलाक्षेत्रमा उर्वरभूमिको रूपमा उभ्याउने विश्वास लिन सकिने आयोजक समितिले जनाएको छ ।