• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय सुरक्षामा समर्पित सेना

blog

नेपाली सेना राष्ट्रिय सुरक्षाको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । नेपालको एकीकरणदेखि इतिहासका विभिन्न कालखण्डमा मुलुकको सुरक्षामा सेनाको प्रशंसनीय योगदान छ । बाह्य शक्तिलाई परास्त गरेर मुलुकको स्वतन्त्रता बचाउने राष्ट्रिय विभूतिहरूको नाम नेपालको सैन्य इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ । विभिन्न राजनीतिक व्यवस्थाको परिवर्तनमा पनि नेपाली सेना सदा अटल र स्थिर रही राष्ट्रको सुरक्षा र सेवामा समर्पित छ । यस्तो गौरवमय इतिहास बोकेको सैन्य सङ्गठन, सरकारको आदेशलाई शिरोपर गर्दै सुरक्षाको अहम् जिम्मेवारी पूरा गरी राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो स्वच्छ छवि राख्न सफल भएको छ । 

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेना रहने संवैधानिक प्रावधान अनुरूप नेपाली सेनाले राष्ट्रिय स्वाधीनताको संरक्षण गरी समावेशी सेनाको पहिचान दिएको छ । सबै जातजाति र भूगोलको प्रतिनिधित्व छ नेपाली सेनामा; जहाँ राष्ट्रभक्ति, व्यावसायिक निष्ठा र अनुशासनका साथ सङ्गठन एकताबद्ध छ । आमनागरिकको सेवामा तल्लीन छ नेपाली सेना । त्यसरी नै साङ्गठनिक सुशासन कायम गर्न प्रयासरत छ । 

राष्ट्रिय सुरक्षाको सर्वोपरि भूमिकामा सेना 

राष्ट्रिय सुरक्षा मुलुकको संवेदनशील विषय हो । मुलुकको दैनिक शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी गृह प्रशासन र अन्तर्गतका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको भए पनि आन्तरिक र बाह्य सुरक्षाको केन्द्रबिन्दुमा नेपाली सेना रहेको हुन्छ । ती निकायलाई आवश्यकता अनुसारको सहयोग, समन्वय र सहजीकरणमा सेनाको महत्वपूर्ण भूमिका रहेको छ । संविधानमा उल्लिखित राष्ट्रिय सुरक्षा परिषद्मा सैन्य सङ्गठनको भूमिका र प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ । 

यस्तै केन्द्रीय सुरक्षा समितिलगायत प्रदेश र जिल्ला स्तरका सुरक्षा समितिमा सेनाको सहभागिताले सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउन पृष्ठपोषण गरिरहेको छ । राष्ट्रिय सुरक्षा नीति–२०७५, राष्ट्रिय सुरक्षा नीतिको कार्ययोजना–२०७७ र राष्ट्रिय सुरक्षासम्बन्धी मार्गदर्शन–२०७८ ले राष्ट्रिय सुरक्षामा नेपाली सेनाको सर्वोपरि भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरेको छ । राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा नेपाली सेना सधैँ पहरेदारका रूपमा रहन्छ भने सीमा सुरक्षालगायतका अपराध नियन्त्रण गतिविधिमा सम्बन्धित निकायलाई सघाउ पु¥याइरहेको हुन्छ । यसरी आमनागरिकलाई सुरक्षा अनुभूति दिलाउन सफल छ नेपाली सेना । 

विपत् व्यवस्थापनमा सेना 

प्राकृतिक र मानवीय विपत्तिका घडीमा नेपाली सेनाबाट भएको उद्धार र पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरूले निकै प्रशंसा बटुलेको छ । विगत वर्षहरूमा भोग्नु परेका महाभूकम्प, बाढी, हवाई दुर्घटनाका कहालीलाग्दा घटनामा सेनाको तत्काल भएको उद्धार कार्यबाट हजारौँ घाइतेको उपचार भयो, ज्यान बच्न सक्यो । भूकम्पपीडित वा बारा–पर्साका हुण्डरीपीडित होऊन्, निर्दिष्ट समयमा सेनाबाट हजारौँ घर निर्माण गरिए । यसै वर्षको जाजरकोट, रुकुम र सल्यानमा आएको भूकम्पमा पनि पीडितको उद्धारमा नेपाली सेना नै अग्रपङ्क्तिमा रह्यो । 

कोभिड–२०१९ को महामारीमा पीडितको उपचारका साथै शव व्यवस्थापन जस्तो जटिल जिम्मेवारी पूरा गरेर सेनाले मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । हिमाल आरोहीको उद्धारमा पनि प्रथमतः नेपाली सेना नै पुगेको हुन्छ । यसरी विपत्तिका क्षणहरूमा तात्कालिक उद्धारका लागि सधैँ तयार रहने नेपाली सेनाप्रति जनताको ठूलो भरोसा र विश्वास रहेको छ । 

विकासनिर्माणमा सक्रिय 

“नेपाल सरकारले नेपाली सेनालाई सङ्घीय कानुनबमोजिम विकासनिर्माण र विपत् व्यवस्थापनलगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्ने छ ।” नेपालको संविधानको धारा २६७ (२) मा उल्लेख भएअनुरूप नेपाली सेना विकासनिर्माण कार्यमा सक्रिय रहेर सरकारबाट सुम्पिएका धेरै गुरुत्तर जिम्मेवारी पूरा गर्न सफल भएको छ । सेनाको सक्रियतामा चट्टानै चट्टानका पहाड छिचोलेर धेरै सडक बनाइएका छन् । दुर्गम ठाउँ पनि आज सुगम बनेर स्थानीय जनजीवनमा धेरै सहजता र राहत पुगेको छ । त्रिशूली–मानचेत सडक, सुर्खेत–जुम्ला सडक, कालीगण्डकी कोरिडोरलगायतका विभिन्न सडक गरी झन्डै एक हजार २०० किलोमिटर सडक निर्माण गरी, मुलुकको सडक सञ्जाल विस्तारमा अतुलनीय योगदान पु¥याएको छ । उच्चतम प्रविधि उपयोग गरी कैयौँ ठुलो उचाइका पुल र सुरुङ निर्माण गर्नुपर्ने काठमाडौँ–निजगढ द्रुत मार्गको कार्यमा विविध कारणले आशातीत प्रगति हासिल गर्न नसके पनि निर्दिष्ट समयमा सडक निर्माण सम्पन्न गर्न नेपाली सेना अहोरात्र खटिरहेको छ । 

विधिसम्मत रूपमा सेनालाई दिइएका विकासनिर्माणको जिम्मेवारी पूरा गर्न मुलुकको भौगोलिक विकटता र विद्यमान खरिद सम्बन्धित ऐन कानुन बाधक बनेको परिस्थितिमा पनि सेनाको व्यावसायिक निष्ठामा यदाकदा प्रश्न उठाउनु विडम्बनाको विषय हो । यस सन्दर्भमा फास्टट्र्याक जस्तो कठिन कामको जटिलतालाई नबुझी काममा प्रोत्साहन दिनुको सट्टा प्रगति भएन भनेर बारम्बार संसदीय समितिमा सेनालाई बयान दिन लगाएर निरुत्साहित पार्ने जस्ता अशोभनीय र असंसदीय अभ्यास सुरु भएको पाइन्छ । 

ऐतिहासिक सम्पदा संरक्षणमा सेना 

नेपाल ऐतिहासिक र पुरातात्त्विक  सम्पदाले भरिपूर्ण राष्ट्रका रूपमा विश्वमा नै परिचित छ । दुर्लभ, मठ, मन्दिर, पाटी, धारा, पोखरीलगायत विशिष्ट प्रकृतिका ऐतिहासिक दर्जनौँ गढी, किल्ला यहाँ रहेका छन् । देशको वीरताको इतिहासलाई जीवन्त राख्न नेपाल अङ्ग्रेज युद्धका दस्ताबेजहरूको अभिलेखीकरण, तत्कालीन युद्ध सामग्री सङ्कलित सङ्ग्रहालयको निर्माणका साथै सिन्धुलीगढी, मकवानपुरगढी, जितगढी, अमरगढीसमेतका ऐतिहासिक महत्वका सबै गढी, किल्ला पुनर्निर्माणका साथै आवश्यक संरक्षण गरेर नेपाली सेनाले भाबी पुस्तालाई हाम्रा सम्पदाको चिनारी गराएको छ । 

विश्व शान्ति र सैन्य कूटनीतिमा सफल 

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा सेना खटाउने मुलुकहरूमा सङ्ख्याको हिसाबले अहिले नेपाल पहिलो बनेको छ । शान्ति मिसनमा तैनाथ हुने नेपाली सेनाले युद्धग्रस्त क्षेत्रमा शान्ति कायम गर्न निर्वाह गरेको निष्पक्षता, तटस्थता र कर्तव्यपराणयताको अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वत्र प्रशंसा भएको छ । 

केही वर्षअघि नेपाल भ्रमणमा रहनुभएका म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकीले पनि नेपाली सेनाको कुशलता र व्यावसायिक क्षमताको आफू प्रशंसक रहेको बताउनुभएको थियो । ती शान्ति मिसनमा नेपाली सेनाबाट फोर्स कमान्डरको जिम्मेवारी पाउनु, महिला सैनिकको उल्लेख्य सभागिता रहनु र मिसनमा खटिने सैनिकबाट युद्धपीडित स्थानीय जनतालाई स्वास्थ्य सेवालगायतका विभिन्न किसिमका सेवा पु¥याएर राष्ट्रकै प्रतिष्ठा बढाउन सेना सफल भएको छ । बेलाबखतमा छिमेकी तथा अन्य राष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्धमा असमझदारी र गतिरोध उत्पन्न हुँदा सैन्य कूटनीतिको माध्यमबाट आपसी सम्बन्धमा सुधार आएका उदाहरणहरूबाट पनि नेपाली सेनाले अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पु¥याएको स्पष्ट हुन्छ । 

पर्यावरणीय जैविक विविधता संरक्षणमा सेना 

प्रकृति र पर्यावरणीय संरक्षणमा मूलतः राष्ट्रिय निकुञ्जहरूको संरक्षण तथा हिमाल सफाइ अभियान जस्ता कार्यक्रममा खटिएर नेपाली सेनाले ठुलो स्याबासी पाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को प्रावधान अनुरूप नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जलगायतका १२ वटा राष्ट्रिय निकुञ्ज र विभिन्न सिमसार क्षेत्र, वन्यजन्तु आरक्षण र सिकार आरक्षण तथा संरक्षण क्षेत्रको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको पाइन्छ । फलस्वरूप त्यहाँका दुर्लभ वन्यजन्तु र जैविक विविधताको संरक्षण भई हजारौँ पर्यटकको आगमनमा वृद्धि भएको छ । 

परोपकारी कार्यमा सेना 

सैनिक कल्याणकारी कोषबाट सेनाले बहालवाला र भूतपूर्व सैनिक तथा तिनका परिवारलाई शिक्षा, स्वास्थ्यलगायतका विभिन्न परोपकारी कार्यक्रम सञ्चालन गरी हिताधिकारीलाई प्रत्यक्ष सेवा पु¥याएको छ । यस अतिरिक्त नेपाली सेनाले आमनागरिकलाई सेवा र सुविधा पु¥याउन मुलुकका विभिन्न ठाउँमा मेडिकल क्याम्प राखी बिरामीलाई उपचारका साथै औषधी वितरण गर्ने, सैन्य क्षेत्रका आसपासका गाउँमा विद्यालय भवन, खानेपानीका धारा, कुवा र चौतारी, पाटीपौवा निर्माण गरी नागरिक–सेना सम्बन्धलाई सुदृढ तुल्याएको छ । प्राकृतिक प्रकोप तथा महामारीबाट पीडित जनतालाई आवश्यक राहत वितरण गरेर सेनाले ठुलो गुण लगाएको छ । साथै दुर्घटनामा परेका घाइते तथा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टरबाट उद्धार गरी मानवीय सेवाको अनुपम उदाहरण प्रस्तुत गरेको छ । यसरी नेपाली सेना जनताका माझमा दिनानुदिन लोकप्रिय हुँदै गएको छ ।

Author

आत्माराम पाण्डे