उन्नाइसौँ शताब्दीमा न्याय र समानताका लागि संसारभरका महिलाले गरेका सङ्घर्षका गौरवगाथा बोकेका र अधिकारको सङ्कल्प गरेका उत्सवका रूपमा स्मरण गर्न गरिएको ८ मार्च आजका सन्दर्भमा उत्तिक स्मरणयोग्य र सान्दर्भिक छ । उन्नाइसौँ शताब्दी र एक्काइसौँ शताब्दीका तुलना गर्दा ८ मार्चका औचित्य पूरा हुन सकिरहेको छ कि छैन ? संसारभरका महिलाले यसलाई कसरी बुझेका छन् र ग्रहण गरेका छन् त ? ८ मार्चका ऐतिहासिक मूल्यमान्यता र उद्देश्यप्रति कस्ता मूल्याङ्कन गरेका छन् ? आजका विश्वमा यसका आवश्यकता र महìव कति छ ? अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई हेर्ने र बुझ्ने विचारधारात्मक दृष्टिकोणमा के कति भिन्नता रहेको छ ? यी र यस्ता ज्वलन्त प्रश्न यथार्थ धरातलमा उभिएका छन् । यही सेरोफेरोमा उभिएर ८ मार्चका पृष्ठभूमि, नेपालका सन्दर्भमा केन्द्रित रहेर निष्कर्षमा पुग्नु सान्दर्भिक हुने छ ।
पृष्ठभूमि
सामन्ती समाजले महिलालाई घरभित्रका दासी र अर्धदासीका रूपमा हेर्ने मात्र होइन, व्यवहार पनि त्यस्तै गरिरहेको छ । जब पुँजीवादको उदय भयो, उद्योग, कलकारखाना खुले, त्यसपछि महिला घरका चौघेराबाट बाहिर निस्किएर उद्योग, कलकारखानामा ज्याला मजदुरीका काम गर्न सुरु गरे । पुँजीवाद पनि सामन्दवादको गर्भबाट जन्मिएकाले महिलालाई हेर्ने दृष्टिकोण पितृसत्तात्मक सोच, चिन्तन र परम्परामा भने तात्त्विक भिन्नता थिएन । ज्यालामा असमानता, १६ घण्टा काम गर्नुपर्ने, मातृशिशुका असुरक्षा ट्रेड युनियनमा महिलालाई सहभागी नगराउने जस्ता विभेद थिए । पुँजीवादले स्वतन्त्रता र अधिकारका रूपमा घरबाहिर त निकाल्यो, श्रमबाट उत्पादन पनि बढायो तर घरभित्र र बाहिरको दोहोरो काम र शोषणका जन्जिरले बाँधिदियो । पुँजीवादका चरम शोषणका कारण पुँजीवादले उठाएका अधिकार र स्वतन्त्रताका नाराभित्र महिलामा नयाँ जागरण पैदा भयो । अधिकारका लागि ससाना क्लबदेखि ठुला ठुला उद्योगमा सङ्गठित र आन्दोलित हुँदै गए ।
सन् १९६७ मार्च ८ का दिन अमेरिकाका न्युयोर्क सहरका कपडा मिलका मजदुर महिलाले आठ घण्टा काम, समान कामका समान ज्याला, महिला मजदुरलाई ट्रेड युनियनका अधिकार, मातृशिशुका सुरक्षा, मताधिकारलगायतका माग राखी ¥याली, सभा र पछि आमहड्ताल सुरु गरेका थिए । महिलाका इतिहासमा यो पहिलो र सङ्गठित विद्रोह थियो । यो विद्रोह दबाउन पुँजीवादी शासकले ठुलो कसरत गरे तर महिला डगमगाएनन्, सङ्घर्ष निरन्तर अगाडि बढाइरहे । माग भने पूरा हुन सकिरहेको थिएन । यो आन्दोलनलाई समाजवादी आन्दोलनसँग गाँसेर मात्र परिणाम हासिल गर्न सम्भव छ भन्दै समाजवादी नेता क्लारा जेट्किनले महिला आन्दोलनलाई समाजवादी आन्दोलनमा रूपान्तरण गरिदिइन् । सन् १९०८ मार्च ८ मा अन्तर्राष्ट्रिय समाजवादी महिलाको पहिलो सम्मेलन जर्मनीको स्टुगार्डमा क्लारा जेट्किनको नेतृत्वमा सम्पन्न भयो; जहाँ १५ देशका ४६ जना प्रतिनिधिले भाग लिएका थिए । उक्त सम्मेलनले कुनै पनि प्रकारका लैङ्गिक विभेद नगरी सबै ठाउँमा महिलालाई समान अधिकारको प्रस्ताव पारित गरेको थियो ।
अमेरिकाको न्युयोर्क सहरमा पनि महिला मजदुरको आन्दोलन उठिसकेको थियो । सम्मेलनको प्रस्तावले त्यस आन्दोलनलाई सशक्त बनायो । १९०८ देखि १९०९ सम्म आन्दोलन सशक्त बनाइयो । सन् १९०९ मार्च ८ का दिन आन्दोलन उत्कर्षमा पुग्यो र आठ घण्टा काम, समान कामको समान ज्याला, उद्योगभित्र शिशु स्याहारको व्यवस्था, ट्रेड युनियनमा समावेश जस्ता अधिकार प्राप्त भयो । सङ्घर्ष र अधिकार प्राप्तिका ऐतिहासिकता बोकेको ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउन सन् १९१० मा डेनमार्कको राजधानी कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले निर्णय ग¥यो । सन् १९११ देखि ८ मार्चलाई संसारभरका महिलाले सङ्घर्ष र अधिकार प्राप्तिको ऐतिहासिक उत्सवका रूपमा स्मरण गर्दै आइरहेका छन् ।
नेपालको सन्दर्भमा ८ मार्च
नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को लामो र सङ्घर्षमय इतिहास जोडिएको छ । बोल्न पाउने स्वतन्त्रताको हकसमेत प्रतिबन्ध गरेको पञ्चायती व्यवस्थाको विरुद्धमा र उत्पीडनमा रहेका महिलालाई आफ्नो हकबारे सुसूचित गर्न ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ लाई नारी दिवसका रूपमा मनाउन थालिएको हो । यही क्रममा पञ्चायती शासकले अनेकौँ दमन र धरपकड गर्दा पनि महिलाले जेलनेल झेल्दै सङ्घर्ष अघि बढाइरहे । विसं २०१७ देखि नेपालमा पनि सरकारले सार्वजनिक बिदा गरेर सरकारी तवरबाट नै ‘नारी दिवस’ का रूपमा मनाउन सुरु ग¥यो । बहुदल स्थापनापछि महिला आन्दोलनबाट आएका र नारीवादी सोच, चिन्तन बोकेका महिलाको आवाजलाई एकीकृत गर्ने प्रयास भएका थिए तर पनि नारीवादीलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन यसको ऐतिहासिक मर्मलाई ग्रहण गराउन सकिएन ।
सरकार, निरपेक्ष नारीवादीले ‘नारी दिवस’ का रूपमा मनाउने गरेका छन् भने वामपन्थी पृष्ठभूमि भएका समाजवादको लक्ष्य बोक्नेहरूले भने अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने गरेका छन् । खास गरी लैङ्गिक शोषण र असमानताविरुद्धको सङ्घर्ष र मुक्तिको कोसेढुङ्गाका रूपमा स्थापित ८ मार्च नेपालको सन्दर्भमा परिणाम हासिल गर्ने सङ्घर्षको उठानभन्दा परम्परा धान्न मनाउने प्रचलन हावी हुँदै आयो । आज पनि त्यो मानसिकता हट्न सकेको छैन । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभर मनाइरहँदा अन्तर्राष्ट्रिय नारा ‘लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि’ छ भने राष्ट्रिय नारा ‘लैङ्गिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने रहेको छ । यी दुवै नाराले आमनेपाली महिलाले प्राप्त गरेको अधिकार र भोगिरहेको जीवनको नेतृत्व गर्न सकेको छ या छैन ? गर्न सक्छ या सक्दैन ? जस्ता ज्वलन्त प्रश्न छन् । कतिपय विकसित मुलुकमा आजको नारा सान्दर्भिक छ भने हाम्रो र हामी जस्ता अल्पविकसित मुलुकमा अझै पनि अधिकार र सुरक्षासँगै विकास र समृद्धिका लागि प्रविधिमा जोड गर्न आवश्यक हुन्छ ।
‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ ले विश्वका महिलालाई जागरण, सशक्तीकरण, अधिकार, न्याय र परिवर्तनका लागि पहलकदमी गर्ने दायित्वको स्मरण गराउँछ । यसै सन्दर्भमा २०१७ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तन, लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्व महत्वपूर्ण राजनीतिक उपलब्धि हुन् । विभिन्न समयमा चलेका आन्दोलन र दसवर्षे ‘जनयुद्ध’ ले स्थापित गरेका यी उपलब्धिमा नेपाली श्रमिक महिला आन्दोलनको ठुलो योगदान रहेको छ । यही योगदानको उपज नेपाली महिला अधिकारको क्षेत्रमा केही महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल भएको यथार्थ सबैले स्वीकार गर्नै पर्छ । प्राप्त उपलब्धिलाई अबमूल्यन गरियो भने विगतमा महिलाले गरेको त्याग, समर्पण र बलिदानको उचित मूल्याङ्कन हुन सक्दैन । महिलाले गरेको सङ्घर्षकै कारण नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । राज्यका सबै तहमा ३३ प्रतिशत महिला हक संवैधानिक रूपमा नै सुनिश्चित गरेको छ । सङ्घमा ३३ प्रतिशत, प्रदेशमा ३६ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व रहेको छ ।
निजामती सेवामा समावेशिता लागु भएको छ । त्यस्तै सेना र प्रहरीमा समेत महिला सहभागिता उल्लेख्य र उत्साहजनक छ । महिलामैत्री कानुन निर्माणको थालनी भएको छ । श्रम ऐन, २०७४ मा रोजगारदाताले कुनै पनि श्रमिकलाई लिङ्ग, जातिका आधारमा भेदभाव गर्न नपाइने, लिङ्गका आधारमा पारिश्रमिक असमान गर्न नपाइने, श्रमिक महिलालाई प्रसूति हुनुअघि र पछि बिदा दिने, राति काममा लगाउँदा यातायातलगायतका सुरक्षाको व्यवस्था, कार्यस्थलमा हुने यौन दुरुत्साहनलाई नियन्त्रण, केन्द्रीय श्रम सल्लाहकार परिषद्मा प्रतिनिधित्व लगायतका व्यवस्था गरिएको छ ।
सरकारले लैङ्गिक समावेशी बजेटको तर्जुमा गरी बजेट तथा कार्यक्रमलाई लैङ्गिक न्याय स्थापित गर्ने प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर पनि भएका छन् । यी उपलब्धि सङ्घर्षबाट नै स्थापित भएका हुन् । उपलब्धि सँगसँगै अझै बाँकी रहेका विभेद र उत्पीडनका रूपको अन्त्यका लागि सङ्घर्षलाई सङ्गठित गर्नुपर्ने आवश्यकता बढेर गएको छ । नानीहरू बलात्कृत हुँदै जीवन अस्ताएका घटना अत्यधिक बढिरहेका छन् । आधुनिक विश्वमा शोषणका रूप बदलिएका छन् । कलकारखाना, उद्योगधन्दा, घरायसी कामका लागि विभिन्न मुलुकमा गर्ने आवतजावत, हत्या, बलात्कार, श्रम शोषण, घृणा, तिरस्कार चरम रूपमा बढेको छ । घरेलु श्रमको मूल्याङ्कन छैन । समानता र सहअस्तितवको स्वीकार गरी नीति निर्माण तहमा अर्थपूर्ण प्रतिनिधित्व उल्लेख्य हुन सकिरहेको छैन ।
यी सबै अवस्था हेर्दा अझै पनि ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा तय भएको नारा नेपाली महिलाको जीवन व्यवहारमा लागु गर्न ठुलै सङ्घर्षको आवश्यकता देखिन्छ । सबै प्रकारका उत्पीडनबाट मुक्त गर्नका लागि उत्पीडनका रूपहरूलाई सही तरिकाले बुझ्न, निरुत्साहित र अन्त्य गर्न सही नीति, योजना र नेतृत्वको आवश्यकता पर्छ । विशुद्ध नारीवादी दृष्टिकोणबाट मात्र समस्याको उठान गर्ने, समस्याको समाधानमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पहलकदमीसहित सबै खाले महिला हिंसा अन्त्यका लागि एकताबद्ध भएर साझा धारणा बनाउन नसक्ने परिपाटीका कारण महिलाका मुद्दा सशक्त बन्न सकिरहेका छैनन् ।
निष्कर्ष
महिलामाथि हुने सबै प्रकारका शोषण, दमन, अन्याय, अत्याचार र विभेदविरुद्धको महान् सङ्घर्ष र आन्दोलनबाट विकसित भएको ऐतिहासिक उपलब्धिको गाथा कोरेको दिन हो– ८ मार्च । नेपाली महिलाले सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिको उचित कार्यान्वयन गर्दै उत्पीडित, उपेक्षितको न्याय, समानता र स्वतन्त्रताका लागि सुशासन, सदाचार, पारदर्शितासहित समावेशी, समानुपातिक र सामाजिक न्यायसहितको समाजवाद निर्माण हुँदा मात्र समग्र समाजको अग्रगामी विकास र समृद्धि सम्भव हुन्छ । युगीन आवश्यकताको जगमा इमानदारपूर्वक राजनीतिक दलका नेतालाई उभ्याउन खबरदारी गर्दै महिलाले भोग्दै आएका श्रम शोषण लैङ्गिक विभेद, विभिन्न रूपमा भोग्नु परेका हिंसा र असमानताका विम्बलाई निरुत्साहित, तिरस्कृत, बहिष्कृत र अन्त्य गर्ने जागरण र सोचको विकास गराउन आवश्यक छ । सबै प्रकारका उत्पीडन, भेदभाव र असमानताको अन्त्य गर्दै संविधानले प्रत्याभूत गरेका महिला अधिकारको उचित कार्यान्वयन गर्दै समाजको अग्रगामी विकास र समृद्धिको अभियानमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जस्ता विश्वव्यापी अभियानले ठुलो मद्दत गर्दछ ।
त्यसैले ८ मार्चको ऐतिहासिक मूल्य, मान्यता, उद्देश्यलाई ग्रहण गर्दै संविधान कार्यान्वयनसँगै राज्यको हरेक तह र संरचनामा महिलाको अर्थपूर्ण नेतृत्व र घरेलु श्रमलाई राज्यको कुल गार्हस्थ उत्पादनमा जोडेर मात्र ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा तय भएको अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराले सार्थकता पाउन सक्छ । तसर्थ यस दिनलाई निरन्तरताको उत्सवका रूपमा होइन, वीरता दिवसका रूपमा स्मरण गरौँ ।