• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : भवानी ऐर

भवानी ऐर
गोदावरी (कैलाली), फागुन २४ गते ।
 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) ले दिएको समर्थन बिहीबार फिर्ता लिएपछि उहाँ अल्पमतमा पर्नुभएको हो ।

यसअघि बिहानै मुख्यमन्त्री शाहले आफू अल्पमतमा पर्ने गरेर नै सरकारमा सहभागी एकीकृत समाजवादी पार्टीबाटका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीलाई बर्खास्त गर्नुभएको थियो ।

सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) ले बुधबार नै मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ ।

उहाँका अनुसार बिहीबार बिहान बसेको संसदीय दलको बैठकले आफ्नै दलको नेतृत्वमा प्रदेश सरकार गठनको पहल गर्ने निर्णय समेत गरेको छ । केन्द्रीयस्तरमा एक प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएअनुसार सुदूरपश्चिममा त्यो पहल भइरहेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांंग्रेसका एक जनाको मृत्यु भएपछि अहिले १८ जना प्रदेशसभा सदस्यहरू छन् । मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सभा सदस्यहरूको समर्थन बाँकी छ । कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका गरेर २५ जना प्रदेशसभा सदस्यहरूको मात्र मुख्यमन्त्री शाहलाई समर्थन रहेको छ । प्रदेशसभामा बहुमतका लागि २७ जना सदस्यको समर्थन आवश्यक हुन्छ ।

सुदूरपश्चिममा माओवादी केन्द्रका ११, नेकपा (एमाले) का १०, एकीकृत समाजवादीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक प्रदेश सभा सदस्यहरू मुख्यमन्त्रीको विपक्षमा भएका छन् । मुख्यमन्त्री शाहको विपक्षमा २७ प्रदेश सभा सदस्यहरू भएका छन् । केन्द्रीय राजनीतिमा भएको परिवर्तनका कारण सुदूरपश्चिम सरकारसमेत सङ्कटमा परेको हो ।