• २५ पुस २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डद्वारा पञ्चकोट अवलोकन (फोटो फिचर)

blog

प्रधानमन्त्री प्रचण्ड बागलुङको प्रशिद्ध धार्मिकस्थल पञ्चकोटमा । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

बागलुङ, फागुन १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शनिबार बागलुङको प्रशिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन र दर्शन गर्नुभएको छ । 

पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन शनिबार पञ्चकोट आउनुभएका प्रधानमन्त्री प्रचण्डले पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई स्वामी कमलनयनाचार्यले कुटीमा स्वागत गर्नुभयो ।

यहाँ निर्माण भएका गण्डकीमाताको मन्दिर, हनुमानबाटीकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमानको मुर्ति र यज्ञमण्डपको अवलोकनसहित दर्शन गर्नुभयो । अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डले पञ्चकोटमा धार्मिक पूर्वाधार निर्माण गरेर मुलुककै मुख्य धार्मिक पर्यटकीयस्थल बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।  

प्रचण्डले भन्नुभयो, ‘‘महायज्ञमार्फत धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने यहाँहरुको उद्देश्यलाई सरकारको पनि साथ र सहयोग हुनेछ । यहाँ निर्माणधीन भौतिक पूर्वाधारलाई चाँडो निर्माण सम्पन्न गर्न सहयोग हुनेछ ।’’ प्रधानमन्त्री प्रचण्डलाई विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए । 

पञ्चकोटधाम स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञमार्फत जल, जंगल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ । फागुन ९ गते देखि सुरु भएको महायज्ञ २३ गते सम्म सञ्चालन हुनेछ ।