• ७ मंसिर २०८१, शुक्रबार

जैन सत्तामीमांसा र तत्त्व

blog

एउटै पदार्थ (जस्तो माटो) ले अनेक रूप धारण गर्दछ र विभिन्न परिवर्तन हुन्छ (जस्तो– गाग्रो, हाँडी आदि) जस्तो कि छान्दोग्य उपनिषद्मा पाउने गरिन्छ, यस्ता सबै परिवर्तनका माझ माटो स्थायी रहन्छ । त्यही सत्य हो । स्वरूप र स्थितिहरूको परिवर्तन आभास मात्र हो । त्यसको प्रकृति र सत्ताको वर्णन अथवा प्रमाणित गर्न सकिँदैन । अपरिवर्तनीय पदार्थ (जस्तो– माटो) नै सत्य हो, परिवर्तनशील स्थिति मात्र इन्द्रियहरूका भ्रम हुन्, नाम रूप मात्र हो (छान्दोग्योपनिषद् ४–१); जसलाई हामी रूप, इन्द्रियगम्यता आदि भन्दछौँ, त्यसमा कुनै वास्तविक अस्तित्व हुँदैन, ती सबै परिवर्तन भइरहन्छ । मात्र आभास हो; जसका बारेमा कुनै पनि धारणा तर्कको आलोकमा बनाउन सकिँदैन । बौद्धहरूका मतमा परिवर्तनशील गुण या धर्मलाई प्रत्यक्ष मात्र गर्न सकिन्छ, त्यसका पछाडि कुनै अपरिवर्तनशील आधार छैन । जसलाई हामी माटोका रूपमा प्रत्यक्ष पाउँदछौँ, त्यस गुणको अतिरिक्त हामी कुनै गुणहीन पदार्थलाई प्रत्यक्ष गर्दैनौँ; जसलाई उपनिषद्ले स्थायी र अपरिवर्तनशील भनेको छ । 

यसरी स्थायी र अपरिवर्तनीय पदार्थ अज्ञानजन्य कल्पना मात्र हो किनभने संसारमा सम्पूर्ण दृश्य पदार्थ अस्थायी गुणहरूको सस्थिति मात्र हो । धर्मको अर्थ यस्तो हुँदैन कि उसको धर्मका रूपमा कुनै पदार्थ पनि अस्तित्व छैन, यसलाई न त इन्द्रियद्वारा प्रत्यक्ष गर्न सकिन्छ, न त अनुमान नै लगाउन सकिन्छ । प्रत्येक धर्मको परिवर्तनलाई नयाँ सत्ताका रूपमा हेर्ने गर्नु पर्दछ । आद्य जैन बुद्धका समकालीन थिए र सम्भवतः केही उपनिषद्का पनि । यस समस्याको महावीर स्वामीले पनि आफ्नो दृष्टिले उत्तर दिनुभयो । उनको मतमा द्रव्य सत्य हो र गुण मिथ्या । यो पनि सत्य होइन, बुद्धले भनेका छन्, द्रव्य कुनै सत्ता होइन, परिवर्तनशील गुण नै हो । यी दुवै विचार दुई विभिन्न चरम दृष्टिकोण हो र अनुभवविरुद्ध हो । दुवै ध्रुवका माझ सत्य कतै छ, जो अनुभवगम्य हुन्छ, अर्थात् दुवै विचारमा अलिकति सत्यांश छ, पूर्ण सत्य छैन ।

यो सत्य हो– वस्तुहरूका गुण प्रतिक्षण परिवर्तन भइरहन्छ तर सम्पूर्ण गुण परिवर्तन हुँदैन । जब गाग्रो बन्छ, तब यसको अर्थ भयो माटोको डल्लो नष्ट भयो । माटो त त्यही रह्यो, स्थायी रह्यो अर्थात् सम्पूर्ण उत्पत्ति यसै गरी हुन्छ– केही पुरानो गुण नष्ट हुन्छ, नयाँ गुण उत्पन्न हुन्छ र केही यस्ता तत्व पनि हुन्छ; जो स्थायी रहन्छ । माटो आफ्नो एक रूपमा नष्ट भयो र एउटा अर्को रूपमा स्थायी रह्यो । जब स्वर्ण दण्डका रूपमा या गहनाका रूपमा परिवर्तन हुन्छ, तब स्वर्णको जति पनि गुण छन्, ती सबै स्थायी रहन्छन् र उसको रूप मात्र परिवर्तन भइरहन्छ । यस किसिमका प्रत्येक परिवर्तनको साथमा केही गुण नष्ट हुने गर्छ र केही नयाँ गुण उत्पन्न हुने गर्छ । यस किसिमले यो सत्य सिद्ध हुन्छ कि पदार्थमा कुनै यस्तो स्थायी तत्व पनि रहन्छ; जो सत्य सिद्ध हुन्छ कि पदार्थमा कुनै यस्तो स्थायी तìव पनि रहन्छ जो उसको गुणको स्थायित्वमा निहित छ र जसको कारण परिवर्तन हुँदाहुँदै पनि हामी त्यस पदार्थ या द्रव्यलाई उसको आफ्नो नाम दिन्छौँ । अनुभव सिद्ध छ, सत् त्यही हो; जसमा कुनै ध्रुव तत्व हुन्छ, त्यो निरन्तर केही गुणलाई प्रत्येक क्षण गुमाई रहन्छ र केही नयाँ गुण उत्पन्न गर्दै रहन्छ । सत्लाई जैन सिद्धान्तमा केही नयाँ गुणहरूलाई ध्रुव उत्पाद र पुरानो गुणलाई व्यव (षडदर्शनसमुच्चयमा गुणरत्नद्वारा जैनदर्शनको प्रतिपादन) भनिएको छ । यस दृष्टिले जैनको दृष्टिकोण वेदान्ति र बौद्धको दृष्टिकोणबिच सामान्य अनुभवको आधारमा गरिएको सम्झौतामा आधारित छ । मनुष्यको जीवनमा जसरी चेतना विकसित हुँदै जान्छ, ऊ जगत् र जीवनप्रति चिन्तनशील बन्दै जान्छ । उसको मनमा तत्वसम्बन्धी अनेकौँ जिज्ञासा उठ्न थाल्दछ । जस्तै– १. यो जुन दृश्य जगत् छ, यथार्थमा यो के हो ?, २. जीवनमा प्रतिक्षण अनुभूत हुने सुखदुःखादिको कारण के हो ?, ३. के कुनै यस्तो पनि गति या स्थिति छ; जो सम्पूर्ण दुःखबाट परिमुक्त होस् ?, ४. यदि यस्तो स्थिति छ भने त्यसको प्राप्तिको उपाय के हो ? यी केही यस्ता अप्ठ्यारा जिज्ञासाहरू हुन्; जो प्रत्येक तìव जिज्ञासुका मनमा उठने गर्दछ । यसको समाधानका लागि व्यक्ति जति जति तर्कको गहिराइमा प्रवेश गर्दछ, त्यति त्यति ऊ अल्झिँदै जान्छ । ऊ यस्तो कुनै स्थितिसम्म पुग्न सकिँदैन; जहाँ उसले यसको समुचित समाधान पाउन सकोस् । जैन दर्शनमा उक्त जिज्ञासाहरूको समाधानमा ‘यो दृश्य जगत् जड र चेतन पदार्थहरूका संयोगको परिणाम’ भनेर बताइन्छ । जीव आफ्नो शुभाशुभ भावहरूका कारण नै सुखदुःखको अनुभव गर्दछ । आस्रवद्वारा कर्मको आगमन हुने गर्छ र जीवसँग बाँधिएर सुखदुःख उत्पन्न गर्छ । हाम्रो सम्पूर्ण दुःखको कारण कुनै अन्य शक्ति नभएर यो आस्रव र बंध नै हो ।

के कुनै यस्तो गति या स्थिति छ; जो सुखदुःखबाट परिमुक्त छ ? जैन दर्शनमा यसको समाधान स्वीकारोक्तिमा दिँदै भनिएको छ– हो यस्तो स्थिति (गति) पनि छ । जुन व्यक्तिले दुःखको निवृत्ति र सुख प्राप्तिको उद्देश्य राख्दछ, उसले मोक्षलाई नै आफ्नो ध्येय बनाउनु पर्छ । चौथो प्रश्नको समाधान जैन दर्शनमा विस्तारपूर्वक गरिएको छ । यस प्रश्नको समाधान निमित्त जैनाचार्यहरूले भनेका छन्, आस्रव र बंधका कारण सुख–दुःख हुन्छ । संवरद्वारा कर्महरूको आगमन रोकिन्छ तथा निर्जराबाट सञ्चित कर्म विनष्ट हुन्छ । यसरी जैनाचार्यहरूले मनुष्यको मनमा उठने सबै तात्त्विक  जिज्ञासाहरूका समाधान गरेका छन् र यसकारण सत्यान्वेषक मुमुक्षुजनहरूका लागि यसको अध्ययन/अवलोकन आवश्यक हुने गर्छ । मोक्ष मार्गमा रत साधकहरूले यी कुराका ध्यान÷श्रद्धान गर्नु अनिवार्य छ । जसरी रोगबाट मुक्त हुनका लागि रोग र रोगका कारणबारे विचार गर्नु अनिवार्य छ । जैनाचार्यहरूले भनेका छन्– १. दुःख कसले पाइरहेको छ ?, २. दुःख कोबाट पाइरहेको छ ?, ३. दुःखको कारण के हो ?, ४. दुःख कसरी बढ्छ ?, ५. दुःखलाई कसरी रोक्न सकिन्छ ?, ६. दुःख कसरी हटाउन सकिन्छ ?, ७. दुःखबाट मुक्त अवस्था कस्तो हुन्छ ? यसैलाई नै जैन दर्शनमा तत्व भनिएको छ । त्यो हो– जीव, अजीव, आस्रव, बंध, सबर, निर्जरा र मोक्ष । चेतनावान् पदार्थ ‘जीव’ जड पुद्गलहरूका संसर्गले संसारमा दुःखी भइरहे छ ‘अजीव’ । ‘आस्रव’ त्यो ढोका हो; जसमा जड कर्म आत्मामा प्रवेश गर्दछ । जीव र कर्म एक हुनु ‘बंध’ हो । दुःखको मूलकारणमध्येको आस्रवलाई ‘सबर’ ले रोक्दछ । कर्म सकिनुलाई ‘निर्जरा’ भनिन्छ र सम्पूर्ण कर्मको अत्यधिक क्षय ‘मोक्ष’ हो । यो जीवको स्वाभाविक अवस्था हो (सर्वार्थसिद्धि, पृ. ११) । जीव र अजीवको मेल संसार हो भने आस्रव र बंध संसारको कारण हो । मोक्ष संसारातीत अवस्था हो । सबर र निर्जरा यसको साधन हो । यी सात कुराको ज्ञान भएमा मानव कल्याण सम्भव रहेकाले यसलाई तत्व भनिएको छ र यसको श्रद्धानलाई सम्यक दर्शन ।

तत्वको अर्थ हो– सारभूत पदार्थ । यो तत्+त्व यी दुई शब्दको मेलबाट बनेको छ । वस्तुको वस्तुपना नै उसको तत्व हो (“तस्य भावम् तत्वम्” सर्वार्थसिद्धि, पृ. ६) । जस्तो आगोको आगोत्व, स्वर्णको स्वर्णत्व, मानिसको मनुष्यत्व आदि । ‘तत्व’ शब्द धेरै व्यापक छ । जस्तो स्वर्णत्व, सम्पूर्ण सुन जातिमा व्याप्त छ । स्वर्णत्व एउटा हो, भलै सुन अलग अलग होस् । यसै गरी सम्पूर्ण जीवको जीवत्व एउटा हो, भलै जीव अनेकौँ होस् । 

  

Author

शीतल गिरी