• ९ मंसिर २०८१, आइतबार

सडक खाना महोत्सवमा स्थानीयको चाप

blog

बर्दिबासमा आयोजना भएको सडक खाना महोत्सवको झलक । तस्बिर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन ७ गते । बर्दिबासमा सडक खाना महोत्सवको प्रथम संस्करण सुरु भएको छ । महोत्सवमा स्थानीयको चाप बढेको छ । शनिवारदेखि सुरु भएको महोत्सवमा रमाइलो हेर्ने र स्वाद चाख्नेको भीडले सडक स्थलका ५० वटै स्टलमा अत्यधिक भीड रहेको छ । व्यापारीलाई सामग्री बेच्न भ्याइ नभ्याई भएको छ । 

बिपी राजमार्गको प्रवेशविन्दुमा आयोजना गरिएको महोत्सवमा पोखरादेखि हेटौडासम्म र सिन्धुलीदेखि सुनसरीसम्मका आगन्तुक र पारखीले सडकमै बसेर खाना महोत्सवको स्वाद लिनेगरेका छन् । 

महोत्सवमा ५० वटा स्टल रहेका छन् । जहाँ सप्तरीदेखि पर्सा जिल्लासम्मका रैथाने भोजनका स्वाद रहेको स्थानीयको भनाइ छ । कन्ने च्याउ र केराको विविध परिकार पस्कन हेटौडादेखि आएको ज्योति किरण किरुना म.म. सेन्टरलाई पनि भ्याइ नभ्याई छ । 

बर्दिबासको केत्ली चिया पसलको स्टलमा पनि १६ प्रकारका चियाका परिकार चाख्न पारखीहरू खचाखच हुनेगरेका छन् । रौतहटको कटिया (माटोका भाँडामा पकाएको) मासुको स्वादले पनि बजार लिएको छ ।  


विद्यार्थीले पनि पहिलो पटक सिकेका सीप र परिकारलाई महोत्सवमा पस्कने अवसर पाएका छन् । मधेश प्रदेशकै लागि पहिलो र बर्दिबासका लागि अहिलेसम्मकै नौलो मानिएको सडक खाना महोत्सव प्राविधिक शिक्षालयका विद्यार्थीका लागि आफना उत्पादनलाई बजारीकरण गर्ने र सिकेका सीप परीक्षण गर्ने प्रयोगशाला बनेको छ । 

बर्दिबास यस भेगकै शैक्षिक हब पनि हो । यस क्षेत्रमा थुप्रै प्राविधिक विद्यालय सञ्चालनमा छन् । त्यसमध्ये खयरमारास्थित निर्मला लामा वहुप्राविधिक शिक्षालय, बर्दिबासस्थित पर्यटन तथा होटल व्यवस्थापन तथा अध्ययन प्रतिष्ठान (नाथम) कलेज र बर्दिबास ८ स्थित हात्तीलेट माध्यमिक विद्यालयका ‘कमाउँदै पढदै’ कार्यक्रमका विद्यार्थीले पहिलो पटक सिकेका सीप र परिकारलाई महोत्सवमा पस्केको बताएका छन् । 

यसअघि मेला र उत्सवमा रमाइलो र ख्यालठट्टा गर्ने विद्यार्थीले पहिलो पटक सीप र जाँगर चलाएका स्टलमा स्वाद चाख्न आउनेहरूको भनाइ छ । आफना प्रशिक्षार्थीले तयार पारेका परिकारलाई ग्राहकले मन पराइदिएकोमा खयरमारास्थित निर्मला लामा वहुप्राविधिक शिक्षालयका प्रमुख रमण मेहेताले खुसी प्रकट गर्नुभयो । 

आयोजक होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले महोत्सवका हरेक गतिविधिलाई नजिकबाट नियाली रहेको महासचिव नारायण घिमिरेले बताउनुभयो ।  


महोत्सवको बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले शनिवार अपरान्ह ब्यानर पढेर उद्घाटन गर्नु भएपछि महोत्सवको विधिवत् सुरुवात भएको थियो । खाना महोत्सवले मधेश प्रदेशको भोजन संस्कृतिको प्रवर्धन र सुस्ताएको अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास नगरप्रमुख क्षेत्रीले विश्वास व्यक्त गर्नुभयो ।  

आयोजक होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुन्ज कार्की (गोपाल) ले महोत्सव मुनाफाका लागिभन्दा पनि बर्दिबासको परिचय, पहिचान र प्रतिष्ठाका लागि आयोजना गरिएको बताउनुभयो ।