विजयकुमार साह
ढल्केबर, माघ २८ गते । धनुषाको उत्तरी क्षेत्रमा पानी स्रोत सुक्न थालेका छन् । सामान्यतया चैत वैशाखमा देखिने यस्तो समस्या यस वर्ष भने माघमै देखिन थालेको छ । जिल्लाको उत्तरी क्षेत्र बटेश्वर, मिथिला, धनुषाधाम र गणेशमान चारनाथ नगरपालिकामा नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकललगायतका पानीका स्रोत सुक्न थालेपछि पानीको सङ्कट बढ्न थालेको स्थानीयवासीको गुनासो छ ।
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोजकुमार महतोले माघमै पानीको स्रोत सुक्नु अनिष्टको सङ्केत भएको बताउनुभयो । उहाँले पनि सिँचाइ गर्न खनेको इनार सुकेपछि यसपालि तरकारी बाली लगाउन नपाइने चिन्तामा पर्नुभएको छ । मौसमी तरकारी तथा अन्न बाली उत्पादन गरेर प्रशस्त आम्दानी लिँदै आएको महतोले सिँचाइ अभावमा खेत बाँझो राख्नुपर्ने अवस्था आएको देखिएको बताउनुभयो ।
आम्दानीको मुख्य स्रोत तरकारी उत्पादन र अन्न बाली नै भएको बताउँदै उहाँले भन्नुभयो, “सिँचाइ गर्ने इनारमा पानी सुक्यो अब कसरी खेती गर्ने ? आकाशे पानीको पनि भर छैन । यस्तै अवस्था रहेमा भोकमरीको सामाना गर्नुपर्ने हुन्छ ।”
बटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतोले बटेश्वरमा रहेको देवकी माध्यमिक विद्यालय हाताभित्र भएको इनार सुकेपछि त्यहाँका विद्यार्थी र शिक्षक घरबाटै खानेपानी बोकेर ल्याउने गरेको बताउनुभयो । माघ पहिलो सातामै इनार सुकेको बताउँदै उहाँले अहिलेसम्म यस क्षेत्रमा ३० प्रतिशत पानीको स्रोत सुकिसकेको र आउँदा फागुन चैतसम्ममा ९० प्रतिशतसम्म सुक्ने जानकारी दिनुभयो । “माघ नबित्दै पानीको यस्तो समस्या छ,” उहाँले भन्नुभयो, “चैत वैशाखमा के होला सम्झेर डर लाग्छ ?,” यस क्षेत्रमा इनार र चापाकालबाट पानी खान सम्भव नभएकाले खानेपानीको दीर्घकालीन उपाय गर्न सङ्घीय सरकारसमक्ष प्रस्ताव लैजाने अध्यक्ष महतोले बताउनुभयो ।
मिथिला नगरपालिका–५, विश्रामपुरका विनोद महतोले पानी नपर्दा हिउँदे बाली पनि सुक्न थालेको गुनासो गर्नुभयो । पछिल्ला केही वर्षयता रातु, बडहरि, औरही, जलाद कमला नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनाश बढेकाले जलाधार क्षेत्र सुक्न थालेको उहाँको बुझाइ छ ।
तराई क्षेत्रमा यस वर्ष हिउँदे वर्षा नभएकाले पानीको स्रोत सुक्न थालेको पर्यावरण संरक्षण अभियन्ता तथा मधेश प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “असोजको पहिलो सातायता पानी परेको छैन । साधारणतया असोजको पहिलो हप्ता मनसुन सकिने र कात्तिक वा मङ्सिरमा एक/दुई पटक पानी पर्ने चव्रm चल्दै आएको थियो तर यस वर्ष त्यो चव्रm दोहोरिएको छैन ।” नदी क्षेत्रमा बालुवा, ढुङ्गा उत्खनन गर्नेहरूले ठुला ठुला गहिरो खाडल बनाएका र चुरे क्षेत्रको जलाधार क्षेत्र मासिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिँदै गएर माघमै पानीको हाहाकार भएको वन अधिकृत शर्माको भनाइ छ ।
चुरेविद् डा. विजयकुमार सिंह दनुवारले जमिनमुनि पानीको सतह तल तल हुँदै गएकाले पानीको यस्तो समस्या देखिएको बताउनुभयो । प्राकृतिक रूपमा चुरे क्षेत्र जल भण्डार भएको बताउँदै उहाँले चुरे भएर बग्ने नदीनालामा तटबन्ध निर्माण गरेर वर्षाको पानी चुरे क्षेत्रमै रोक्न सके भूमिगत जलस्तर बढ्ने जानकारी दिनुभयो ।
अव्यवस्थित सहरीकरण, वन फँडानी, नदीनालाबाट भइरहेको अनियन्त्रित गिट्टी, बालुवाको उत्खननका कारण जमिनले पर्याप्त मात्रामा वर्षाको पानी सोसेर राख्न नसकेकाले भूमिगत पानीको सतह तल हुँदै गएको उहाँको भनाइ छ । चुरेविद् सिंहले भन्नुभयो, “प्राकृतिक सम्पदाको संरक्षण र यसको दीर्घकालीन उपयोग गर्न नसके आठ÷दस वर्षपछि तराईमा पानी चरम अभाव भोग्नुपर्ने हुन्छ ।”