• १ जेठ २०८२, बिहिबार

सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा

blog

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा । फाइल तस्बिर

मनहरी (मकवानपुर), माघ २७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताउनुभएको छ । तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले तामाङ समुदायले मनाउँदै गरेको मौलिक सांस्कृतिक पर्व २८६० औँ डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताउनुभएको छ ।

देश प्रमुख शर्माले यस पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सन्देशमा भन्नुभएको छ, “विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनः एक पटक शुभकामना व्यक्त गर्दछु ।” 

तामाङ समुदायले नयाँ वर्षका रूपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको उल्लेख गर्दै उहाँले हाम्रा सबै मौलिक पर्व राष्ट्रिय चाड भएको बताउनुभएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त समाजमा तामाङ समुदाय पनि एक महत्त्वपूर्ण अङ्ग भएको उहाँले उल्लेख गर्नुभएको छ । “तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको संवर्द्धन एवम् संरक्षण गर्न महत्त्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु”, प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ । रासस