• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम सरकारद्वारा एक वर्षको प्रगति विवरण सार्वजनिक

blog

एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, माघ २७ गते । 
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सरकारको एक वर्षको कार्यकाल सुखद् रूपमा बितेको मुख्यमन्त्री शाहले बताउनुभयो ।

कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशीलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोत साधन लगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रूपमा उत्रिन नसकेको मुख्यमन्त्रीको स्वीकार थियो ।

यद्यपि, प्रदेश सरकार नीतिगत सुधार, बेरुजु घटाउने गरी वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास लगायतको कार्यमा अगाडि बढेको मुख्यमन्त्रीको भनाइ थियो । ऊर्जा क्षेत्रमा प्रदेश सरकारको विशेष प्राथमिकता रहेको उहाँले बताउनुभयो ।

एक वर्षको अवधिमा प्रदेश सभाबाट दुई वटा विधेयक पारित भएका छन् । यसैगरी, तीन वटा विधेयक सभामा पेस भएका छन् भने दुई वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको जनाइएको छ ।

सरकारले यो अवधिमा तीन वटा नियमावली, आठ वटा कार्यविधि र तीन वटा मापदण्ड बनाएको छ । एक वर्षको अवधिमा एक हजार ६०९ हेक्टर क्षेत्रफलमा वर्षैभरी सुविधा हुने गरी सिँचाइ उपलब्ध गराइएको छ । यस्तै, १०८.१९ किलोमिटर कालोपत्रे सडक, १२२.९७ किलोमिटर माटे, १८५.९० किलोमिटर ग्राबेल सडक निर्माण भएको जनाइएको छ । यो अवधिमा सरकारले नौ वटा सडकपुल निर्माण गरेको छ ।

यसैगरी, ५२० वटा इन्टेक, ५६३ पानी पोखरी निर्माण, दुई हजार ५०५ किलोमिटर पाइपलाइन जडान गरेको जनाइएको छ । ८२ हजार ७०२ जनालाई आधारभूत खानेपानी सेवा, १८ हजार ६०० जनालाई मध्यमस्तरको खानेपानी सेवा उपलब्ध गराइएको छ ।

२०७.५६ किलोमिटर नहर, ५२.२१ किलोमिटर तटबन्ध, २  वटा सौर्य ऊर्जा निर्माण र सात हजार ३४५ हेक्टर क्षेत्रमा सिँचाइ मर्मत भएको जनाइएको छ । सहरी विकास तथा भवन निर्माणतर्फ सरकारी सामुदायिक भवन एक वटा, जनता आवास योजना ४४ वटा, एकीकृत नमुना बस्ती चार वटा निर्माण गरिएको छ । एक वर्षको अवधिमा ३२ वटा योजना सम्पन्न भएको प्रदेश सरकारले जनाएको छ ।

चालु आर्थिक वर्षमा बजेट खर्चको प्रगति र राजस्व सङ्कलनको हकमा प्रदेश सरकार ठिक ठाउँमा रहेको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार माघ २६ गतेसम्म चालु खर्च २५.२९ प्रतिशत, पुँजीगत खर्च १४.५६ प्रतिशत गरी कुल खर्च १८.९८ प्रतिशत पुगेको छ । माघ महिनाभित्र बजेट खर्च प्रगति १९ प्रतिशत पुग्न सक्ने मन्त्री शाहीले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले ६४ करोड राजस्व सङ्कलन गरेको छ । गतवर्ष यही अवधिसम्म प्रदेशमा ५१ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो ।