बाबुराम शर्मा
दोलखा, माघ २७ गते । कुनै बेला तत्कालीन राजाको हुकुम प्रमाङ्गीबाट स्थापना भएको दोलखाको बिगु गाउँपालिका–१ स्थित उत्तरी दुर्गम गाउँको लुमनाङ प्राथमिक विद्यालय पूर्ण रूपमा बन्द भएको छ ।
तत्कालीन राजा वीरेन्द्रको हुकुम प्रमाङ्गीबाट २०३१ सालमा स्थापना भएको सो विद्यालय सम्बन्धित निकायको खासै चासो नरहँदा पूर्ण रूपमा बन्द भएको स्थानीय ६६ वर्षीय दावाछिरी शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार तत्कालीन राजा वीरेन्द्र सुन्दर लप्चीमा सिकार गर्न आउनुभएको रहेछ । रमणीय एवं सुन्दर ठाउँ देखेर यहाँ पढ्ने विद्यालय छैन भनेर सोध्नुभएछ । गाउँलेले नभएको जानकारी गराए । केही दिनपछि लुमनाङ प्राविका नामबाट विद्यालय सञ्चालनमा पनि आयो । सञ्चालनमा ल्याउन गरिबलाई हात्ती दिएझै भयो । बन्द हुन पुगेको हो ।
हिउँद छ महिना बस्ने लुमनाङ गाउँमा विद्यालय त स्थापना भयो । वर्षको छ महिना योभन्दा माथिको लप्ची गाउँमा बस्नु पर्दा विद्यालयको खासै अर्थ रहेन । पठनपाठन पनि बन्द हुन्थ्यो । आवतजावतमा भौगोलिक विकटले गर्दा खासै शिक्षक पनि नआउने र विद्यार्थी तथा अभिभावकले पनि चासो नदेखाउँदा नियमित सञ्चालनमा आउन सकेन । जेनतेन २०७२ को भूकम्पअघिसम्म त्यस्तै हालतले चल्यो ।
भूकम्पले त्यो बेला बनेको घर पनि भत्कियो । उहाँले थप्नुभयो, पुनर्निर्माण गर्नुभन्दा काठमाडौँतिर लगेर गाउँलेले बच्चा पढाउन थाले । लामाबगरमा पढ्न जान पनि दुई दिन पैदल हिँडेर जानु पर्छ । सम्भव भएन । अहिले दरबन्दीको शिक्षक कहाँ छ ? भवन नभएपछि विद्यालय कहाँ छ ? अन्योल छ ।
स्थानीय लाक्पागेल्बु शेर्पाले भन्नुभयो, “गाउँमा पठनपाठनको वातावरण नमिलेपछि गाउँलेले बच्चा पठाउन काठमाडौँ ल्याउनुपर्ने बाध्यता बन्यो । अहिले २० जना बालबालिका यहाँ छन् । केही दिन त लप्ची एसोसिएसन नामको संस्थाले पढ्ने, बस्ने खानेको समेत व्यवस्था गरिदियो । कोरोनापछि संस्थाको पनि आम्दानी हुन छाडेपछि बच्चालाई समस्या पर्दै गएको छ । केही लामा गुरुको सहयोगमा अहिले जेनतेन गुजारा चलेको छ,” उहाँले भन्नुभयो, अब अभिभावकले बच्चालाई मासिक ११ हजार रुपियाँ बेहोर्नु पर्ने बेला आउन लागेको छ । अभिभावकको पनि खासै आम्दानी नहुँदा व्ययभार बेहोर्न सक्दैनन् । बच्चाको पढाइ बिग्रेला कि भन्ने चिन्ता बढेको छ ।”
लुमनाङ प्रावि आवतजावतमा समस्या र बच्चा नभएको भन्दै भएको एक दरबन्दी लामाबगरको गौरीशङ्कर प्राविमा मिलान भइसकेको छ । ४८ परिवारका १५० जना बसोबास गर्ने लुमनाङमा पाँच सयभन्दा बढी याक चौँरीलाई दिने पिठो र नुन पनि जोहो गर्न कठिन भएको छ । बिस्तारै बसाइँसराइ गर्ने बढ्न थालेका छन् ।