• १३ असोज २०८१, आइतबार

नियात्रा

त्याङबोचे पुग्दा...

blog

डाँडाका टुप्पामा पहेँलो गजुर ! दिबुचे डुल्दै खोला छेउमा थिएँ म । अलिक अग्लो ढिस्कोमा उभिएर हेर्दा पश्चिमतिर आँखा पुगे थे । अग्लो डाँडालाई घेरेथ्यो हरियालीले । खुम्बिलाका धारिला ढुङ्गेनी सुइरामा अलेली हिउँ थिग्रेका थिए । आँखा तिनै ढुङ्गेनी खोँच र सुइरा हेर्दै खोला तरेर थुम्कामा आइपुगेँ ।

‘त्यो त्याङबोचेको गुम्बा !’ निधार कन्याइरहेका बीरु मगर बोलेका थिए । यही एक शब्दले अथाह भक्तिभाव र अनन्त प्रेम पोखेको थियो । झन्डै २० वर्षदेखि मैले त्याङबोचे सुनेँ, दिबुचे सुनेँ, नाम्चे सुनेँ । त्यत्तिकै सुनेँ काला पत्थरको नाउँ पनि । कसैले चोमोलुङमा भने पनि, कसैले जोमोलुङमा भने पनि नेपालीका ओठले भन्ने गरेको छ– सगरमाथा । त्यसो त अङ्ग्रेजीसँग नसनाता बढ्ता गाँसिँदै गएकाले माउन्ट एभरेस्ट भनेर फुर्तीफार्ती गर्नेको सङ्ख्या पनि कम्ताको कहाँ छ र ! तर मैले त सगरमाथा जत्तिकै सुनेको नाम थियो– त्याङबोचे ।

०००

४ नबज्दै त्याङबोचे जाने टोली बाटो लागिहाल्यो । म त सिरकभित्र गुडुल्किरहे पनि सबै कुराले तम्तयारै थिएँ । अनि लागियो उकालो र तेर्पे । बाटोमा रास रास थिए याक, नाक, जोप्क्योका गोबर । त्यस्तै घोडा, खच्चडका लिदी पनि बाटबाटैमा चुलिएका भेटिन्थे । ती कुन सड्को–कुन सड्को कान, नाक र आँखातिर बेगिएर पस्थे गन्धे कीरा ।

भदौको १६ भनेको बर्खाबर्खै हो नि ! तराईमा हो भने खुबै गर्मी र आरी घोप्टिने झरी दर्किने कालबेला हो । हिमालनजिकै भएकाले उभिँदा दाँत बज्ने जाडो र हिँड्दा पसिनाको मूल फुट्ने गर्मीको हैरानी खेप्दै छु म ।

बाटैभरि पानी कुलकुल बगेका खोल्सा बेस्सरी थिए । चिमालघारी, भोजपत्र, धुपीको घना हरियाली झन् बेपत्तैसँग बाक्लिएको थियो । चौँरी धपाएर आएकी एउटी सानी केटीलाई नुर्बुले भने, “चराउन ल्याएको ? निकुञ्जले समात्ला नि !” उसले चाँडो चाँडो धपाई ।

हामी एकसुरले उकालो लागेर पश्चिम गइरहेका छौँ । भुइँकुइरो तल खोलाबाट माथिसम्म आइरहेको छ । पाङबोचे, खुम्बिला र फोर्चेबाट गएको लमतन्ने बाटो झल्याकझुलुक देखिन्छ । तिनको आदेश, उर्दी र आज्ञा नमानी मैले भएकै छैन । आफूलाई थाहा हुन्न बुढो भएको, कमजोर भएको, शिथिल र उमेर खाएको कुरा । सधैँ एकैनासे ठानिँदो रहेछ आफूलाई तर पढ्न लाग्दा आँखाले नसकेपछि, हिँड्न लाग्दा घुँडाले नसकेपछि बल्ल बुढो भएको ईशारा शरीरले दिन्छ । मलाई पनि अहिले कुनै सङ्केत आएको हो कि छाती चस्किएर ?

जङ्गलको गोरेटो अलिबेर लम्केपछि छ्याङ खुलेको चौरमा हामी पुगेथ्यौँ । चौरभरि १०–१२ घोडा थिए । मसिना बछेडासँगै माउहरू थिए चरिरहेका, बच्चासँगै रमाइरहेका । तीन–चार वटा भोटे कुकुर ती घोडा र बछेडालाई चौकीदारी गरिरहेथे यताउता कुदेर । वनपट्टि पाँच–छ वटा एक तले रमाइला घरको ताँती थियो । दक्षिणपट्टि ठुलो बिहार थियो । पश्चिमपट्टि ठुलो गुम्बाको द्वार थियो । असाध्यै कलात्मक, कालीगढी, रङ्गीचङ्गी र अनेकौँ बुट्टा, चित्र र भाव जोडिएको मूलद्वार थियो ।

“यो खिच्नै पर्छ । कहिलेकाहीँ मनले टिप्न छोडेका कुरा तिनै तस्बिरमा आँखाले गजबको कुरा भेटछन् । मनमा मात्र भर परेर हुन्न, आँखालाई नि मान्नु पर्छ,” तस्बिर खिचिरहँदा गफ्फिन पुगेँ ।

०००

मूल ढोकालाई मैले ढोगेँ अनि वरिपरि सरासर आँखा नचाएँ । मूल गुम्बातिर गइरह्यो सिँढी । गुम्बावरिपरि माने, छोर्तेन र ससाना गुम्बाहरू छँदै थिए । अर्को सानो ढोका भएर हामी त्याङबोचे गुम्बातिर लाग्यौँ । ठुलो चोक थियो गुम्बा अघिल्तिर । चार कुनामा छोर्तेन फिर्फिराइरहेथे । सिँढी नाघेर भित्र पस्यौँ ।

जुत्ता खोलेर अझै अर्को ढोकामा पुग्दा गुम्बाभित्रको विशाल स्वरूपसँग देखादेख भयो । भव्य उज्यालो र चहकिलो संसारमा बुद्धका विशाल प्रतिमाहरू देदीप्यमानसाथ ध्यानमग्न देखिन्थे । त्यो मूर्तिको चारै कुनाभरि १०–१२ जना लामा पढिरहेका र ग्रन्थमा निर्बाध डुबिरहेका देखिन्थे । शिक्षा, उमेर, लगाव र समय खर्चेका आधारमा ती लामाको स्थान निर्धारण भएको लाग्थ्यो । गुम्बाभित्र उत्तर–दक्षिण सामुन्ने मुख गरेर बसेका लामाका बिच बिचमा ठुल्ठुला पुस्तक थिए । त्यस्तै ठाउँठाउँमा बुद्धका अनेक भावभङ्गिमा भएका मूर्तिहरू नि थिए । पश्चिमपट्टि रहेको विशाल मूर्तिले पूर्वतिर मुख फर्काएको थियो ।

घ्यू रङ्गे खादा बुद्धसामु चढाएर मन हलुक्याएँ । देब्रेबाट दाहिनेतिर घुम्दै बाहिर आउँदा झ्यामझ्याम बाजा बज्दै थिए । लामा लामा दर्नाल जस्ता बाजा पनि बज्न थालेका थिए । गुम्बाका चारैतिर, मास्तिर अनेकौँ बुद्ध, त्रिपिटक र बौद्ध सभ्यताका चित्र ज्यादै कलात्मक रूपमा कुँदिएका थिए । बाहिर निस्कँदा बाजाहरू बज्न रोकिएका थिए । मन्त्रले छातीमा पारेको आनन्दमा पाइला सार्दैगर्दा उत्तरपट्टि देखेँ– एउटा खैरो रङको ढुङ्गा । जहाँ तीन वटा पाइलाको छाप देखिन्थ्यो ।

तेन्जिङ नुर्बुले ढुङ्गा देखाएर भने, “लामा साङबा दोर्जेले टेकेका पाइलाहरू हुन् यी । पहिला जङ्गल र ढुङ्गै ढुङ्गाले घेरिएको यो ठाउँमा दोर्जेले तपस्या गरेका रहेछन् । आफ्ना गोडा चिप्लेर उनले तीन ठाउँमा टेक्न पुगेछन् । अहिले यही ठाउँमा गुम्बा बनेको छ ।” यी तीन पाइलालाई भूत, वर्तमान र भविष्यत् कालका रूपमा व्याख्या गर्ने र बुझ्ने पनि गरिएको मैले सुनेँ । बिहान दिबुचेमै एक जना लामा भेटेको थिएँ । उनले त्याङबोचेको अर्थ यसरी लगाएथे, “तीङ बिजे हो यो ठाउँको पुरानो नाम । तीङ बिजे भनेको तीन वटा पाइला । तीङ बिजेबाट मान्छेले बिगारेर त्याङबोचे बनाइसके । समय फेरिए जस्तै मान्छेको बोलीले नाम बदल्दो रै’छ । ठाउँ भने जस्ताको तस्तै ।”

त्याङबोचे विशाल गुम्बा रहेछ ।

बाहिर आएर मैले चारै सुर निहालेँ । तलपट्टि अर्को कलात्मक र भव्य गुम्बा थियो । त्यसभित्रको कलाकारिता झन् अद्भुत थियो । विभिन्न मुद्रा, भाव, नृत्य, शैली र चरित्रका ती चित्रले जीवन, समय, परिवर्तन र कर्तव्यका ठुल्ठुला पाठहरू सिकाउँथे । अत्यन्तै मिहिन, खारिएका हात र ध्यानमग्न कलाकारले यी चित्र, मन्त्र उत्तिकै राम्रा अक्षरले लेखिएथे ।

अगाडिपट्टि दुई सुनौला मूर्ति थिए । बिचमा छ तले अर्को कलात्मक मन्दिरलाई कला, रङ, सिप र समर्पण भावले सिँगारिएको थियो । आकाश छुन लम्किरहेको लाग्ने त्यो मन्दिरवरिपरि अरू मनै सिरिङ्ग पार्ने चित्रहरू भित्ताभरि, छतैभरि, झ्याल र ढोकाभरि कुँदिएका थिए । यी सबै कुराले भव्य थिए– कुनै अभाव, अपुग वा अपूरो थिएन ।

०००

उत्तरपट्टि फन्को मारेर फेरि त्याङबोचे गुम्बाको ठुलो आँगनमा पसेँ । “भाषा बुझ्नु हुन्छ ?” मैले सोधेँ– उनले टाउको हल्लाए । ग्याल्पो शेर्पा रहेछन् तिनी, लामा पढ्न आएका । उनैले मनिरिम्दुप हुने यही आँगन भएको बताए । सन् १९१६ देखि नै शेर्पाहरूको प्रमुख सांस्कृतिक चाडबाड र पर्वहरूको मूल थलो मान्ने गरिन्छ त्याङबोचेलाई । नेपालको अत्यन्तै उचाइमा रहेको यो गुम्बासँग धार्मिक, सांस्कृतिक, ऐतिहासिक र शैक्षिक धेरै तथ्य जोडिएका छन् । त्याङबोचेको मनिरिम्दुपबारे संसारभरिबाट चासो लिइन्छ । मनिरिम्दुप भनिए पनि धेरैले मनिरिम्डु पनि भनिरहेकै हुन्छन् । भगवान्लाई खुसी पार्न नाचगान, पूजाप्रार्थना र आफन्त भेटघाट गरिने मनिरिम्दुप चाड खुम्बु उपत्यकाको मौलिक पहिचान पनि मानिन्छ । मनिरिम्डु नामकरण पनि मनि, रिल र डुप शब्दको सम्मिश्रणबाट बनेको ऐतिहासिक तथ्य भेटिन्छ । मनिको अर्थ सामूहिक प्रार्थना, रिलको अर्थ रातो प्लेट र डुपको अर्थ रिल्वुको आशीर्वाद भन्ने हुन्छ । बौद्ध धर्मका प्रमुख चार सम्प्रदाय मिङ्मापा, गेलुपा, कग्युदपा र शाक्यकै जीवन पद्धत्ति र संस्कारको प्रभाव यी मनिरिम्डु नाचभित्र पनि रहेको छनक मिल्दो रहेछ । नेवार समुदायको करुणामय र तान्त्रिक पद्धतिको प्रभाव पनि मनिरिम्डुकै नाचमा पनि छ भन्नेहरू निकै थिए ।

०००

पश्चिमपट्टि फर्केर हेरेँ– गुम्बाको उज्यालो, आभा र सौन्दर्य झन् अद्भुत भएर मेरा आँखामा सरिरहेको थियो । खुम्जुङबाट पूर्वतिर पर्दो रहेछ– त्याङबोचे । त्याङबोचेबाटै सगरमाथा, आमादब्लम देखिँदो रहेछ । त्याङबोचेबाट थामसेर्कु र खाङटेगा दक्षिणतिर पर्दा रहेछन् । त्याङबोचेको उत्तरतिर थवोचे र पश्चिमतिर कोङदे छ । खुम्बिलाका वरिपरि यी सबै चुचुरा र उपत्यका रहेका छन् । सगरमाथाको विशाल झल्को मैले त्याङबोचेबाटै देखेँ–हातले तानेर च्वाप्प गालामा दलुँ जस्तो । धेरैका लागि सगरमाथा यो पवित्र ठाउँबाट देख्न पाउनु चुली चढ्न सकिने आधार बन्दो रहेछ, आशीर्वाद हुँदो रहेछ । धेरै आरोहीले त्याङबोचेको दर्शन र अवलोकनपछि मात्रै सगरमाथातिर पाइला सारेको मैले सुनेको, पढेको र थाहा पाएको थिएँ । जीवन त यहाँ हृदयमा मात्र सीमित छ र ? अदृश्यमा झन् धेरै संसारको पाटो बसेको छ ।

हामी तल झर्ने मूल बाटोमा आएछौँ । अरूहरू जाडोले चिसिएर अघि अघि लागे । छिटो लजमा पसेर सिरकले छोपिऊँ, आगो तापूँ वा तातोपानी सुक्र्याऊँ भन्ने चालामालामा थिएँ तर म तेन्जिङ नुर्बुका कुराले तानिएको तानिएकै थिएँ ।

“यी यो रुख हेर्नु त,” नुर्बुले पूर्वतिर देखाए । एउटा अग्लो र झ्याम्म परेको धुपीको रुख थियो । “एउटा फोटो खिच्नु त । म यसको कथा सुनाउँछु, उनले भने । मैले सेल्फी नै खिचेँ अनि उनले भने, “यो रुख ५०० वर्ष पुरानो हो । पाँच रुप्पेको नोटमा यसको चित्र छापिएको छ ।”

०००

त्याङबोचे पहिला जङ्गलै जङ्गलले घेरिएको ठाउँ रहेछ । त्यहीँ बसेर लामा साङवा दोर्जे तपस्या, ध्यान गर्दा रहेछन् । लामा साङवा प्रसिद्ध तान्त्रिक थिए । उनको रहस्यमयी गतिविधिबाट खुम्बु परिचितै थियो । तिब्बतमा पनि उनीबारे धेरै नै चर्चा परिचर्चा हुने रहेछ । साङवाले तपस्या गरेको ठाउँमा त्याङबोचे गुम्बा बने छ । “यो गुम्बाको पनि फोटो छापिएको छ– पाँच सयको नोटमा,” नुर्बुले भनेथे । कता–कता गुम्बाको घुर्मैलो चित्र उत्रियो मेरो मनमा । फेरि टक्क अडिएर भने, “यो आगलागीमा प¥यो नि ! सन् १९८९ जनवरी १९ का दिनमा यो गुम्बा ध्वस्त भयो ।” सुरुदेखि अहिलेसम्म तीन पटक पुनर्निर्माण भएको रहेछ यो ऐतिहासिक र पुरातात्त्विक गुम्बा ।

नाम्चेबाट बिजुली ल्याएर यहाँ बालिँदो रहेछ । एक जना भिक्षुले त्यो सबै काम गर्दा रहेछन् । उनको अनुपस्थितिमा अर्को भिक्षुले बिजुलीको चुलो बालेछन् । दुर्भाग्यवश आगलागी भएछ । त्याङबोचे छेउका गाउँहरू पाङबोचे, फोर्चे, खुम्जुङ, खुन्दे र नाम्चेबाट समेत मानिस आएका रहेछन्– आगो निभाउन तर आगो निभाउन हम्मे हम्मे भएछ । त्यहाँ रहेका मूर्ति, ग्रन्थ, थाङ्का र बाजागाजाका सामग्री त्यै बेला निकै ध्वस्त भएको पीडा नुर्बुले सुनाएथे । 

झमक्क साँझमा दिबुचे गाउँ पुगेँ म ।  

Author

युवराज नयाँघरे